शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

भरतपुर महानगरमा एमालेले गरेका १२ गल्ती

सर्वोच्च अदालत नगएको भए एमालेले जित्न सक्थ्यो

सुवास पण्डित

भरतपुर महानगरपालिका देशकै मध्यभागमा रहेको र अनगिन्ती सम्भावनाहरू भएको महानगरपालिका हो । अझै यसलाई ‘भविश्य नभत्किएको’ महानगरपालिकाका रुपमा लिन सकिन्छ ।

भूगोल, बसोवास, जनसंख्याको ‘कम्पोजिसन’ प्राकृतिक स्रोत साधनहरूको उपलब्धता आदि कारणले भरतपुरलाई भनेको जस्तो आकारमा ढाल्न सकिन्छ । सम्भवतः भरतपुर नै अति छोटो समयमा नगरपालिकाबाट उपमहानगरपालिका र महानगरपालिका बन्ने भाग्यमानी शहर हो ।

भरतपुर महानगरले पहिलो मेयर पाउँदै थियो । तर, यसवीचमा के-के घटनाहरू भए, त्यो सबैलाई विदितै छ । भरतपुर महानगरमा कांग्रेस र माओवादीको गठवन्धन थियो, एमालेका बिरूद्धमा । कांग्रेस र माओवादीको मतलाई जोड्दा एमालेको सिँगौरीले केही लाग्थेन । तर पनि एमाले कांग्रेस-माओवादी गठवन्धनलाई चिर्दै जित हात पार्ने दाउमा थियो । कांग्रेसका मेयर उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराउने कामले कांग्रेसभित्र पैदा भएको आक्रोशको ज्वालामा रोटी सेक्न एमालेका लागि सहज वातावरण बनेको थियो ।

चितवन जिल्लाका लागि खासै परिचित नरहेकी रेणु दाहालका अघिल्तिर एमाले उम्मेदवार देवी ज्ञवालीको उचाइ निकै अग्लो थियो । एमालेको संगठन भरतपुर महानगरमा मजबुद थियो । क्षेत्र नं ५ बाट भरतपुर महानगरमा मिसिएका साविकका ५ गाविसहरु एमालेका लागि सहज थिए । तर, यति हुँदाहुँदै पनि महानगरमा एमाले पराजित बन्यो कसरी ? कहाँ कहाँ चुक्यो एमाले ? यस्ता प्रश्नहरूको घोत्लिएर एमाले वृत्तमा समीक्षा हुन जरुरी छ ।

भरतपुर महानगरपालिकाको बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा वडा नं १९ को मतपत्र माओवादी कार्यकर्ताले च्याते । ७८४ मतको अग्रता लिएर वडा नं १८ बाट १९ मा प्रवेश गरेका ज्ञवालीले वडा नं १९ को १८ सय मत गणना गर्दा जम्मा ५१ मत मात्रै ‘लस’ गरेका थिए । उनीसँग ७३३ मतको मात्रै अग्रता बाँकी थियो । १९ नम्वर वडाको मतगणना गर्न करीव १ हजार बाँकी थियो । थप एक हजार मतमा अधिकतम १ सय मत नै देवीले तिर्न परे पनि वडा नं १९ पार गर्दा उनको अग्रताबाट बढीमा १५० मत घट्थ्यो । ६३४ मत उनीसँग अग्रतामा कायम हुन्थ्यो । यो मत वडा नं २० को गणनामा जितका लागि पर्याप्त थियो । उनले वडा नं २० मा जम्मा ४२४ मत तिरेका छन् । २ सय प्लसमा उनको जित लगभग निश्चित थियो ।

तर, मतपत्र च्यातिनु देवीका लागि दुर्भाग्य बन्यो । तैपनि मतपत्र च्यातिएको घटनाक्रमको प्रकृया गुजारेर पुनः निर्वाचनमा जाँदा पनि देवी ज्ञवालीले जित्न सक्ने आधार थिए । तर, २०३ मतबाट देेवी ज्ञवालीलाई पराजित हुनबाट जोगाउन सक्ने अवस्थामा एमालेले केही कमी कमजोरी गर्‍यो ।

आखिर एमाले कहाँ-कहाँ चुक्यो ? यसमा केही चर्चा गरौं ।

१. उम्मेदवारी चयनमा कमजोरी

एमालेको नवौं जिल्ला अधिवेशन गएको मंसिरमा भएको थियो । एमालेभित्रका स्वाभाविक दुई गुटको प्रतिस्पर्धा अधिवेशनमा भयो । एमालेभित्रको माधव नेपाल समूहले जिल्ला अधिवेशनमा क्लिन स्वीप जस्तै गर्‍यो । पार्टी सचिव र २ सदस्य बाहेक सबै पदाधिकारी र सदस्य माधव नेपाल समूहका विजयी भए । पार्टी अध्यक्ष केपी ओलीको समूह पराजित भयो ।

गुटगत रुपमा बाँडिएका कार्यकर्ताहरु संग्लिन केही समय लाग्यो । तर, स्थानीय निर्वाचनका सन्र्दभमा केही स्थानबाहेक एमालेभित्र त्यस्तो गुटवन्दी देखिएन । केपी ओलीले जसरी पनि एमालेले जिताउने अभियान छेडेका कारण पराजित नै भए पनि केपी ओली समूह निर्वाचनमा जिल्ला नेतृत्वलाई सहयोग गरेर नै अघि बढ्यो ।

जस्तै-माडी नगरपालिकाका मेयर आकांक्षी श्याम बिष्टको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाइएन । नगरपालिकाहरुको मेयरको टुंगो प्रदेश कमिटीले लगाउने पार्टीको निर्णय नै थियो । जिल्ला कमिटीले नारादमणि पौडेलको नाम मात्रै पठायो । तर, बलिया आंकाक्षी उम्मेदवार बिष्ट विना हिच्किचाहट र गुनासो जिल्ला पार्टीको निर्णयलाई स्वीकार्दै भोलिपल्टबाट नै पौडेलको प्रचारमा खटिए । बिष्ट केपी ओली समुहका नेता हुन् भने पौडेल माधव नेपाल समूहका । पूर्वका सबैजसो नगरपालिकाका मेयर र उपमयेरमा जिल्ला नेतृत्वले गुटगत व्यवस्थापन गरेको थियो । तर, महानगरका केही वडाहरूमा भने गुटको हावा बढी लाग्यो ।

सर्वसम्मत भएका वडा बाहेक अन्यत्र तजविजका आधारमा वडाध्यक्षहरूको चयन गरियो । जस्तो कि, तत्कालीन नारायणी नगर कमिटीका अध्यक्ष वडाध्यक्ष उठ्छु भन्दा पनि टिकट पाएनन् । अन्यत्र केही वडामा पनि सन्तुलन मिलाइएन ।

एमालेको गढ मानिएको साविक कविलास गाँउपालिकाका हाल २९ नम्वर वडामा कांग्रेस-माओवादीको गठवन्धन बन्यो । कांग्रेसबाट वडाध्यक्ष उठेका सूर्यबहादुर गुरुङ एमालेबाट वडाध्यक्ष बन्न चाहान्थे । तर, स्थानीय चल्तापूर्जा नेता धनकीलाल गुरूङले मानबहादुर रानामगरलाई वचन दिएको हुनाले अरूलाई बनाउन नसकिने अडान लिए । धनकीलालले बोलेपछि जिल्ला नेतृत्वले दायाबाँया गर्न सक्ने अवस्था नै रहँदैन । जिल्लाले यताउता चलाएको भए वडामा एमालेको पराजय पक्का थियो । धनकीलाललाई सम्झाएर सूर्यबहादुर गुरूङलाई उम्मेदवार बनाएको भए न त कांग्रेस-माओवादी गठवन्धनकै सम्भावना थियो, नत कांग्रेसले टक्कर दिने अवस्था नै आउथ्यो । त्यहाँ जम्मा ४२ मतले एमालेले वडाध्यक्ष जित्यो । जुन फरक अलि ‘च्यातिन’ आवश्यक थियो । यही कारण वडा नं २९ बाट एमालेले सोचेजस्तो मत ल्याउन सकेन ।

त्यसैगरी वडा नं २५ मा वडाध्यक्ष बाहेकका सबै सदस्य एमालेले जितेको छ । महानगरका २९ मध्ये १४ वटा वडा जितेको एमालेलाई महानगरपालिकामा बहुमत पुग्नबाट यही २५ नं वडाले रोक्यो । उम्मेदवारी चयनमा नेतृत्वले विवेक नपुर्‍याउँदा र स्थानीय रुपमा पार्टी कमिटीलाई विश्वासमा लिन नसक्दा एमालेले आफैंभित्रबाट धोका पाएको छ ।

२. माओवादीलाई वडाध्यक्ष छाड्नु

भरतपुर महानगरको मेयर र उपमेयरमा कांग्रेस-माओवादीले गठवन्धन गरेका थिए । तर अचम्म के थियो भने, महानगरको वडा नं २६ मा चाहिँ एमाले र माओवादीको गठवन्धन भयो । माओवादीका चुतर खेलाडी मानिएका ज्ञानप्रसाद खनालले ‘फस्ल्याङ फुस्लुङ’ पारेर एमालेका वडाध्यक्ष उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न लगाए । ४ जना वडा सदस्य एमालेलाई दिने र वडाध्यक्षमा माओवादीका उनै उम्मदेवार ज्ञानप्रसादलाई समर्थन गर्ने सहमति भयो । यसरी २६ नम्वर वडामा ‘मियो बिनाको दाइ’ भयो ।

यो वडामा एमालेको नेतृत्व गरेर जनताका वीचमा मेयर र उपमेयरलाई भोट मागिदिने मान्छे नै भएन । एमालेलाई खनालले यस्तो जालमा हालिदिए कि एमालेका सबै मतदाताले खनाललाई भोट हालेर जिताए । तर, माओवादीले मेयरमा भने देवी ज्ञवालीको साटो रेणु दाहाललाई नै भोट हाले । एमालेले गरेको यो भन्दा कच्चा काम अरु हुनै सक्थेन ।

यसरी माओवादी उम्मदेवारसँग सहमति गरेर वडाध्यक्ष त्याग्ने भूपाल कँडेललाई अहिलेसम्म एमाले नेतृत्वले कारवाही गरेको छैन । एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जिल्ला नेतृत्वको सहमति बेगर उम्मेदवारी फिर्ता लिइएको बताउँदै आएका छन् । ‘यो समीक्षाको बिषय बन्यो,’ एमाले जिल्ला उपाध्यक्ष खड्का भन्छन्, ‘समीक्षापछि दोषीमाथि कारवाही हुन्छ ।’

एमालेका लागि २६ नम्बरमा वडाध्यक्ष माओवादी वा कांग्रेस जसले जितेपनि खास अर्थ थिएन । मेयरमा कसरी बढी भोट झार्ने भन्नेमा उसले ध्यान दिनुपर्ने थियो । एमाले जिल्ला नेतृत्वले वडाध्यक्षमा कांग्रेसलाई समर्थन गरिदिने र कांग्रेसले मेयरमा एमालेलाई मत दिने सहमति जिल्ला नेतृत्वले गर्न सक्थ्यो । तर, त्यो गरेन वा गर्न चाहेन । यो एमालेको सबैभन्दा ठूलो कमजोरी रह्यो ।

रेणु दाहालले वडा नं २६ बाट मात्रै १५४९ मत थपिन् जहाँबाट देवीले ८९६ मत मात्रै प्राप्त गरे । र, यहीँबाट ६५३ मतले एमाले पछि पर्‍यो । यहाँबाट एमालेले मेयरमा कम्तिमा पनि दुई चारसय सय मत सजिलै थप्न सक्थ्यो । तर, माओवादी वडाध्यक्ष उम्मेदवारको पछि लाग्दैमा एमालेका स्थानीय नेतालाई ठिक्क भयो । पार्टी कमाण्ड सम्हाल्ने मान्छे नै भएन ।

३. वडाध्यक्ष जितेकै ठाँउमा देवीलाई दण्ड

एमालेले महानगरका वडा नं २२ र २३ मा जित्यो । तर, यी जितेका वडाबाट मेयरलाई मत प्लस हुनुपर्ने मा देवीले उल्टै त्यहाँ मत तिरेका छन् । वडा नं २२, २३ बाट एमालेले प्यानलसहित वडाध्यक्ष जितेको छ, तर १५३ मत मेयरमा रेणुलाई तिर्नुपरेको छ, जसले देवीको अग्रता घटाउन सहयोग गर्‍यो ।

आफूले प्यानलै जितेको वडा नं २३ मेयरमा एमालेको ८७ मत कम पाएको छ । जवकि वडा नं २८ मा एमालेले चुनाव हार्दा पनि ४ सयभन्दा बढी मत देवी ज्ञवालीलाई प्राप्त भएको थियो । यसको अर्थ के हो भने एमालेका वडाध्यक्षहरूले आफूलाई केन्दि्रत गरे, देवीका लागि मत माग्न जोड गरेनन् । देवीलाई मत माग्न जाने समय पर्याप्त समय थिएन । वडाध्यक्ष वडाध्यक्ष मात्रै बने, देवीका कार्यकर्ता बन्न सकेनन् ।

४. अपेक्षा गरिएका वडाबाट कम मत आउनु

भरतपुर महानगरमा एमालेले वडा नं १, २, ३ र ४ बाट मेयरमा वडाध्यक्षले भन्दा बढी नै मत पाएको छ । वडा नं १ कांग्रेसले जितेपनि देवीले एमाले वडाध्यक्षले भन्दा ३५० मत पाए । देवीले वडा नं २ बाट विजयी एमाले वडाध्यक्षले भन्दा दोब्बर बढी, १९४४ मत बढी पाए । तर, एमालेका गढ भनिएका वडा नं १०, १२ र १६ बाट देवीलाई अपेक्षाकृत मत आएन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रेणु दाहाल र एमाले मेयर उम्मेदवार देवी ज्ञवालीको घर रहेको वडा एउटै हो-वडा नं ४ । तर, यो बडाबाट देवीले जुन अनुपातमा बढी मत ल्याउने सोचेका थिए, त्यति आएन ।

वडा नं १० मा देवीले वडाध्यक्षको भन्दा जम्मा १२० मत मात्रै बढी पाए । बढी मतको फरकले जित्ने भनिएको वडा नं २९ मा एमाले उम्मेदवार मानबहादुर रानामगरले जम्मा ४२ मतको फरकले प्यानलसहित चुनाव जिते । तर, यहाँबाट पनि देवी ज्ञवालीलाई अपेक्षा गरेअनुसारको मत आएन । वडाध्यक्ष रानाको भन्दा जम्मा ९७ मत मात्रै देवीको बढी आयो । यहाँबाट २ सय मतको फरक हुनुपर्ने थियो ।

त्यस्तै, वडा नं ६ मा एमाले अति नै कमजोर देखियो । यहाँ एमाले तेस्रो भयो । वडा नं ७, ८ र ९ बाट पनि देवी ज्ञवालीको पक्षमा आशातीत मत आएन । पुनं मतदान भएको वडा नं १९ मा पनि वडाध्यक्षको भन्दा केही बढी मत देवीलाई कम आयो ।

महानगरका वडा नं १०, ११, १२, २८ र २९ बाट महानगरका पश्चिमी वडाहरु -कांग्रेस बाहुल) मा जाँदा कम्तिमा पनि देवीसँग ५ हजारको अग्रता हुनुपर्दथ्यो । तर, त्यो अग्रता जम्मा ३८३३ मत सीमित बन्यो, जसले गर्दा देवी २०३ मतले पराजित बन्न पुगे ।

५. कांग्रेसको असन्तुष्टिलाई ‘क्यास’ गर्न नसक्नु

सुरुमा एमालेमाथि कांग्रेसको सहानुभूतिको मत थियो । र, त्यो मत स्वतः प्राप्त हुने एमालेको विश्वास थियो । कांग्रेसको असन्तुष्टिमा खेल्ने योजना एमालेसँग खासै थिएन । केही असन्तुष्टहरु फर्किएर रेणु दाहाललाई भोट माग्न थाले ।

जस्तो कि कांग्रेसबाट मेयरका उम्मेदवार बनेका दिनेश कोइरालाले समेत वडा नं ६ मा पुगेर रेणुका पक्षमा मत मागे । अघिल्लोदिनसम्म कुनै पनि हालतमा माओवादीसँग एकता गर्न हुँदैन भनेर मुर्मुरिएका कांग्रेसका जिल्ला नेताहरु समेत गठबन्धनकै पक्षमा लागे ।

एमालेले आफ्नो जितका लागि उनीहरुलाई गठवन्धनका विरुद्धमा खडा गराइरहन जरुरी थियो । एमाले यसमा पनि चुक्यो । उनीहरुलाई कहाँ प्रयोग गर्ने नीति एमालेले बनाउन सकेन ।

६. निष्प्रभावी महानगर कमिटी

एमालेले जिल्ला पार्टी अध्यक्षको नेतृत्वमा निर्वाचनको पूर्वसन्ध्यामा भरतपुर महानगर कमिटी बनाएको थियो । यो कमिटी जति जम्बो थियो, काम भने त्यति जम्बो गर्न सकेन ।

निर्वाचनको योजना र रणनीति निर्माण तदनुसारको जिम्मेवारी प्रदान र त्यसको अनुगमन र मूल्याङकन, कमीकमजोरी औंल्याएर सुझाव लिने काम भएन । ‘राइट म्यान राइट प्लेस’ को अवधारणा लागु गरिएन ।

निर्वाचनका लागि पार्टी नेता कार्यकर्ता त लागेका थिए, तर योजना व्यवस्थित थिएन । महानगर कमिटीको सचिवालयले बैठक राखेर योजना निर्माण गर्न जिम्मेवारी वाडफाँड गर्न असफल बन्यो । जिल्ला पार्टी प्रचार विभागले एउटा पनि बैठक राख्न सकेन । बनेको विभाग निस्प्रभावी रह्यो ।

७. राप्रपासँग तालमेल नगर्नु

कांग्रेस र माओवादी गठवन्धनका वीचमा तालमेल भएपछि एमालेले भरतपुर महानगरपालिकामा राप्रपासँग तालमेल गरेको भए वडा नं १९ मा पुन मतदान भए पनि एमाले पराजय हुने सम्भावना कम हुने थियोे ।

राप्रपाका ७ हजार मत मध्ये २ हजार मत नै एमालेको पक्षमा आएको भए पनि एमालेको जित सहज थियो । तर, एमालेको भरोसा पनि उपमेयरमा भन्दा मेयरमा नै थियो । मेयरमा फराकिलो अग्रता देवीको कायम हुने अवस्था भएको भए माओवादीले मतपत्र च्यात्ने दुस्साहस पनि गर्न सक्ने अवस्था आउने थिएन । या च्याते पनि पुन मतदान हुँदा एउटा वडाले देवीको अग्रतालाई रोक्न सक्ने थिएन ।

राप्रपाका जिल्ला अध्यक्ष समेत रहेका मेयरका उम्मेदवार बदि्र तिमिल्सिना उपमेयरको उम्मेदवार बन्न तयार थिए । तर, यसबारे एमालेले गृहकार्य नै गरेन । काठमाण्डौं महानगरपालिकामा राप्रपासँग तालमेल गर्न तयार भएको एमाले भरतपुरमा भने अनिच्छुक देखियो ।

८. कार्यकर्ता परिचालन सही ढंगले गर्न नसक्नु

एमाले कार्यकर्ताहरु अरु दलका भन्दा व्यवस्थित देखिन्छन् । सांगठनिक संरचनामा व्यवस्थित भएर बस्ने जमात अन्य दलसँग भन्दा एमालेसँग बढी छ । दुई प्रमुख दल कांग्रेस माओवादी गठवन्धनले आथ्थु आथ्थु पार्दा समेत त्यसको असरलाई कम गराउन यही कार्यकर्ता पंक्ति रक्षाकवज बन्ने गरेको छ ।

तर, एमालेले चितवनमा कार्यकर्ता परिचालन सही ढंगले गर्न सकेन । पार्टी भित्रका आन्तरिक प्रतिस्पर्धामा र गुटगत लडाईमा तँछाडमडाड गरेर उत्रिने कार्यकर्ता र बनाइने योजना महानगरमा बन्न सकेन । परिभाषित जिम्मेवारीहरु मसिनो गरी निर्वाह गर्न गराउन नेतृत्व चुकेको देखियो ।

९. सर्वोच्च अदालत जानु

वडा नं १९ को मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनं निर्वाचन गर्ने निर्णय गर्‍यो । तर, यो निर्णयका विरुद्ध एमाले सर्वोच्च अदालतमा गयो ।

सर्वोच्चले समय गुजारेर रेणु दाहाललाई वडा नं १९ मा चुनावी तयारी गर्ने मौका दियो । एमालेले नै अदालत गुहारेपछि सर्वोच्च अदालतले रेणु दाहाललाई खेल्ने प्रशस्त समय दियो । सर्वोच्च अदालत जान छाडेर तत्कालै चुनावमा गएको भए मतपत्र च्यात्नेहरुका विरुद्धको ‘सेन्टिमेन्ट’ देवीलाई प्राप्त हुन सक्थ्यो ।

तर, एमालेले बुझेको सत्य के थियो भने सर्वोच्च अदालतले पुनं मतदानका लागि फैसला नगर्ला । पुनः मतदानमा जाँदा विपक्षीहरू खेल्ने र जे पनि हुन सक्ने भएकाले जीत सुनिश्चित भएको मतगणना नै एमालेका लागि सजिलो र सहज थियो ।

तर, निर्वाचन आयोगको निर्णयपछि माओवादी र कांग्रेस नेताहरु मत माग्न भन्दै वडा नं १९ मा ओइरिन थाले । रेणु दाहाल यहीँ डेरा जमाएर बसिन् । तर, एमालेले भने सर्वोच्चमा पुनं मतगणनाका लागि मुद्दा हालेकाले पुनंमतदानका लागि मत माग्न जान नैतिक रुपमा सकेन ।

योवीचमा कांग्रेस-माओवादीले आपसमा भएका असन्तुष्टिहरुलाई मिलाए । जसले जे भनेर, जो लगाएर फकाएर हुन्छ, त्यही गरेर फकाए । एमालेले कांग्रेसका विरुद्ध समेत केही प्रचार छेड्यो र मतदातालाई चिढ्याउने काम गर्‍यो, जसको नकारात्मक असर पर्‍यो ।

१०. वडा नं १९ एमालेका लागि प्रतिकुल हुनु

पश्चिम चितवनका केही वडाहरुमा एमालेको सांगठिनक आधार कमजोर छ । तर, प्रभाव बढ्दो छ । यहाँ माओवादी पनि कमजोर छ । कांग्रेसबाट खोस्न सकिने मतका आधारमा जित निर्धारण हुने हो । भरतपुर महानगरको यो विषय यस्तो वडामा लगेर फसाइयो जुन एमालेका लागि प्रतिकुल थियो । वडाध्यक्षका एमाले उम्मेदवार प्रकाश तामाङ युवा थिए र सशक्त थिए । उनी भएकै कारण देवीका लागि यस वडाबाट पहिलो चरणमा अपेक्षा भन्दा धेरै मत आएको थियो । ७८४ को अग्रता रहँदा अन्य वडामा जस्तै मत तिर्नुपरेको भए देवीको जीतको सम्भावना वडा नं १९ मै सकिन्थ्यो । जीतको सम्भावनालाई जीवित यसै वडाले राखेको हो ।

तर, जब पुनं निर्वाचनको निर्णय भयो, त्यसपछि कांग्रेसभित्रको अन्र्तद्वन्द्व र असन्तुष्टिहरूलाई मिलाउने काम भयो । सुरुमा एमालेलाई सहयोग गरेका स्थानीय कांग्रेस नेता आशबहादुर तामाङलाई निगरानी गरियो र उनलाई विभिन्न आश्वासन दिएर गठवन्धनकै पक्षमा हिँडाउने काम गरियो ।

सांगठनिक आधार कमजोर भएका १७, १८, १९ र २० नम्बर बाहेकका अन्य वडामा गएर यो विषय फसेको हुन्थ्यो भने गठवन्धनले जतिसुकै जे गरे पनि देवी ज्ञवाली २ सय मतान्तरले हार्ने अवस्था आउने थिएन ।

पहिलो चरण र दोस्रो चरणको स्थानीय निर्वाचनमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएकाले मत दिएर थप १ महानगर एमालेको पक्षमा थप्न कांग्रेस कार्यकर्ताले चाहेनन् । एमालेलाई मत दिनु भनेको कांग्रेसलाई थप कमजोर बनाउनु हो भन्ने आम बुझाइ बन्यो । एमालेले महानगरमा जरा गाड्यो भने कांग्रेसका दिन सकिन्छन् भन्ने प्रचार गरियो । त्यसैले कुनै पनि हालतमा एमालेलाई मत नदिने अवस्थामा वडा नं १९ का मतदातालाई पुर्‍याइयो । कांग्रेसका नेताले यसलाई प्रतिष्ठाको विषय बनाए ।

११. आफ्नै मतको सुरक्षा गर्न नसक्नु

भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना चलिरहँदा माओवादीले मतपत्र च्यात्छन् भन्ने विषय हावासरी फैलिएको थियो । यो विषय एमालेको जिल्ला नेतृत्वलाई पनि रामै्रसँग जानकारी थियो । एमालेको सम्भावित जित र माओवादीको हारभित्र हुन सक्ने सम्भावित घटनालाई रोक्न चनाखो बन्नुपर्दथ्यो, तर बन्न सकेन ।

माओवादीले मतपत्र च्याँत्दै छन् भन्ने सूचना एमालेका नेतालाई पुगिसकेपछि सोही अनुसारको सुरक्षा रणनीति बनाउने र माओवादीका एजेन्टहरु माथि निगरानी बढाउन प्रहरी प्रशासनलाई भन्ने र तोकिएको संख्यामा भन्दा बढी माओवादी कार्यकर्तालाई मतगणनास्थलभित्र प्रवेश गर्न नदिने काम एमालेले गर्नुपर्ने थियो । तर, एमाले एजेन्टहरुले माओवादीकै आडमा बसेर पनि उसका गतिविधिलाई ‘रेकी’ गर्न सकेन ।

मतगणनाका क्रममा अधिकांश समय गणनास्थलमा बसेका एमालेका युवा नेता साकार लामा सम्झन्छन् ‘माओवादीले मतपत्र च्यात्दै छन् भन्ने सूचना मैले मुख्य निर्वाचन अधिकृत, प्रहरी प्रमुख, एमालेका जिल्ला अध्यक्षसहितका नेतालाई पहिल्यै दिएको थिएँ । त्यो अनुसार सर्तकता बढाउन भनेको थिएँ । तर, भन्दाभन्दै घटना भयो, एमालेले रोक्न सकेन, तुरुन्तै केही एक्सन हुनुपर्दथ्यो’ ।

यो सम्भावित घटनाका विषयमा केही सञ्चारकर्मीहरुले समेत प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले यसलाई गम्भीतापूर्वक लिएन । डीएसपी स्वंयलाई जानकारी गराइएको थियो । तर, उनले त्यसलाई टारे ।

१२. राज्य सत्ताको दुरुपयोग रोक्न नसक्नु

माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहालकी पुत्री भएकै कारणले रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएकी हुन् । यही कारणले नै भरतपुर महानगरमा बलियो कांग्रेसले तेस्रो पार्टीका अध्यक्षकी छोरीलाई मेयर पदमा सर्मथन गरेको हो ।

रेणु दाहाल को हुन् भन्ने बारेमा सायदै भरतपुर महानगरका मतदाता परिचित थिए । जसरी पनि रेणु दाहाललाई जिताउनु पर्छ भनेर प्रचण्ड लागेका थिए । कारण उनलाई कांग्रेससँग मिलेर छोरी जिताउनु थियो । उनी सत्तामा थिए । त्यसका लागि राज्य सत्ताको सबै शक्ति भरतपुर केन्दि्रत थियो ।

पछिल्ला समयमा चितवनको भरतपुर केन्दि्रत बजेट यसकै उपज हो । प्रहरी प्रशासनदेखि मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोग सवैतिर प्रभावित पारिएको थियो । विना लगत इष्टिमेट निर्वाचनका बेलामा वडा नं १९ मा पैसा खन्याउने काम गरियो । मतदाताहरुलाई विभिन्न आश्वासन दिने, करोडौं रकम रकमान्तर गरी खर्च गर्ने काम भयो ।

स्थानीय आमा समुहहरु ५ वटाबाट पैसा लिनकै लागि २३ वटा पुर्‍याइए । विभिन्न स्थानीय क्लवहरु, स्थानीय युवाहरु, विभिन्न समूह र संस्थाहरु रकम लिनबाट सायदै बञ्चित थिए । यो सबै हर्कतलाई रोक्न एमालेले चाहेर पनि सकेन वा पहुँच पुगेन जसको कारणले पराजय हुन पुग्यो ।

महानगरमा अब एमालेको भूमिका

एमालेले महानगरको मेयरमा विजयी रेणु दाहाललाई स्वाभाविक मेयर नमान्ने संकेत दिइसकेको छ । एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले रेणुको जितलाई अस्वाभाविक र अप्राकृतिक भनेका छन् । एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा देवीले भने, ‘अस्वाभाविक जित नभएको भए म आफैंले रेणु दाहाललाई सबैभन्दा पहिले फूलमाला लगाएर बधाइ दिने थिएँ ।’

तर, सपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेर रेणु बिरुद्ध एमालेले असहयोगको नीति अख्तियार गर्न शुरु गरेको छ । ध्रुवीकरण बढाएको छ । एमालेले सहज र सरल तरिकाले रेणुलाई यसै छाड्ने अवस्थामा नरहेको जनाउ दिइसकेको छ । वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीले एमालेसँगको सहमति, सहकार्यविना वा एमालेलाई अण्डर इष्टिमेट गरेर अघि बढ्न खोजे त्यो दुर्भाग्य हुने चेतावनी दिएका छन् ।

मेयर रेणु दाहालले अब निर्वाचनका तमाम जायज नाजायज घटनाबाट चिढिएको एमालेलाई थप बिच्काउने नभई विश्वासमा लिएर काम गर्नुपर्छ । एमालेको पछिल्लो प्रतिक्रिया र भूमिकालाई स्वाभाविक रुपमा लिँदै विषयलाई मथ्थर बनाउने काम दाहालबाट हुनुपर्दछ । प्रचण्डपुत्री भएको र अनेक खालका तागत लगाउन सक्ने खुबी भएको घमण्ड उनीभित्र पलाएमा बाँकी रहेको ४ वर्ष ९ महिनाको अवधि उनका लागि जोखिमयुक्त हुनेछ ।

एमालेले पनि अब सधैं एउटै कुरालाई मात्रै उठाउनु भन्दा सहकार्य गरेर महानगरको विकासका जुटनुपर्छ । महानगरमा जनताको प्रतिनिधि भएर रचनात्मक र सिर्जनात्मक खुवी देखाउनु र भूमिका खेल्नु एमालेका लागि श्रेयष्कर हुनेछ ।

२०७४ साउन २४ गते १३:१४ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • Abc लेख्नुहुन्छ    |   २०७४ साउन २४ गते १३:२५

    yo saba hawa kuraho sale jasle pani lekhyo 2 party milera harda pani dhdali garara jitaunda pani aghai thukka lekhak saram na bhako ta pani

    54
    23
    Share

  • rajen लेख्नुहुन्छ    |   २०७४ साउन २४ गते १४:३५

    काग धेरै बाठो भयो भने गू खान्छ भनेको यहि हो / बाठो धुर्त स्याल तिन बल्ढ्याङ्ग भनेको यहि हो/

    64
    67
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन २५ गते ११:२३

    AND
    Related to Bharatpur defeat –
    1. UML joined with Mafia and has been shouting Dr. KC movement with very terrible logic.
    2. UML is still run by the $$$$$$ KHETI NGO/INGO fund
    3. UML damn cars about people and their overall development
    4. No idea about how to make positive change.UML was busy just disbursements of collected fund, but no idea how to generate/collect more revenue and funds.

    8
    7
    Share

  • KB Gurung लेख्नुहुन्छ    |   २०७४ साउन २५ गते २०:३४

    Yo lekhakle pani Oli ko hawa boli khaaye jasto chha, tainatuiko lekhaie…

    6
    2
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this