Comments Add Comment

काष्ठमण्डप पुनर्निर्माणमा विवाद, महानगरले हस्तक्षेप गरेको आरोप


२२ साउन, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण कसले गर्ने भन्दै विवाद चुलिएको छ । काठमाडौं महानगरपालिकाले नागरिक स्तरबाटै काष्ठमण्डप बनाउन गठित काष्ठमण्डप पुनर्निर्माण अभियानलाई कुनै भूमिका नदिने भनेपछि विवाद चुलिएको हो ।

अभियानले काष्ठमण्डप पुनर्निर्माणमा महानगरले हस्तक्षेपकारी भूमिका खेल्दै पुरातत्व संरक्षणको प्रयासलाई दबाउन खोजेको आरोप लगाएको छ । महानगरपालिकाले भने सरकारले नै पुनर्निर्माणको जिम्मा आफूलाई दिएकोले अन्य पक्षले किचलो झिक्नुको कुनै अर्थ नहुने स्पष्ट गरेको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काष्ठमण्डप पुनर्निर्माण अभियान, पुरातत्व विभाग र काठमाडौं महानगरबीच गत वैशाख २९ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसमा नागरिक स्तरको अभियानले काष्ठमण्डप पुनर्निर्माणका लागि काम गर्ने र त्यसमा महानगरपालिका र विभागले सघाउने उल्लेख थियो ।

तर, महानगरपालिकामा आएका जनप्रतिनिधिले एउटा समूहले चलाएको अभियानलाई सम्पदा निर्माणको जिम्मा दिने निर्णय गलत भन्दै फिर्ता गर्न दबाव दिए । लगतै महानगरले पुनर्निर्माणमा आफैंले काम थाल्ने निर्णय समेत गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की नयाँ जनप्रतनिधिको योजनाअनुसार नै काष्ठमण्डप महानगरकै नेतृत्वमा निर्माण गर्ने निर्णय भएको बताउँछन् । ‘कसले निर्माण गर्छ भन्ने कुरा ठूलो हैन । कस्तो बन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ’ प्रवक्ता कार्कीले भने, ‘। जिम्मा हामीले पाएका छौं । हामी नै निर्माण गर्छौं ।’

पुरानै स्वरुपमा निर्माण गर्न विज्ञहरुसँग परामर्श सुरु भएको र छिट्टै निर्माण थाल्ने उनले बताए ।

कसरी भयो किचलो ?

काठमाडौं पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्ऽभक्त श्रेष्ठ भने काष्ठमण्डप पुनर्निर्माणमा उपेक्षा गर्ने सरकारी पक्षले नागरिस्तरबाट पनि काम गर्न नदिएको बताउँछन् । उनी यसलाई नेपाल मण्डलको सभ्यताप्रति गरिएको षड्यन्त्र भन्छन् ।

अभियानले काष्ठमण्डपको जग संरक्षणका लागि जस्ताको छाना हालेर टहरो बनाउने कार्य सुरु गरेको थियो ।


तर, काठमाडौं महानगरपालिकाले असार ५ गते हस्तक्षेप गरेर साँचो नियन्त्रण लिँदै काम रोकेको थियो ।

‘वषर्ायाम सुरु भएकाले टहरा बनाएर जगमा पानी पस्नबाट जोगाउनु आवश्यक थियो । त्यो काम होस् भनेर हामीले तयार गरेको डिजाइनसमेत दिएर महानगरलाई सहयोग गरेका थियौं’ श्रेष्ठले भने, ‘महानगरपालिकाले त्यसलाई खासै महत्व दिएन । पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणले पनि जगमा पानी पसेर क्षति हुनसक्ने विषयलाई गम्भीरतापूर्वक लिएन ।’

त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफलका लागि भन्दै बोलाएर निर्माणको जिम्मा महानगरपालिकाले लिने भन्ने मौखिक निर्णय सुनाएको आरोप उनले लगाए ।

अभियान्तालाई चिन्ता

महानगरपालिकाले हस्तक्षेप गरेपछि अभियानले जग संरक्षणका लागि सुरु गरेको टहरा बनाउने काम अहिलेसम्म सकिएको छैन । अभियानलेे वषर्ाको पानी जगमा पसेर १४ सय वर्ष पुरानो जग बिगार्‍यो भने त्यो अपूरणीय क्षति हुने बताइरहेको छ ।

अध्यक्ष श्रेष्ठले काष्ठमण्डको जगममा क्षति पुगे यसको जिम्मेवारी महानगरपालिका, पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिनुपर्ने बताए । ‘सरकारी पक्षले काष्ठमण्डप पुनर्निर्माणमा देखाएको उपेक्षा र गरेको व्यवहार यथार्थमा नेपाल मण्डलको सभ्यताप्रति गरिएको षड्यन्त्रकै एउटा अंग हो’ उनले भने, ‘सरकारी निकायका पदाधिकारीको सोच र प्रवृत्ति भने यसलाई सामान्य भौतिक संरचना मात्रै ठान्ने प्रकारको देखियो ।’

उनले यस्तो सोच भएकाहरूलाई काष्ठमण्डप बनाउन दिन नसकिने भन्दै काठमाडौंको पहिचान र सभ्यताको संरक्षणका लागि अझै सशक्त ढंगले अभियान चलाउने बताए । काठमाडौं महानगरपालिकाका प्रवक्ता कार्की भने काष्ठमण्डपलाई पुरातात्विक तवरले निर्माण गर्न महानगर आफैं सक्षम रहेको बताउँछन् ।

तस्वीरः रिबिल्ड काष्ठमण्डप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment