Comments Add Comment

कांग्रेसको अवस्था कति फेरियो ?

स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, साँच्चै कम हार्‍यौं । हामीले ५० सिट कम जितेका छौं तर, धेरै ठाउँमा साँच्चै सकिएको जसरी कुरा गरिरहेका छौं । सिट संख्यासम्वन्धी छलफल धेरै भइसक्यो । अब आउने संघीय र प्रादेशिक निर्वाचनको तयारी गर्नका लागि कति सिट कम भयो भन्ने भन्दा पनि कति मत कम पाइयो भन्ने विश्लेषण उपयोगी हुन्छ । यो विश्लेषण मतदाता संख्यामा आधारित छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसको ३५ दशमलव एक प्रतिशत भोट छ । एमालेले ३६ दशमलव चार प्रतिशत भोट पाएको छ । माओवादी भने निकै कम अर्थात् १६ दशमलव आठ प्रतिशतमा सीमित भएको छ । यो लेख कांग्रेसको दृष्टिबाट तयार गरिएकाले मुलतः प्रतिस्पर्धी दलहरू कांग्रेस र एमालेको तुलनामै बढी केन्द्रीत छ ।

पहिलो चरणको चुनावमा कांग्रेसको मत ३६ दशमलव एक प्रतिशत थियो भने एमालेको ३८ दशमलव एक प्रतिशत । दोस्रो चरणमा कांग्रेसको ३४ दशमलव चार र एमालेको ३५ प्रतिशत छ । पहिलो चरणमा एमालेले कांग्रेसभन्दा दुई प्रतिशत बढी मत पाएको थियो तर दोस्रो चरणमा यो अन्तर शुन्य दशमलव ६ प्रतिशत मात्र रहृयो । जितेको सिट संख्याको अनुपात भने पुरानै छ तर मत अन्तर कम छ ।

प्रदेश १ मा एमालेले सधैं राम्रो गर्दै आएको ठाउँ हो । प्रदेश ७ मा कांग्रेस बलियो भए पनि कैलालीमा पछिल्लो राजनीतिक परिदृश्य कांग्रेसका लागि अलि असहज थियो । कैलालीमा झैं विशेषतः प्रदेशको सीमांकनको विवादका कारण प्रदेश ५ मा कांग्रेस अलि अलोकप्रिय भयो होला भन्ने धेरैको अनुमान थियो । तर, त्यसविपरित उक्त प्रदेशमा कांग्रेसको समर्थन त्यति धेरै खस्किएन ।

प्रादेशिक आधारमा मुख्य तीन दलको मत प्रतिशत 

प्रदेश कांग्रेस एमाले माओवादी अन्य
३६.१ ३८ १४.४ ११.५
३२.७ ३८.५ १८.१ ११
४३.४ ४०.३ १०.२ ६.२
३२.३ ३२.७ १६.७ १८.४
३५.१ ३४.१ २६.१ ४.७
३४.८ ३३.८ २०.४ १०.९
जम्मा ३५.१ ३६.४ १६.७ ११.७

 

अब तीन पार्टी अघिल्लो संविधानसभा निर्वाचनमा कहाँ उभिएका थिए, हेरौं । २०७० को चुनावमा कांग्रेसले २९ दशमलव आठ प्रतिशत भोट पाएको थियो भने एमालेले २७ दशमलव ६ थियो । माओवादीले १७ दशमलव आठ प्रतिशत मत पाएको थियो । स्वभाविक हो, त्रिणमुलसम्म सांगठनिक आधार भएका दलहरु कांग्रेस र एमालेको मत स्थानीय निर्वाचनमा बढेको छ । माओवादी केन्द्रले पनि आफ्नो समर्थन विस्तार गर्नु पर्ने हो । तर, यसो भएन ।

२०७० को आमनिर्वाचनमा अहिलेको प्रदेश १ बाहेक सबै प्रदेशमा कांग्रेसले एमालेभन्दा बढी मत पाएको थियो । अहिले प्रदेश १ मा एमालेले कांग्रेसभन्दा एक दशमलव ९ प्रतिशत बढी मत पाएको छ । त्यहाँ सधैं एमाले अगाडि रहँदै आएको छ । ०७० को संविधानसभा चुनावमा एमाले कांग्रेसभन्दा एक दशमलव दुर्इ तिशतले अगाडि थियो ।

प्रदेश ३ मा पाँच दशमलव पाँच प्रतिशतले एमाले अगाडि छ । प्रदेश ४ मा तीन दशमलव दुर्इ प्रतिशत मत कांग्रेसले बढी पाएको छ । प्रदेश ५ मा झिनो मतले एमाले अगाडि छ । प्रदेश ६ मा कांग्रेस एक दशमव एक प्रतिशत मतले अगाडि छ तर प्रदेश ७ मा कांग्रेसको अग्रता निकै घट्यो । अहिले जम्मा शुन्य दशमलव आठ प्रतिशत मतले मात्र अगाडि छ । जबकि, पछिल्लो संविधानसभामा कांग्रेस सात प्रतिशत मतले अगाडि थियो ।

बढे कांग्रेस-एमाले, खुम्चियो माओवादी 

कांग्रेसले आफ्नो समर्थन पाँच दशमलव तीन प्रतिशत विस्तार गर्दा एमालेले झण्डै डेढा बढी आठ दशमलव आठ प्रतिशत विस्तार गरेको छ । एमालेको यो सुधार प्रदेश ३ मा विशेष देखिन्छ

पार्टीहरूको अवस्थाबारे छलफल सुरु गर्दै गर्दा हामीले बदर मत अत्यधिक रहेको बिर्सनु हुँदैन । विराटनगर महानगरलाई उदाहरण बनाउन सकिन्छ, जहाँ झण्डै २५ प्रतिशत अर्थात् करिव १९ हजार मत बदर भएको छ । निर्वाचन आयोगले अहिलेसम्म कति मत खस्यो भनेको छैन । तर, ७६ लाख सदर मत देखिन्छ ।

प्रदेश २ मा अर्को १७ लाख मत सदर हुने हो भने अघिल्लो निर्वाचन र यसमा कुल सदर मत संख्या झण्डै बराबर रहनेछ । जबकि, मतदाताको संख्या २० लाख बढेको छ । संविधानसभा चुनावमा पाँच प्रतिशत हाराहारी मत बदर थिए भने स्थानीय तहमा २० देखि २५ प्रतिशत पुगेको हुनुपर्छ । यस कोणबाट विश्लेषण गर्दा पार्टीहरूको अन्तर धेरै छैन, बदर मत धेरै छ । भोलि कुनै पनि उम्मेदवारले आफ्नो बदर मत सदर गराउने गरी मतदातालाई शिक्षित गर्‍यो भने जित्न सक्छ ।

दोस्रो, यो चुनावमा कांग्रेस र एमाले दुबैले संविधानसभा चुनावमा भन्दा बढी मत पाएका छन् । कांग्रेस र एमाले ०६२/६३ साल अघि जुन आधार थियो, त्यसमा फर्किएका छन् । यसका दुई कारण छन्, पहिलोः साना पार्टीहरुले उम्मेदवार नै उठाउन सकेनन् । संगठन नै नभएपछि कहाँबाट उम्मेदवार उठाउने ? स्वभाविक रुपले कांग्रेसले एमालेले झण्डै सबै स्थानीय तहमा उम्मदेवारी दिन सके । २०७० को संविधानसभामा झण्डै २५ प्रतिशत मत साना पार्टीले पाएका थिए । त्यो अहिले घटेर ११ दशमलव सातमा झरेको छ अर्थात साना पार्टीको १३ प्रतिशत घट्यो । अर्को, माओवादीको मत एक प्रतिशतले घटेको छ । माओवादीले गुमाएको ठाउँमा एमालेले सुधार गर्‍यो ।

राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र विगत केही समय सत्ता राजनीतिमा रहेको केन्द्रीय भूमिकाका कारण तेस्रो दल माओवादीले पनि मत थप्नु पर्ने हो, तर सकेन । कांग्रेससँग गठवन्धन गरेर माओवादीले आफ्नो स्खलन जोगाउन मौका पायो । तर पनि माओवादीले आफ्नो आधार गुमाएको प्रष्ट छ । उसले कहीँकहीँ गम्भीर रुपमा नै आफ्नो समर्थन गुमाएको छ । जस्तोः प्रदेश ४ मा उसको जनसमर्थन १० प्रतिशत खस्किएको छ । सबै जित्ने दाबी गरेको गोरखामा दुई स्थानीय तहमै खुम्चियो । यस्तै दाबी गरेका अन्य तहमा त्यसभन्दा फरक प्रदर्शन गर्न सकेन । प्रदेश ३ मा पनि माओवादीको समर्थन संकुचित भएको छ, ७ नम्बर प्रदेशमा भने सुधार गरेको छ । आफ्नो समर्थन संकुचनबारे विश्लेषण, मूल्यांकन र रणनीति तर्जुमा गर्ने काम माओवादी केन्द्रकै जिम्मा छाड्नु उपयुक्त ठान्दछु ।

प्रादेशिक आधारमा कांग्रेस र एमालेको तुलना

प्रदेश

 

अग्रता
स्थानीय चुनाव अघिल्लो संविधानसभा
एमालेः १.९ प्रतिशत एमालेः ०.७ प्रतिशत
एमालेः ५.५ प्रतिशत कांग्रेसः ३.४ प्रतिशत
कांग्रेसः ३.२ प्रतिशत कांग्रेसः ५.० प्रतिशत
एमालेः ०.२ प्रतिशत कांग्रेसः ०.६ प्रतिशत
कांग्रेसः १.१ प्रतिशत कांग्रेसः ०.१ प्रतिशत
कांग्रेसः ०.८ प्रतिशत कांग्रेसः ७.० प्रतिशत
जम्मा   एमालेः १.३ प्रतिशत कांग्रेसः २.२ प्रतिशत

 

तुलना अघिल्लो संविधानसभासँग गरौं । त्यो चुनावमा कांग्रेसले २९ दशमलव आठ प्रतिशत मत पाएको थियो, अहिले ३५ दशमलव एक प्रतिशत पायो । अघिल्लो संविधानसभामा एमालेको मत २७ दशमलव ६ प्रतिशत हो । अहिले ३६ दशमलव चार प्रतिशत छ । हिजो झण्डै दुई प्रतिशत कम रहेको एमालेले अहिले एक दशमलव तीन प्रतिशत बढी छ । अर्थात्, कांग्रेसले आफ्नो समर्थन पाँच दशमलव तीन प्रतिशत विस्तार गर्दा एमालेले झण्डै डेढा बढी आठ दशमलव आठ प्रतिशत विस्तार गरेको छ । यो सुधार प्रदेश ३ मा विशेष देखिन्छ ।

गाउँपालिकाहरुमा कांग्रेसले एमालेभन्दा शुन्य दशमलव तीन प्रतिशत कम मत पाएको छ भने नगरपालिकाहरुमा यो दुरी बढेर एक दशमलव सात प्रतिशतमा पुगेको छ । ६ गुणा बढी फरक किन छ भने विगत यो अवधिमा हामी (कांग्रेस)ले शहरी मतदाताले आम रुपमा मन नपराउने काम निकै गर्‍यौं

२०७० को चुनावमा कांग्रेसले त्यहाँ एमालेभन्दा तीन दशमलव चार प्रतिशत बढी मत पाएको थियो । अहिले पाँच दशमलव पाँच प्रतिशत मत कम पाएको छ । यो भनेको एमालेले सापेक्षिक रुपमा आफ्नो स्थिति आठ दशमलव नौ प्रतिशतले सुधार गरेको छ । यो मामुली कुरा होइन । यो कहाँबाट भयो त ? यो प्रदेशमा एमालेले सापेक्षिक रुपमा आफ्नो स्थिति नुवाकोटमा २९, ललितपुरमा १९, चितवनमा १५, काठमाडौं र भक्तपुरमा १४ तथा रामेछापमा १० प्रतिशत सुधार गरेको छ । सिन्धुपाल्चोकमा चाहिँ कांग्रेसले आफ्नो समर्थन बढाएको छ ।

यस्तै, अघिल्लो संविधानसभाको निर्वाचनमा प्रदेश ७ मा कांग्रेस सात प्रतिशतले एमालेभन्दा अगाडि थियो । अहिले एक प्रतिशतभन्दा कम मतले मात्र अगाडि छौं । सापेक्षिक रुपमा एमालेले यस प्रदेशमा आफ्नो समर्थन ६ प्रतिशतभन्दा बढीले सुधारेको छ । अघिल्लो चुनावको तुलनामा अहिले एमालेको समर्थन डडेलधुरामा ३०, कञ्चनपुरमा १४, डोटीमा १० र कैलालीमा सात प्रतिशतले वृद्धि भएको छ ।

अन्य प्रदेशका जिल्लाहरुमा कांग्रेसको समर्थन सापेक्षमा मनाङमा ४५ प्रतिशत, हुम्लामा २६ प्रतिशत, उदयपुर र दाङमा १४ प्रतिशतले ह्रास भएको छ । अघिल्लो निर्वाचनमा ११ प्रतिशतले एमाले सुर्खेतमा कांग्रेस भन्दापछि थियो, अहिले हारहारीमा छ ।

कांग्रेसले एमालेको तुलनामा आफ्नो स्थितिमा सुधार गरेको केही जिल्ला मध्ये डोल्पा, प्युठान, लमजुङ, मुगु, रसुवा, सिन्धुपाल्चोक, मुस्ताङ, गोरखा उल्लेखनीय छन् ।

माओवादीसँग तुलना गर्ने हो भने हुम्ला, उदयपुर, नुवाकोट, सोलुखुम्बु, जुम्ला, कैलाली, डडेलधुरा, चितवन, दाङमा कांग्रेसको समर्थन यस निर्वाचनमा घटेको छ । गोरखा, मुस्ताङ, रसुवामा माओवादीको तुलनामा कांग्रेसले आफ्नो स्थिति सुधारेको छ ।

गाउँ र शहरको फरक 

चुनावी मतको विश्लेषण गर्दा गाउँ र शहरको रोजाईमा पृथकता देखियो, यो चुनावमा पनि । गाउँपालिकाहरुमा कांग्रेसले एमालेभन्दा शुन्य दशमलव तीन प्रतिशत कम मत पाएको छ भने नगरपालिकाहरुमा यो दुरी बढेर एक दशमलव सात प्रतिशतमा पुगेको छ । कांग्रेसले ३६ दशमलव एक प्रतिशत मत पाएको छ भने एमालेले ३८ दशमलव एक प्रतिशत । ६ गुणा बढी फरक किन छ भने विगत यो अवधिमा हामी (कांग्रेस)ले शहरी मतदाताले आम रुपमा मन नपराउने काम निकै गर्‍यौं । ती सबै विषयले राष्ट्रिय चर्चा पाए, त्यसले निर्वाचन परीणाम प्रभावित गरेको छ । ती विषयहरुमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सार्वजनिक आलोचना प्रशस्तै भएको छ । मैले यी विषय यहाँ दोहोर्‍याउनु परेन । यो क्षतिको शृंखला अब आउने निर्वाचनमा जारी नरहे हुन्थ्यो ।

हामीले आम मतदातालाई काठमाडौंमा विकल्पमा रञ्जु दर्शना र किशोर थापा खोज्ने बनायौं । हरेक नगरका मतदातामध्ये एउटा यस्तो प्रभावशाली समूह हुन्छ, जसको मनोविज्ञानमा रञ्जु दर्शना र किशोर थापाहरुलाई मतदान गर्ने खालको हुने गर्छ । यसले कांग्रेसलाई एमालेभन्दा पछाडि पुर्‍यायो । काठमाडौंमा विकल्प पाए, उनीहरुलाई मत हाले । विकल्प नपाएका ठाउँमा उग्रराष्ट्रवादको नाराका कारण एमालेलाई मत हाले होलान् । तर, गाउँहरुमा शहरमा झैं उग्रराष्ट्रवादको नारा वा शहरी मुद्दाहरुले त्यतिधेरै काम गरेको देखिन्न ।

दुई कारणले कांग्रेस धेरै मत भाँडिनबाट जोगियो । यो चुनाव स्थानीय चुनाव थियो, स्थानीय मुद्दामा चुनावी प्रतिस्पर्धा थियो । राष्ट्रिय चुनाव भएको भए कांग्रेसले यस पटक यति भोट जोगाउन नसक्ने खतरा थियो । कांग्रेसको उम्मेदवार समाजमा अलि बढी ग्राहृय हुने गर्छन् । जनताले कांग्रेसका उम्मेदवारलाई उम्मेदवारको सामाजिक प्रतिष्ठा र प्रभावका कारण सहजै मत दिन्छन् । विस्तारै एमालेका उम्मेदवारको पनि समाजिक हैसियत नजिक आइसकेको छ तर, माओवादीको त्यो अवस्था छैन ।

अर्को, कांग्रेसको संगठन छ तृणमुलसम्म । लोकतन्त्रवादी दललाई मत दिने मतदाताको समर्थन कांग्रेसलाई धेरै महेनत नै नगरी सदैव प्राप्त हुन्छ । त्यसैले भन्ने चलन छ, कांग्रेस दुवो हो, एक झर पानी पर्ने वित्तिकै मौलाउँछ । एमालेले संगठन बनाउन मेहनत गरेको छ । तर अरु दलको संगठन तलसम्म पुगेको छैन, यही कारण राप्रपाले यो चुनावमा राम्रो मत पाउन सकेन । नेताका गफले मात्र त भोट आउँदैन ।

अन्तरघात कति ?

यो चुनावमा केही ठाउँमा लाजै लाग्ने गरी कांग्रेस उम्मेदवारलाई अन्तरघात गरिएको छ । अन्तरघातलाई जरोदेखि नै निरुत्साहित गर्ने गरी कारबाही गर्ने काम विज्ञानभन्दा कला नै बढी हो । म व्यवहारवादी राजनीतिक कुरा गर्छु, जसलाई कारबाही गर्दा सिंगो पार्टी परिचालित हुन्छ, जसलाई काबारही गर्दा यो चाहीँ ठीक भयो भनेर आम कांग्रेसजनले भन्छन्, त्यस्तालाई कारबाही गर्नुपर्छ । कसैलाई कारबाही गर्दा पार्टी अझ एकतावद्ध बन्छ भने कारबाही गरे हुन्छ ।

कहिँ देउवा समूहले पौडेल समूहलाई त कहिँ पौडेल समूहले देउवा समूहलाई सघाएको छैन । जहाँ बढी अन्याय भयो, त्यहीँ केही अन्तरघात भयो होला । टिकट बाँड्ने कुरामा म पनि दोष लिन तयार छु । टिकट बाँड्न मेरो पनि भूमिका छ । तर, टिकट चाहिँ ठीक मान्छेलाई नदिने, अनि त्यसलाई कारबाहीको जामाबाट छोप्न कति उपयुक्त हुन्छ ? अमेरिका, बेलायतमा कारबाही हुन्छ ? भोट हाल्ने नहाल्ने मान्छेको आफ्नो इच्छाको कुरा हो । चुनावमा निर्णायक नै ती मतदाता हुन्, जसले एउटा पार्टीको सट्टा अर्को पार्टीलाई भोट हाल्छन् ।

मैले पार्टी बैठकमै भनेको छु, अन्तरघात भनेर धेरै नभनौं । अर्को चुनावको मुखमा छौं, कति जनालाई कारबाही गर्ने ? पहिलेको जस्तो एक वर्षसम्म कारबाहीलाई प्रक्रियामा राख्ने अवस्था छैन । रिसाएर छाडेका साथीहरुलाई त फकाएर ल्याउनु छ, अरु पार्टीबाट प्रवेश गराउनु पर्ने बेलामा पार्टीका साथीहरुलाई कारबाही गर्ने कुरा कति सहज हुन्छ ?

प्रदेश २ को सम्भावना

प्रदेश २ मा साथीहरुले धेरै कुरा गर्नु भएको छ । त्यहाँ अघिल्लो संविधानसभामा हामीले २१ दशमलव आठ प्रतिशत भोट पाएका हौं । एमालेले १९ दशमलव चार प्रतिशत पाएको छ । कांग्रेस र एमालेको दुई दशमलव चार प्रतिशत मात्र अन्तर छ । यो बढ्यो भन्ने ठाउँ मैले खासै देखेको छैन ।

अघिल्लो संविधानसभामा विशेष रुपमा समानुपातिक निर्वाचन प्रणालीतर्फ अनपेक्षित तवरले राप्रपा, नेपालले प्राप्त गरेको अनुदारवादी वा पुरातनवादी मत यो निर्वाचनमा राप्रपासँग रहेन । धेरै ठाउँमा एमालेतर्फ आकर्षित भएको देखिन्छ । यो मत स्थायी रुपमा एमालेसँग रहँदैन । कांग्रेसले ढंग पुर्‍याउँदा यो मत आफूतर्फ सहजै आकर्षित गर्न सक्छ

एमालेले मधेसीभन्दा पहाडी समुदायबाट बढी मत पाउने गर्छ । र, मधेसी समुदायमा पनि उसले आफ्नो आधार खासै गुमाएको जस्तो छैन । अर्कोतिर, मधेसकेन्द्रित दलहरुलाई जोड्ने हो भने उनीहरुको ३२ प्रतिशत भोट छ । अब एमाले र मधेसकेन्द्रित दलको आक्रामक एवं आम नागरिकलाई ध्रुविकृत गर्ने चुनावी रणनीति भयो भने कांग्रेसलाई आशा गरेअनुसार सफलता प्राप्त नहुन सक्छ ।

हिजोका ६ वटा पार्टी मिलेर राजपा बनेको छ । एउटै पार्टीमा त उम्मेदवार छान्न यति गाह्रो छ भने उनीहरु सबै एकतावद्ध भएर अनुशासित रुपमा चुनावमा प्रस्तुत नहुन सक्छन् । तराई मधेश त्यस्तो क्षेत्र हो, जहाँ विगतमा १० प्रतिशतभन्दा कम मत पाएर पनि चुनाव जितेका उदाहरण छन् । चुनाव हारेको भए जमानत जफत हुने तर सबैभन्दा धेरै भोट भएकाले चुनाव जितेको नजिर छ त्यहाँ । यी कारणले कांग्रेसलाई निर्वाचनमा फाइदा हुनसक्छ । साथै प्रदेश २ मा जातीय समीकरणले पनि परिणाम अन्यत्रभन्दा बढी प्रभावित गर्न सक्छ ।

भविष्यको कांग्रेस कस्तो ?

हामी झण्डै एक दशमलव तीन प्रतिशत भोटले मात्र पछाडि छौं । मलाई लाग्छ, कांग्रेसले भविष्यमा यसभन्दा राम्रो गर्न सक्छ । बाहिर जे भने पनि, राष्ट्रिय मुद्दामा आफ्नो पक्षमा यो निर्वाचनमा समर्थन जुटाउन कांग्रेसलाई अलि गाह्रो थियो । कांग्रेसको देशभक्तिमाथि प्रहार गर्दै एमालेले उग्रराष्ट्रवाद आकर्षक चुनावी नारा बनाएको थियो । थप, कांग्रेसको माओवादीसँग भएको गठवन्धनलाई कांग्रेसजन र आम मतदाताले सहज रुपमा लिन सकेका थिएनन् । अब यो तालमेल विस्तारै गाहृय हुँदैछ । हिजो भरतपुरमा हँसिया हथौडामा मत नहाल्ने कांग्रेसजनले पनि अब त्यसलाई सहज मान्लान् ।

दोस्रो, अघिल्लो संविधानसभामा विशेष रुपमा समानुपातिक निर्वाचन प्रणालीतर्फ अनपेक्षित तवरले राप्रपा, नेपालले प्राप्त गरेको अनुदारवादी वा पुरातनवादी मत यो निर्वाचनमा राप्रपासँग रहेन । धेरै ठाउँमा एमालेतर्फ आकर्षित भएको देखिन्छ । यो मत स्थायी रुपमा एमालेसँग रहँदैन । कांग्रेसले ढंग पुर्‍याउँदा यो मत आफूतर्फ सहजै आकर्षित गर्न सक्छ ।

तेस्रोः निर्वाचन क्षेत्र कस्तो बनाउने । देशको विविधितालाई ध्यानमा राख्दै हरेक निर्वाचन क्षेत्र सानै रुपमा भएपनि आफ्ना प्रतिनिधिमार्फत राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न सक्ने प्रकृतिको हुनुपर्छ । विभिन्न जातजाति, भाषाभाषि, धर्म सस्कृतिमा आवद्ध हामी सबैको सामुहिक र एकतावद्ध पहिचानलाई सुदृढ बनाउन सक्ने प्रतिनिधिसभाको बनौट हुनुदर्छ । अनिमात्र साच्चै अर्थमा विविधितामा एकता स्थापित हुन्छ । दृढ इच्छाशक्तिका साथ राष्ट्रिय समृद्धिको यात्रा सुरु गर्न सकिन्छ । यसरी निर्वाचन क्षेत्र निर्धारण भए कांग्रेस र एमाले दुबैलाई, अझ कांग्रेसलाई केही बढी फाइदा होला ।

चौथोः केही र सतहमा देखिएका निराशाका बावजुद कांग्रेसका लागि आशाको किरण देखिन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुको प्रधानमन्त्री हुनुहुन्छ । सँगसँगै जस्तै रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्छ । दुबै जना आउने निर्वाचनमा कांग्रेसलाई जिताउँछु भन्दै हुनुहुन्छ । दुबै नेता ७५ वर्ष हाराहारीको हुनुभयो । एउटा चुनाव भन्दा बढीको बोझ उहाँहरुलाई दिनुहुन्न । कांग्रेसमा अर्को १० वर्षको भविष्यप्रति आशा जगाउने जिम्मेवारी त ६० वर्षको हारहारिका नेताहरुको हो । मुलुकलाई समृद्धिको यात्रामा डोहोर्‍याउने दुरदृष्टि विकास गर्ने र यसमा जनताका विश्वास आर्जन गर्ने जिम्मेवारी यसै समूहले लिनुपर्छ ।

कांग्रेसको र हाम्रो मुलुककै समाजिक सोचलाई पनि ध्यानमा राख्ने हो भने कांग्रेसको यो जमात मध्ये पनि पार्टीका प्रेरणादायी संस्थापक नेताहरुको वंश परम्पराका समेतको उत्तराधिकार प्राप्त नेताहरुको सम्भावना वढी छ, उनीहरुप्रतिको आशा पनि बढी छ । समय र चुनौतीको कसीमा उनीहरुको परीक्षा हुनेछ । उनले नसके राष्ट्रिय चिनारी बनाइसकेका ५० वर्ष पुगि नसकेका कांग्रेसका युवा नेताहरुले पालो पर्खि राख्लान जस्तो छैन । राष्ट्रिय विकासको झण्डै २० वर्षे दिर्घकालीन रणनीतिसहित कांग्रेसप्रतिको समर्थन र आम नागरिकको भरोसा र विश्वास जित्ने समय र सम्भावना यो समूहसँग अझ बढी छ । यो तीन वटा उमेर समूहको सोझो होइन, तर विशिष्ट तवरले विकसित हुँदै गएको प्रतिस्पर्धालाई झन्झट होइन, भविष्यमुखी बनाउन सकियोस् । देश र जनतालाई आश्वस्त तुल्याउन सकियोस् र कांग्रेस फेरि जनताको सबैभन्दा प्रिय पार्टी बनाउन सकियोस् ।

(कांग्रेस केन्द्रीय सदस्य रिजालसँग गरिएको कुराकानीमा आधारित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment