Comments Add Comment

लोडसेडिङ फर्किन्छ कि भन्ने शंका जायजै हो

'काम पनि गर्न नदिने, लोडसेडिङ पनि हुनु नहुने ?'

नेपाली जनतालाई अँध्यारोबाट निकालेको सबैभन्दा ठूलो जस पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि परीक्षामा छन् । आगामी हिँउदमा पनि लोडसेडिङ रोक्ने चुनौती उनका सामु छ ।

यद्यपि, लोडसेडिङ रोक्नलाई घिसिङले अघि सारेका योजनाहरुमा विभिन्न खाले अड्चनहरु पैदा भइरहेका छन् । कुनैमा अदालत, कुनैमा संसदीय समिति त कुनैमा आयोजनाका ठेकेदार बाधक बनेका छन् । यसको पछिल्लो कडीका रुपमा नुवाकोटमा बनाउने भनिएको २५ मेगावाटको सोलार प्लान्ट संसदीय समितिको निर्देशनपछि अलपत्र पर्‍यो । सांसदहरुले यसमा घिसिङलाई समेत विवादमा मुछे । के अब फेरि नेपालीहरु अध्यारोमै बस्नुपर्ने दिन आउने हो त ? घिसिङसँग हामीले सोध्यौं:

हिँउदमा फेरि लोडसेडिङ हुँदैछ भन्ने चर्चा बजारमा ब्याप्त छ । यसलाई रोक्न प्राधिकरणका तयारीहरु के-के छन् ?

यसमा हामी एकदमै गम्भीर छौं । हाम्रो प्रमुख प्राथमिकता भनेको उत्पादन बढाउने नै हो । अहिले विद्युत प्राधिकरणका दुईवटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको अहिले धेरैजसो काम सकिएको छ । यो आगामी हिउँदसम्म सञ्चालनमा आइसक्छ । तर, अर्को निर्माणाधीन अवस्थामा रहेको १४ मेगावाटको कुलेखानी तेस्रो चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीले अनिश्चित बनेको छ । हिउँद अगाडि यो आउन पनि सक्छ र नआउन पनि सक्छ ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजना १ सय मेगावाटसम्म सञ्चालनमा आउने हाम्रो आँकलन थियो । यो सञ्चालनमा आए पनि हिउँदमा ३० मेगावाट मात्रै थपिने हो । तर, यो पनि सम्भावना कमै छ । केबल ६० देखि ७० मेगावाटसम्मका आयोजना मात्रै हिउँदसम्ममा सम्पन्न हुने देखिन्छ ।

त्यसैगरी सप्लाईमा पनि हामीले दुई वर्षदेखि पेन्डिङ रहेको सोलार प्लान्ट अघि बढायौं । तर यसमा पनि अहिले समस्या आएको छ । यसलाई अघि बढाउन सक्ने स्थिति छैन । निजी क्षेत्रबाट लगानी भएको सोलारबाट पनि विद्युत खरिद गर्ने सोच बनाएका थियौं । तर, यसको पनि पीपीए हुन सकेको छैन । लाइसेन्स दिने प्रक्रियामै लामो समय लाग्यो । निजी क्षेत्रबाट ८ रुपैयाँदेखि ९ रुपैयाँ ६० पैसासम्ममा विद्युत खरिद गर्ने गरी अघि बढाएका थियौं । ६१ र २५ मोगावाट गरी ८६ मेगावाटबाट बन्ने निजीको पनि अब यो हिउँदसम्ममा सञ्चालनमा आइसक्ने स्थिति छैन ।

लोडसेडिङ हुन नदिनको लागि अर्को उपाय भनेको मागको व्यवस्थापन (डिमान्ड साइड म्यानेजमेन्ट) हो । यसका लागि हामीले लिड बल्ब ल्याउने भनेर लागेका थियौं । तर, यसमा पनि समस्या देखिएको छ र अघि बढ्न सकेको छैन । लिड ल्याम्पसँगै कम ऊर्जा खपत गर्ने सामानहरुको प्रयोग बढाएर इनर्जी इफिससियन्सी प्रोग्राम लागू गर्न लागेका थियौं । तर त्यो सफल हुन सकेन । डिमान्ड साइडमा अर्को गर्ने भनेको जनचेतना अभिवृद्धि हो । त्यो हामीले अहिले पनि गरिरहेका छौँ, यसलाई अझ ब्यापक बनाएर लान्छौँ ।

यो वर्ष माग बढ्नेछ किनकी जनताले लोडसेडिङ बिर्सिसकेका छन् । उद्योग पनि बढेका छन् । यसरी हामीले बनाएका योजनाहरु सबैमा ब्रेक लागेको छ । योजनाबद्ध रुपमा काम अघि नबढ्दा लोडसेडिङ हुन्छ कि भनेर शंका गरिनु जायजै हो ।

भनेपछि तपाईले हात उठाउनुभएको हो ?

हामीले यो वर्ष लोडसेडिङ न्युनिकरण मात्रै होइन, अन्त्य नै गर्न खोजेका थियौं । जसका लागि नै ‘फ्लेक्जिबल’ हुन खोजेका हौं । तर, अहिले कुनै ठूलो आयोजनामा समस्या आयो भने सहजरुपमा विद्युत उपलब्ध गराउन सकिँदैन । जसले लोडसेडिङ पनि हुन सक्छ । किनकी हामीले अहिले क्राइसिस म्यानेज गरिरहेका हौं ।

आगामी हिउँदमा आयोजनाहरुमा समस्या आउँदा पनि लोडसेडिङ गर्न नपरोस् भनेर हामीले इनर्जी इफिसेन्सी प्रोग्राम लागू गर्ने र सोलारबाट बिद्युत उत्पादन गर्न खोजेका हौं । तर यो भएन, जसले गर्दा नै शंका गर्ने वातावरण भएको हो ।

यद्यपि, यही स्थिति रहे पनि गत वर्षको तुलनामा नराम्रो हुन्छ भन्ने होइन । तर, कुनै पनि काम गर्न नदिने अनि लोडसेडिङ पनि गर्नै नहुने भन्ने चाहीँ कसरी सम्भव हुन्छ ?

खपत घटाउन नसक्ने र उत्पादन पनि ठूलो परिमाणमा बृद्धि गर्न नसक्ने हो भने अब विकल्प भनेको भारतबाट आयात बढाउने मात्रै रह्यो होइन ?

रक्सौल-परवानीपुरको ट्रान्समिसन लाइन निर्माण भइसकेको छ । जुन गतवर्ष प्रयोगमा आएको थिएन । यसबाट ५० मेगावाट विद्युत आयात गर्न सकिन्छ । तर, भारतीय पक्षसँग सम्झौता गर्न बाँकी छ । कुशाहा-कटैयाको लाइन पनि तयारी अवस्थामा छ । यहाँबाट पनि थप विद्युत आयात गर्न सकिने स्थिति छ ।

यसअघि नै निर्माण भएको धनगढी-पाली पनि प्रयोगविहीन छ, जसका कारण विभिन्न ठाउँमा मर्मत गर्नुपर्ने भएको छ । १० मेगावाट विद्युत आयात गर्नसक्ने यो प्रसारणलाइनको अहिले मर्मत प्रक्रिया अघि बढाउन लागिएको छ ।

त्यस्तै टनकपुर-महेन्द्रनगर प्रसारणलाइनबाट पनि थप ४० मेगावाट आयात गर्न मिल्ने बनाउन लागिएको छ । ५० एमबीएको ट्रान्सर्फमर राखेर यसको स्तरोन्नति गर्न लागिएको छ । ढल्केवर सबस्टेशन सम्पन्न भयो भने गत वर्षभन्दा १ सय मेगावाट थप्न मिल्छ । तर, यसमा पनि केही समस्या देखिएको छ । कन्ट्रयाक्टरले काम गर्छु भनेर आएको त छ तर, आवश्यक गतीमा काम हुन सकेको छैन ।

हामी आयात पनि कम गरौं भन्ने सोचमा थियौं । बाहिरबाट आयात गर्ने कुरा सधैँ भरपर्दो नहुन सक्छ । भोल्टेजको समस्याका कारण कहिलेकाहीँ आयात गर्न नमिल्न सक्छ ।

प्राधिकरणले बर्दघाट-भरतपुर प्रसारणलाइनको सम्झौता तोडेकाले चिनियाँ कम्पनीले ढल्केबर प्रशारणलाइनमा काम रोकेको हो ?

७ वर्षदेखि त्यो (बर्दघाट-भरतपुर) प्रसारणलाइनको निर्माण सम्पन्न हुन सकेको छैन । वन क्लियरेन्स दिन हामीलाई केही समय लागेकै हो । तर, डेढ वर्ष अघि नै वन क्लियरेन्स गर्नका लागि अनुमति दिँदा पनि उसले काम अघि बढाएन । चिनियाँ कम्पनीले नै ठेक्का तोड्छौं भन्यो । हामी पनि हुन्छ भनेर ठेक्का तोडेको मात्रै हो । त्यही कम्पनीले ढल्केबर सवस्टेशनमा केही दिन काम गरेन । फेरि काममा फर्किएको त छ तर, काम अहिले पनि सुस्त गतिमा अघि बढाएको छ ।

गत वर्ष मिटर रिडरमाथि अनुसन्धान र कारवाही अघि बढेको थियो । यसपालि खासै त्यस्तो केही सुनिँदैन । अब त्यस्तो बदमासी पूर्ण रुपमा हटेको हो कि आन्तरिक सुधारमा तपाईंको ध्यान नगएको हो ? कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कुरा कहाँ पुग्यो ?

गत असोजदेखि नै आन्तरिक सुधारका काम चलाइरहेका छौं । धेरै समय त आन्तरीक सुधारमै लाग्यौं । फागुनमा ट्रेड युनियनको चुनाव भयो, जसका कारण २६ सय कर्मचारीको सरुवालाई कार्यान्वयन गर्न सकेनौं । युनियनको चुनाव सकिएसँगै दुई चरणमा स्थानीय तहको चुनाव भयो, जसले गर्दा फेरि सरुवा गर्न मिलेन ।

अहिलेसम्म शाखा प्रमुखहरुको सरुवा गर्न सकेका छैनौं । कार्यसम्पादन सम्झौता गर्ने निर्णय बोर्डबाट भइसकेको छ तर, अहिलेसम्म सही मानिस सही ठाउँमा पठाउन सकेका छैनौं । वर्षौंदेखि काम गर्दै आएकाहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कुरा आएन । नयाँसँग गर्न सरुवा नै भएको छैन । त्यसैले हामी रोकिएका छौं ।

गत वर्ष चुहावट नियन्त्रण केही मात्रामा घट्यो । अहिले नवनियुक्त ऊर्जामन्त्रीले त्यसलाई १८ प्रतिशतमा झार्न निर्देशन दिनुभएको छ, के यो सम्भव छ ?

विद्युत प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडाअनुसार यो वर्ष करिब २.५ प्रतिशतले मात्र चुहावट कम भएको छ । गत वर्षसम्म देशमा उपलब्ध विद्युतको करिब २५.७८ प्रतिशत चुहावट हुने गरेको थियो । यस वर्ष यो घटेर २०.२८ प्रतिशतमा रहेको छ ।

हामीले चुहावट नियन्त्रण गर्न प्रयास गर्‍यौं तर, पछिल्लो समय चुनावका कारण त्यसमा तिव्रता दिन सकेका छैनौं । अब पनि चुहावट नियन्त्रण सम्भव छ । मन्त्रीज्यूले भनेजस्तो १८ प्रतिशत चुहावट नियन्त्रण गर्न सम्भव छ । तर, यसको लागि समय लाग्छ ।

राजधानीका केही सडक विस्तार भएका ठाउँमा अझै पनि विद्युतका पोल हटेका छैनन् । अन्तरसरकारी समन्वयमा तपाई चुक्नुभएको त होइन ?

सडकमा पोल देखिन्छन् त्यो म स्वीकार्छु । तर, हाम्रो ढिलाईका कारणले त्यस्ता पोलहरु सडकबाट नसरेका होइनन् । सडक विभागले पोल सार्नलाई आवश्यक ठाउँ दिन सकेको छैन । घरहरु केही काट्नुपर्ने छ, त्यो हुन सकेको छैन । ढलको काम अघि बढेको छैन । यसैले गर्दा रोकिएको हो । तर, हाम्रो कमजोरी छँदैछैन भन्ने पनि होइन । कुनै ठाउँमा हाम्रा कारणले पनि ढिलाई भएको होला । यद्यपि, सबै अन्तरसरकारी निकायबीच समन्वय भएर नै कामहरु अघि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment