Comments Add Comment

अजय सुमार्गीको ३ अर्बको स्रोत अझै खुलेन, रकम फुकाउन हम्मे


१८ साउन, काठमाडौं । धनाढ्य अजेयराज सुमार्गीले नेपाल भित्र्याउन खोजेको तीन अर्ब रुपैयाँ चार वर्षदेखि बैंकमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले त्यसको स्रोतबारे प्रश्न उठाएको र सुमार्गीले खुलाउन नसकेकाले रकम निकाल्न नसकेका हुन् ।

सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम भित्र्याउन खोजेका थिए । दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज ‘ट्याक्स हेभन’का रूपमा परिचित छन् ।

कर छलीमार्फत गैरकानूनी रूपमा आर्जन गरेको रकम उनले भित्र्याउन खोजेको शंका राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार उक्त रकम नेपाल इन्भेस्टमेन्ट बैंकमा डिपोजिट छ । उक्त रकम नेपाल स्याटेलाइट टेलिकम कम्पनी प्रालिको पूँजीगत लाभकर छलीलगायतबाट सुमार्गीले आर्जन गरेको हुन सक्ने आशंका छ । उक्त रकम अनुमति नलिई सिधै नेपालको बैंकमा जम्मा गराएका हुन्, सुमार्गीले । सोही कारण उद्योग विभागले पनि त्यसको स्रोतबारे प्रश्न उठाएको छ ।

‘उक्त रकमको स्रोत नखुलेका कारण फुकुवा गर्न सकिएको छैन,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अनलाइनखबरसँग भने । स्रोत नखुलेकाले शंकास्पद रकम बताउँदै राष्ट्र बैंकले बैंक खाता नै रोक्का गरेको थियो । स्रोत खुल्ने कागजात ल्याउन निर्देशन दिइएको डेपुटी गभर्नर शिवाकोटीले बताए । १० लाखभन्दा माथिको कारोबारका लागि अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने कानूनी व्यवस्था छ ।

तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिनुअघि उक्त रकम फुकुवा गराउने प्रयास गरेका थिए ।

प्रचण्डका विश्वास पात्र मानिन्छन्, सुमार्गी । तर, राष्ट्र बैंकको अडानका कारण दाहाल सफल हुन सकेनन् । उक्त रकम गैरकानूनी रहेको राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले बताएका थिए । खतिवडाकै पालामा स्रोत नखुलेसम्म फुकुवा गर्न नमिल्ने राष्ट्र बैंकले बताएको थियो । त्यतिबेला विभिन्न संसदीय समितिमा भएका छलफलमा पनि सांसदहरूले रकम भित्र्याउन नमिल्ने बताउँदै विरोध जनाएका थिए ।

सुमार्गीले ०७० सालमा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । त्यसमध्ये आठ अर्ब रुपैयाँ बैंकबाट निकालिसकेका छन् । बाँकी तीन अर्ब फुकुवा गराउन उनले माओवादी अध्यक्ष दाहाललगायत नेताहरू मार्फत् प्रयास गरिरहेका छन् । ०७० सालमा साढे २५ अर्ब लगानी ल्याउने घोषणा सुमार्गीले गरेका थिए । त्यसका लागि विभिन्न उद्योग, व्यवशायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन लागेको उनको दाबी रहँदै आएको छ ।

उद्योग विभागको वैदेशिक लगानी शाखाका निर्देशक खगेन्द्रबहादुर बस्नेतका अनुसार सुमार्गीको रकम फुकुवा गर्न प्रक्रिया नै मिलेको छैन ।

वैदेशिक लगानी भित्र्याउन उद्योग विभागको स्वीकृति आवश्यक हुन्छ, त्यसपछि मात्र बैंकमा ल्याउन मिल्छ । ‘तर, उक्त रकम बैंकमा जम्मा भएपछि मात्र स्वीकृतिका लागि विभागमा पेश भयो, सोही कारण स्वीकृति नदिएका हौं,’ बस्नेतले भने, ‘अब त कानूनी वैधता नै सकिएको छ । अब रकम ल्याए नयाँ प्रक्रिया थाल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment