Comments Add Comment

एमालेबाट सतर्क हुनुपर्छः प्रधानमन्त्री देउवा

फाइल तस्वीर

१९ साउन, जनकपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेबाट सतर्क हुनुपर्ने बताएका छन् । एमालेले मधेसी र पहाडेलाई फुटाउन खोजेको भन्दै देउवाले सबै सतर्क हुनुपर्ने बताएका हुन् ।

दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘वर्षौंदेखि मिलेर बसेका मधेसी र पहाडेलाई राष्ट्रियताको नाममा एमालेले फुटाउन खोजेको छ । उबाट सतर्क हुनुपर्छ ।’

पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आन्तरिक गडबडीका कारण कांग्रेस हारेको भन्दै देउवाले अब गडबडी सुधारेर पहिलो पार्टी बन्नुपर्ने बताए । उनले आगामी चुनाव कांग्रेसका लागि जीवन मरणको सवाल रहेको बताए ।

मधेस केन्द्रित दलको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधन गर्ने बताए ।

प्रधानमन्त्री देउवाले आसन्न भारत भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणका लागि भारतीय पक्षसँग कुरा गर्ने र कामलाई तिव्रता दिने आश्वासन समेत दिए ।

विवाद मिलाएर चुनाव जित्ने दाबी

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले संविधान संशोधन गर्न चाहे पनि तत्काल दुई तिहाई बहुमत नपुगेकाले समस्या परेको बताए । संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गरियो भने धेरै दलको चरित्र स्पष्ट हुने भन्दै उनले भने, ‘राजपाले पारित नै गर्नुपर्छ भनेको छ । तर त्यो तत्काल सम्भव भएको छैन ।’ उनले राजपासँग सल्लाह गरेर अघि बढ्ने बताए ।

नेता पौडेलले विवादलाई थाति राखेर चुनावमा जाने र कांग्रेसको पक्षमा परिणाम निकाल्नुपर्ने बताए । त्यसका लागि जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने धारणा उनले राखे ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको विवादका कारण विगतको चुनावमा राम्रो परिणाम ल्याउन नसकिएको भन्दै अब विवाद समाधान गरेर चुनावमा होमिने बताए । उनले उम्मेदवार चयन गर्दा जिल्लास्तरबाट टुंगो लगाउन स्थानीय नेताहरुलाई निर्देशन दिए । उनले भने, ‘केन्द्रमा हामीलाई बोझ नदिनुस्, जिल्लास्तरबाटै उम्मेदवार चयन गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment