Comments Add Comment

कांग्रेस सांसद मल्लमाथि कारबाही, चुनावमा अन्तरघात गरेको आरोप

रुकुम कांग्रेसमा यसरी मच्चियो खैलाबैला

२४ साउन, रुकुम । नेपाली कांग्रेस रुकुमले सांसद तथा पूर्वराज्यमन्त्री मिठ्ठु मल्ललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार हराउन र माओवादीलाई जिताउन भूमिका खेली अन्तरघात गरेको भन्दै पूर्व सहरी विकास राज्यमन्त्री एवं सांसद मल्लमाथि कारबाही गरिएको कांग्रेस रुकुमले जनाएको छ ।

कांग्रेस रुकुमले मल्लसहित २१ जनालाई कारवाही गरेको छ । कारबाही परेका सबैमाथि गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

एक सातासम्म चलेको जिल्ला समिति बैठकले सांसद मल्लसहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ भने १४ जनालाई ३ दिनको समय दिएर थप स्पष्टीकरण सोधेको छ ।

कांग्रेस जिल्ला कमिटीले अन्तरघात गरे नगरेको विषयमा जाँचवुझ गर्न अनुशासन विभाग गठन गरेको थियो । अनुशासन विभागले गरेको सिफारिसका आधारमा सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला सदस्य विष्णुप्रकास खड्का, क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रिय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको नेपाली कांग्रेस रुकुमले जनाएको छ ।

स्थानीय निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते अनुशासन विभागले २५ जनालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुमध्ये चार जनाले लिखित स्पष्टीकरण दिएको र त्यो चित्तबुझ्दो भएकाले उनीहरुलाई सफाइ दिइएको अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले बताए ।

सांसद मल्लको साधारण सदस्यता जिल्लाले खारेज गर्न नमिल्ने भएकाले सदस्यता खारेजका लागि केन्ऽमा सिफारिस गरिएको छ । त्यस्तै, जिल्ला सदस्य बिष्णुप्रकाश खड्का भने निर्वाचनअघि नै नेकपा माओवादी केन्ऽमा प्रवेश गरिसकेका छन् ।

विवादको अन्तरकथा

कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भए पनि रुकुममा अहिलेसम्म आन्तरिक एकता हुन सकेको थिएन । कोइराला पक्ष र देउवा पक्षका रुपमा काम गरेको लिगेसी कांग्रेस भित्र जिउँदै थियो ।

देउवा पक्षको विरासत धानेका गोपालजीजंग शाह कोइराला क्याम्पमा छिरेपछि कृष्णबहादुर रोकायले देउवा पक्षको बिँडो थामेका थिए ।

देउवा पक्षमा रहेकी सांसद मिठ्ठु मल्ल समानुपातिक सभासद पाएसँगै कोइराला क्याम्पमा छिरेको काँग्रेस वृतमा चर्चा छ ।

रुकुम कांग्रेसमा कोइराला क्याम्पका प्रेमप्रकाश ओली सभापति भएपछि विरक्त भएका देउवा पक्षीय नेताहरु लगभग पलायनको अवस्थामा पुगेका थिए । त्यसमा पनि आफ्नो पक्षका नेताहरु धमाधम कोइराला समूहतिर डेरा सर्न थालेपछि देउवा पक्षमा झनै निराशा थपिएको थियो ।

तर, जव पार्टीको सभापतिमा देउवाको उदय भयो । रुकुम कांग्रेसमा खैलाबैला मच्चियो । देउवा पक्षकाहरुसँग आशाको सञ्चार भयो भने कोइराला पक्षका नेताहरु देउवा क्याम्पमा सर्ने उपयुक्त मौकाको खोजी गर्न थाले । यसकै परिणामस्वरुप अहिले रुकुम कांग्रेसमा को कता हो भन्ने समेत ठम्याउन गाह्रो भएको कांग्रेसकै नेताहरुले बताउने गरेका छन् ।

चुनावमा असहयोग

जिल्लामा कांग्रेसको पकडका रुपमा रहेको सदरमुकामस्थित मुसिकोट नगरपालिकामा मेयरका आकांक्षीहरु धेरै थिए । मिठ्ठु मल्लकै छिमेकी तथा आफन्त पनि मेयरका आकांक्षी थिए । तर टिकट पाए देउवा पक्षीय महेन्द्र केसीले । अनि यहीँबाट सुरु भयो असहयोगको श्रृंखला । अन्ततः महेन्द्र केसीले थोरै मतान्तरले हार्न पुगे ।

आरोपः माओवादीलाई सघाएकोदेखि फेसबुकबाजी गरेकोसम्म

चुनावमा हारको दोष अहिले सांसद मल्लमाथि लागेको छ । मिठु मल्लले चुनावमा विपक्षी उम्मेदवारलाई जिताउन साम दाम प्रयोग गरेको कांग्रेसजनको आरोप छ ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’की छिमेकी समेत रहेकी मल्लले शर्मासँग साँठगाँठ गरी माओवादी केन्द्रका उमेद्वारलाई जिताउन भूमिका खेलेको आरोपमा उनलाई कारवाही गरिएको कांग्रेस नेता बताउँछन् ।

आफूलाई राज्यमन्त्री बनाउन लविङ्ग गरिदिएको भन्दै जनार्दनको गुन तिर्न शर्माका दाजु देविलाल गौतमलाई जिताउन सहयोग गरेको सांसद मल्लमाथि आरोप छ ।
कांग्रेसले मल्लमाथि जनार्दन शर्मालाई फोन गरेर देविलाल दाईलाई जिताउन आफुले हदैसम्म प्रयास गर्छु भनी बेलाबेला भन्ने गरेको आरोप पनि छ ।

पार्टीका क्षेत्रीय प्रतिनिधि शिव आचार्यमाथि भने बेलाबेला पार्टी नेतृत्व विरुद्ध फेसबुकमा टीकाटिप्पणी गरेको र स्थानीय तहको निर्वाचनमा गलत भूमिका खेलेको आरोप छ ।

कार्वाहीमा परेका आचार्य कृष्ण सिटौला पक्षीय नेता मानिन्छन् ।

कार्वाही फुकाउन कसरत

नेताहरुलाई कारबाही भएपछि रुकुम कांग्रेसमा खैलावैला मच्चिएको छ । पूराना र ठूला नेता नै कार्वाही परेपछि कार्यकर्ताहरुमा चर्चापरिर्चा हुन थालेको छ । कारबाही परेकाहरुले आफ्नो कारवाही फूकुवाका लागि दौड सुरु गरिसकेका छन् ।

उनीहरु नेताहरुलाई फोन गर्नेदेखि नेताको दैलोमा पुग्न थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment