Comments Add Comment

एमालेबिरुद्ध सम्भावित ‘महागठबन्धन’ स्टन्ट कि आवश्यकता ?

साउन २० गते भरतपुर महानगरपालिका वडा नम्बर १९ मा हुने पुनः मतदानमा यसअघि असन्तुष्टि जनाएर भोट नहाल्ने कांग्रेसजनले पनि अब माओवादी उम्मेदवार रेणु दाहाललाई लाइन लागेर णा कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले गरे । एमालेले जित्यो भने आउँदा चुनावमा कांग्रेसले चितवनमा जित्न नसक्ने भएकाले कसैगरी एमाले हराउनुपर्ने बाध्यता उनले सुनाएका थिए ।

भरतपुरबाट कांग्रेस माओवादीले दिन खोजेको एउटै सन्देश हो–एमालेविरुद्ध अबका सबै चुनावमा गठबन्धन गर्ने । जुन उद्देश्यले मतपत्र च्यातिएको थियो त्यो उद्देश्य बदलिएर अब पुनः मतदानको चरणमा पुग्दा देवी ज्ञवाली हराउने वा रेणु दाहाल जिताउनेमा मात्र यो गठबन्धन सिमित थिएन । सत्ता गठबन्धनले भरतपुरबाट भावी चुनावको सम्भावित तस्वीर देखाउँन खोजेको छ । जसले हारे पनि जिते पनि यो गठबन्धन भरतपुरबाट माथि उठिसकेको छ ।

केही राजनीतिक स्टन्ट र परिदृश्य

पछिल्ला दुई दिनयताका केही राजनीतिक ‘स्टन्ट’हरुले आसन्न २ नम्बर प्रदेशको स्थानीय तह र त्यसपछिका प्रदेश र संघीय संसदको चुनावलाई लिएर प्रमुख दलहरुको छटपटाहट छरपस्ट पारेका छन् । सर्वोच्च अदालतमा स्थानीय तहको संख्या बृद्धि गर्न मिल्ने वा नमिल्ने बारे बहस भइरहँदा २ चरणको चुनाव बहिस्कार गरेको राजपाका शीर्ष नेता भारतीय दूतावासमा सल्लाह गर्न पुग्नुले सम्भावित परिदृश्यहरुको पर्दा हल्लाएको छ ।

परिदृश्य १ः कांग्रेस नेता विमलेन्द्र निधी र माओवादी नेता कृष्णवहादुर महरा नेतृत्वको वार्ता टोलीले जिल्ला समन्वय समिति चुनावमा एमालेबिरुद्ध सबैतिर तालमेल गर्ने निर्णय गर्‍यो । आसन्न सबै चुनावमा पनि सकेसम्म गठबन्धन गरेर ‘एमालेको अतिवाद’ विरुद्ध संयुक्त रुपमा जाने समझदारी सत्तारुढ दलले गरे ।

परिदृश्य २ः केन्द्रीयस्तरबाटै तालमेल गर्ने निर्णय भए लगत्तै जनकपुरबाट माओवादी केन्द्रले निर्णय गर्‍यो–२ नम्बर प्रदेशमा कांग्रेस र मधेसवादी दलसँग तालमेल गरेर चुनाव लड्ने । प्रचण्डले जनकपुरबाटै केपी ओलीलाई हिटलर बन्न खोजेको भन्दै एमालेप्रति तीब्र कटाक्ष गरे ।

परिदृश्य ३ः कांग्रेस र माओवादी दुवैको निशानामा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजधानीबाटै जवाफ दिए–किश्किन्धाका बाँदरको साथ लिएर रावणलाई जितिएला तर, रामलाई जित्न सक्दैनन् । एमाले भनेको नेपाली राजनीतिको रामायणमा राम हो ।

सत्ता गठबन्धनः अझ कसिलो, झनै फराकिलो

यी तीन परिदृश्यले मुलुकका प्रमुख तीन राजनीतिक दलबीचको दूरी दुई चरणको स्थानीय चुनावको परिणामले अझ बढाएको सहजै बुझ्न सकिन्छ । एमालेले एक्लै पनि कांग्रेस माओवादी गठबन्धनलाई जित्न सकिन्छ भन्ने आत्मगत निष्कर्ष निकाल्दै गर्दा सत्ता गठबन्धनले एमालेविरुद्ध अझ फराकिलो र बलियो गठबन्धनको तयारी गरिरहेको छनक मिल्दैछ ।

पहिलो चरणमा कांग्रेस र एमालेसँग स्थानीय आवश्यकताका आधारमा जहाँ फाइदा हुन्छ, त्यहाँ तालमेल गरेको माओवादी केन्द्र दोस्रो चरणको चुनावसम्म आइपुग्दा पाँचथरको तुम्बेबा गाउँपालिका बाहेक अन्यत्र एमालेसँग मिल्न चाहेन । बरु कांग्रेस माओवादी गठबन्धन ताप्लेजुङदेखि अछामसम्मका ९३ स्थानीय तहमा बन्यो ।

भोजपुर, धनकुटा, बुटवल जस्ता केही ठाउँमा त महागठबन्धनको अभ्यास समेत भयो । जहाँ एमाले बाहेकका अन्य दलहरु एकजुट भएर चुनाव लडे । भारतमा बिजेपीको उदय आक्रामक ढंगले भएपछि विहारमा अन्य दलहरुले मिलेर चुनाव लडे, जसलाई उनीहरुले महागठबन्धनको संज्ञा दिएका थिए । नेपालमा पनि दोस्रो चरणको चुनावपछि महागठबन्धनको अभ्यास भने भएको छ ।

एमालेको ‘दम्भ तोड्न’ महागठबन्धन ?

के अबका सबै चुनावमा एमालेबिरुद्ध महागठबन्धन बन्ला ? अहिले यो प्रश्नको सोलोडोलो जवाफ कांग्रेस माओवादी नेताहरु पनि दिन चाहिरहेका छैनन् । तर, एमालेको दम्भ तोड्न र अतिवादलाई परास्त गर्न महागठबन्धन आवश्यक रहेको एउटा सन्दर्भमा कांग्रेस नेता कल्याण गुरुङले बताएका थिए । गुरुङ अहिले त्यहि अभियान सञ्चालन गर्दै २ नम्बर प्रदेशको जनकपुर क्षेत्रमै क्रियाशील छन् ।

त्यसो त कांग्रेसको काठमाडौंमा सम्पन्न २ नम्बर प्रदेशको भेलाले माओवादी र मधेस केन्द्रित दलहरुसँग तालमेल गरेर एक सय सिट जित्ने र एमालेलाई दोस्रो बनाउने संकल्प प्रस्ताव नै पारित गर्‍यो। संविधान संशोधन मतदान लैजाने र एमालेले पास हुन दिएन भनेर चुनावमा संशोधन पक्षधरहरुको गठबन्धन गर्ने कांग्रेसको रणनीति लगभग ‘ओपन सेक्रेट’ छ ।

२ नम्बर प्रदेशमा १९ स्थानीय तहमा मात्र एमालेको प्रभाव रहेको भन्ने कांग्रेसले त्यहि एमाले विरुद्ध महागठबन्धनको अभ्यास किन गर्नुप¥यो ? कुराको चूरो यहिँनेर छ । सम्भवतः राजपा पनि अब चुनावमा सहभागी हुनेछ । तर, कांग्रेस र राजपाबीच गठबन्धन बनिहाल्ने अवस्था मधेसमा छैन । किनकी जहाँ कांग्रेसले आफ्नो आधार ठानेको छ, राजपा र संघीय समाजवादी फोरमको आधार पनि त्यहिँ हो ।

महागठबन्धनको आधारः सुस्तादेखि टिकापुर

महागठबन्धन बन्न सक्ने एउटै आधार भनेको दोस्रो चरणमा चुनाव भएका तराई मधेसका ११ जिल्लामा एमाले पहिलो दल बन्नुले कांग्रेस, माओवादी र मधेसवादीलाई सोच्न बाध्य पारेको छ । भारतले सिमा मिचेको सुस्ता महेशपुरदेखि मधेसवादी नेताको उक्साहटमा सामुहिक नरसंहार भएको टीकापुरसम्म एमालेले जितेपछि बालुवाटार बैठकमै कांग्रेस माओवादी र मधेसवादी नेताहरुबीच गम्भिर समिक्षा भएको थियो ।

कांग्रेस माओवादीले एमालेबिरुद्ध महागठबन्धन बनाए पनि त्यसमा राप्रपा सामेल नहुने निश्चित देखिन्छ । यद्यपि पहिलो चरणको चुनावको असफल तालमेलका कारण राप्रपा एमालेसँग पनि तर्सिएको छ ।

एमालेले लिन बाहेक दिन नजानेको भन्ने राप्रपा नेताहरु धनकुटा र भैरहवाको चुनावी परिणामबाट निराश पनि छन् । राप्रपाले जितेका ती दुवै ठाउँमा एमालेले यसपटक एकल बिजय पायो । कांग्रेस माओवादीको सम्भावित महागठबन्धनमा सामेल नभए पनि आउने चुनावमा एमालेसँग राप्रपाको गठबन्धनको सम्भावना समेत देखिन्न ।

दोस्रो चरणको सत्तारुढ गठबन्धनले एमालेलाई भोजपुर, अर्घाखाँची, गुल्मी, पाल्पा, अछाम लगायतका जिल्लाका केही स्थानीय तहमा पराजित गर्न सफल भयो । बुटवल, हेटौंडा उपमहानगरपालिका जस्ता रणनीति ठाउँमा सत्ता गठबन्धन असफल भए पनि एमालेलाई २० देखि २५ स्थानीय तहमा पराजित गर्न गठबन्धनले सफलता पाएको देखिन्छ ।

एमालेको डरःकांग्रेसलाई माओवादीको भर

कांग्रेस र माओवादीका नेताहरुले यो गठबन्धन आउने प्रदेश र प्रतिनिधिसभाको चुनावसम्म कायम रहने खुलेआम बताइरहँदा एमालेले बाहिर जे जस्तो प्रतिक्रिया दिए पनि भित्रभित्रै डराएको हुनसक्छ । दुई ठूला दल मिल्दा एउटा ठूलो दललाई हराउन सजिलो हुनेछ ।

एमालेले चुनाव जितिरहदा कांग्रेस र माओवादी दुवैलाई घाटा छ । झनै कांग्रेसलाई त एमालेलाई रोक्नु अनिवार्य बाध्यता बनेको छ । त्यसैले पनि एमाले रोक्न कांग्रेसलाई माओवादीको साथ अझ चाहिएको छ । अहिले माओवादीलाई कांग्रेसको साथ भन्दा पनि कांग्रेसलाई माओवादीको साथ बढ्दा जरुरी देखिएको छ ।

माओवादीसँग आफू नजिते पनि एमालेलाई धेरै ठाउँमा हराउन सक्ने मत छ, जुन मोरङ, झापा लगायतका जिल्लामा यसपटक प्रयोग पनि भयो । माओवादीले एमालेको दम्भ तोड्न र एमालेहरुबाट स्थानीयस्तरमा अपमानित हुनुको बदला लिन आफू नजित्ने भएपछि कांग्रेसलाई भोट हालेका धेरै दृष्टान्त छन् । अनलाइनखबरका सम्पादक अरुण बरालको यो टिप्पणी पढे सबै बुझिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले सार्वजनिक रुपमै माओवादीलाई चुनाव जित्ने हो भने कांग्रेससँग होइन एमालेसँग तालमेल गर्न आउन आह्वान गर्नुले पनि सम्भावित महागठबन्धन रोक्न एमाले चाहान्छ भन्ने प्रष्ट हुन्छ । बामदेव गौतमले त लिखित रुपमै दुई दलबीच सिट बाँडेरै तालमेल गर्ने प्रस्ताव राखिसकेका छन् ।

कांग्रेसले एक्लै एमालेलाई हराउन नसक्ने निष्कर्ष निकालिसकेको हो ? अहिले नै यो प्रश्न उठाउनु हतारो हुनेछ । प्रतिपक्षमा रहेको शक्तिलाई सत्तापक्षको गठबन्धन बनाएर पनि पराजित गर्न नसक्नुको दुःख कांग्रेसले भोगेको छ । त्यसैले कांग्रेस माओवादीलाई गुमाउन चाहँदैन, कम्तिमा आउने संसदको चुनावसम्म ।

एमाले हराउनु माओवादीको बाध्यता

कांग्रेससँगको तालमेलबाट माओवादीलाई अपेक्षित लाभ नभए पनि एमालेसँग मिल्नु झनै आत्मघाती हुने विश्लेषण माओवादी बैठकमा भइसकेको छ । गोपाल किराँतीको भाषामा ‘एमालेको चिहान नखनेसम्म माओवादी माथि आउँदैन, अहिले माओवादीको चिहान खनेर एमाले माथि आयो ।’

पछिल्लो सचिवालय बैठकपछि माओवादीको शीर्ष नेतृत्व एमालेप्रति थप आक्रामक बन्नुले पनि आउँदा चुनावमा एमालेलाई जित्न नदिन उसले एमाले बिरोधी गठबन्धन बलियो बनाउन चाहेको प्रष्ट हुन्छ । एमाले बिजेता बन्दै जानु भनेको आफ्नो ओह्रालो यात्रा अझ छिटो हुने माओवादीको बुझाइ हो ।

दुई चरणको चुनावी परिणाम र विशेष गरी तराई मधेसमै पराजित हुनु परेपछि कांग्रेसले पनि एमालेबिरुद्ध एक्लै लड्न नसक्ने महशुस गरेको हुनुपर्छ । भरतपुर महानगरपालिकादेखि बिभिन्न स्थानमा तालमेल हेर्ने हो भने पनि कांग्रेसले माओवादीलाई साथमै लिएर एमालेलाई पराजित गर्न खोजेको प्रष्ट हुन्छ ।

स्थानीय चुनावको पूर्वसन्ध्यामा कांग्रेस सभापति शेरवहादुर देउवाले कांग्रेस र माओवादीबीच अझै १० वर्ष सहकार्य हुने बताएका थिए । यद्यपि चुनावी परिणाम एमालेको पक्षमा गएपछि कांग्रेसले गठबन्धनलाई थप कसिलो र फराकिलो बनाउने रणनीति अपनाएको छ । त्यसो भयो भने आउने प्रदेश र संघीय संसदको चुनावमा कम्तिमा कांग्रेस र माओवादीले सिट संख्या बाँडेरै तालमेल गर्न सक्छन् ।

ओलीको शक्तिः भित्र बाहिर दुवैतिर बलियो

समकालिन तीन शीर्ष नेताहरुमध्ये अहिले जनमतको बल समेत मिलेपछि केपी ओली शक्तिसाली बन्दै गएका छन् । ओलीको नेतृत्वमा स्थानीय चुनावमा होमिएका एमालेका लागि यो चुनाव सहज थिएन । तर, हिमाल, पहाड र तराई तीनै भूगोल अर्थात खुम्बुदेखि सुस्तासम्मको भूभाग जितेर पहिलो पार्टी बनेपछि ओली पार्टीभित्र र बाहिर दुवैतिर बलियो बनेकै हुन् ।

पार्टीभित्र एजेण्डाका हिसाबले एकता कायम गर्नु, आन्तरिक विवाद प्रकट हुन नदिनु र आफू सरहका नेतादेखि साधारण सदस्यसम्मलाई एक स्वर एक लयमा परिचालन गर्न सक्नु ओलीको ठूलो सफलता भयो । विपक्षीमाथि तीब्र प्रहार र योगेश भट्टराई नेतृत्वमा आक्रामक प्रचार संयन्त्रको परिचालनले ओलीले चुनावी मोर्चामा सहज जित निकाले ।

यसपटकका दुवै चरणको चुनावमा शीर्ष नेताहरुमध्ये ओलीको दौडाहा र खटाई साँच्चिकै लोभलाग्दो थियो । एकै दिनमा १० ओटासम्म चुनावी सभा र घरदैलो समेत भ्याएका ओलीको खटाइ पार्टीभित्रै चर्चाको विषय बन्यो । कांग्रेस र माओवादीका बैठकमा समेत ओलीको दौडधूप चर्चाको बिषय बन्यो ।

सम्भवतः ओली आफैं उम्मेदवार बन्दा पनि यति धेरै खटिएका थिएनन् होला, जति स्थानीय चुनाव पार्टी जिताउन खटिए । चुनावी रणनीति र बाह्य दौडाहामा ओलीले देउवा र प्रचण्डलाई पछि पारेकै हुन् ।

संविधान संशोधनको बिरोध र मधेस बिरोधी आरोप खेपिरहेका बेला चुनावमा गएको एमाले मधेसमै अनुमोदन भएपछि ओलीको आत्मविश्वास अझ बढेको छ । त्यसको पुष्टि एउटै कुराले गर्छ कि, एमालेले अब तीनै तहका चुनाव सकेर नयाँ संसद आएपछि मात्र संविधान संशोधनबारे कुरा हुने बटमलाइन दिइसकेको छ ।

कांग्रेस माओवादी र मधेसवादी एजेण्डाका हिसाबल एकातिर छन् । उनीहरुको यो एकता आउने चुनावहरुमा कायम रहदा एमाले एक्लिनेमात्र छैन, चुनाव जितेर एक्लै सरकार चलाउने उसको योजनामा समेत चुनौती थपिनेछ । आफूबिरुद्ध बन्न सक्ने महागठबन्धनलाई ओलीले किश्किन्धाका बाँदरहरुको सहरा भने पनि जाम्बवान र अँगद जस्ता बाँदरलाई सामान्य मात्र ठान्नु उसको भूल हुनेछ ।

माओवादीलाई साथमा लिएर चुनावमा जाँदा कांग्रेसलाई एमालेले धेरै पछि पार्न सक्ने अवस्था थियो । त्यो अवसर अब लगभग गुमाइसकेको एमालेले आफूबिरुद्ध बन्ने महागठबन्धनबाट सकेसम्म मधेसवादीहरुलाई रोक्न खोज्नुनै मधेसमा कांग्रेसलाई साइजमा राख्ने उपाय हुन सक्छ ।

महागठबन्धनको जमिन

संविधान संशोधनका मुद्दाका कारण मधेसवादीका लागि एमालेभन्दा कांग्रेस माओवादी नै सगोत्री शक्ति हुन् । भलै यो संशोधन पारित हुँदैन र पारित भए पनि मधेसमा मत माग्ने फेस सेभिङ बाहेक त्यसले कुनै उपलब्धी हँुदैन भन्ने सबैलाई थाहा छैन ।

सम्भवतः अब राजपाकै सहमतिमा संविधान संशोधन बिधेयक संसदमा मतदानमा लगिनेछ । एमालेले त्यसको विपक्षमा आफूलाई अझ कडा रुपमा उभ्याउनेछ, जसले सत्ता गठबन्धन र मधेसवादीलाई चुनावी तालमेलको जमिन मिल्नेछ ।

उनीहरु एमाले मधेसको सत्रु हो भन्दै संयुक्त रुपमा भोट माग्न जानेछन् । मन मिलेपछि मतका लागि पनि एमालेबिरुद्ध महागठबन्धन बन्यो भने त्यो आश्चर्य हुनेछैन ।

एमालेले चुनाव जित्नु कांग्रेस माओवादीका लागि मात्र होइन, मधेसवादीका लागि पनि चुनौती हो । किनकी उनीहरुका एजेण्डामा अनुदार रहेको शक्तिले चुनाव जित्नु अवश्य पनि सुखद कुरा होइन । संविधान जारी गर्ने प्रक्रियादेखि भारतसँग एमालेको सम्बन्ध चीसो छ ।

नेपालमा जिएम नियुक्तिमा समेत चासो दिने भारतले अवश्य पनि सम्भावित चुनावी परिदृश्यहरुलाई नजिकबाट नियालिरहेकै छ । ‘भारत बिरोधी’ एमालेका बिजय लैनचौर वा नयाँ दिल्लीलाई अवश्य पनि सुखद छैन । यिनै आलोकमा भविष्यका चुनावमा एमाले बिरुद्ध मिलेसम्म अधिकतम रुपमा महागठबन्धनको अभ्यास हुनेछ । सम्भवतः एमालेको नेतृत्वले यसको अन्दाज गरेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment