Comments Add Comment

एमाले सम्बद्ध युवा संघको महाधिवेशन असोज २२ मा

सातै प्रदेशका संयोजक तोकिए, परशुराम बस्नेतलाई प्रदेश १ को जिम्मा

२२ साउन, काठमाडौं । एमाले सम्बद्ध युवा संघको नवौ महाधिवेशन असोज २२ देखि काठमाडौंमा गर्ने निर्णय भएको छ । युवा संघ नेपालको आइतवार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।

२ वर्षअघि नै हुनुपर्ने महाधिवेशन युवा संघभित्रको विवादका कारण पटक-पटक सर्दै आएको थियो । ०७० साल फागुनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता युवा संघको महाधिवेशन हुन सकेको थिएन ।

यसबीचमा बस्नेतले राजिनामा दिएर निरु पाल अध्यक्ष भएपनि दिलु पन्त पक्षले अश्वीकार गरेपछि राजिव पहारीलाई अध्यक्ष बनाएर महाधिवेशन गर्ने जिम्मा पार्टीले दिएको थियो ।

पन्त पक्षले महाधिवेशनको मिति तोक्न पहारीमाथि दबाव दिइरहेको थियो । यसबीचमा २ नम्बर प्रदेशको चुनाव परेकाले असोज अन्तिममा काठमाडौंमा महाधिवेशन हुने कटुवालले बताए ।

युवा संघले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई युवा संघबाट बिदा गर्नेबारे पनि छलफल भइरहेको छ । जनताको काममा व्यस्त हुनुपर्ने भएकाले नेतृत्वबाट विदा दिन थालिएको हो ।

युवा संघका उपाध्यक्ष अशोक चन्द कन्चनपुरको बेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्ष हिदम लामा मकवानपुरको भिमफेदी गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् ।

बैठकले ७ प्रदेशका संयोजक र सहसंयोजक पनि चयन गरेको छ । जस अनुसार प्रदेश नम्बर १ को संयोजकमा परशुराम बस्नेत र सहसंयोजकमा हिमाल लिम्बु चयन भएका छन् ।

त्यस्तै प्रदेश नम्बर २ मा मन्जु यादव र राममणी मिश्र, प्रदेश नम्बर ३ मा प्रकाश गौतम र नितेश पौडेल, प्रदेश नम्बर ४ मा क्रान्ति बुर्लाकोटी र शिव पौडेल चयन भएका छन् ।

प्रदेश ५ मा मनोहर बुढाथोकी र सरिता श्रीस मगर, प्रदेश नम्बर ६ मा हस्ता शाही र नृपेन्द्र महत तथा प्रदेश ७ मा नरेश शाही र गजेन्द्र शाही संयोजक एवम् सहसंयोजक तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment