Comments Add Comment

मधेसबारे एमालेको रिपोर्टः कांग्रेसप्रति आक्रोश छ

'कांग्रेससँग एक्लै चुनाव लड्ने हिम्मत छ ?'

 

गुल्मीमा सत्तारुढ गठबन्धनलाई पराजित गरेर काठमाडौं फर्किएलगत्तै मलाई पार्टीले प्रदेश नम्बर २ मा खटायो । असोज २ गते हुने भनिएको प्रदेश नम्बर २ का ८ जिल्लाको चुनावी आँकलन गरेर म अहिले काठमाडौं फर्किएको छु ।

पार्टीले मलाई सर्लाहीको जिम्मा दिए पनि बारा लगायतका केही जिल्लाको अवस्था पनि बुझ्ने मौका पाएँ ।

मलाई प्रदेश नम्बर २ अर्थात मधेसमा जानुपूर्व जुन आशंका थियो, त्यो लगभग मेटिएको छ । एमालेलाई मधेस बिरोधी भनेर रक्षात्मक अवस्थामा पुर्‍याइएको चर्चा थियो । तर, मधेसमा त्योभन्दा बिल्कुल भिन्न अवस्था देखियो ।

मधेसमा कांग्रेसप्रति यसकारण आक्रोश छ

मैले एमालेको कोणबाट भनेको होइन, मधेसको धरातलीय यथार्थ के हो भने त्यहाँ कांग्रेसप्रति मधेसी समुदायको आक्रोश र अशन्तुष्टि छ ।

एमालेले आफ्नो अडान शुरुदेखिनै एउटै राखेको छ । कम्तिमा एमालेलाई ढाँटेन भनेर मधेसी समुदायका अगुवा र बौद्धिक व्यक्तिहरुले भनेका छन् । तर, कांग्रेस र माओवादीले मधेसीको भावनामाथि खेलेर पालैपालो सत्ता सुख भोग गर्ने तर प्रतिवद्धता पूरा नगरी झुक्याउने काम गरेको भन्ने गुनासो सबैतिर सुनियो ।

कांग्रेसले मधेसलाई विशेष गरी हालको २ नम्बर प्रदेशलाई आफ्नो भोट बैंकका रुपमा मानेको छ । तर, अहिले त्यहाँ मधेसी समुदायले कांग्रेसलाई बदला लिने तयारी गरेको देखिन्छ ।

जनकपुरदेखि वीरगञ्ज जस्ता शहरी जनमत पनि के छ भने-मधेसलाई कांग्रेसले धोखा दिएको छ, चुनावका बेला फेरि जाली कुरा गरेर आउँदैछ । यसपटक सबक सिकाउनुपर्छ ।

कांग्रेस संविधान संशोधनका नाममा फेरि मधेसीलाई झुक्याउने र राजपालाई चुनावमा भाग नलिने वातावरण बनाएर राजपामा जाने भोट आफूतिर तान्ने खेलमा लागेको कुरा अब आरोपमात्र रहेन । राजपाकै नेता कार्यकर्ता र सडक चोकमा चिया पसलमा मधेसी समुदायबीच पनि कांग्रेसको राजपालाई चुनाव बाहिर राख्ने खेल छरपस्ट भइसकेको छ ।

कांग्रेसको २ नम्बर प्रदेशको भेलाले यस प्रदेशको १२७ सीटमध्ये कम्तिमा एक सय सिट जित्ने लक्ष्य राखेको खबर सर्लाहीमा पुग्दा त्यहाँका कांग्रेस समर्थक मधेसी युवाहरु नै उपहास गरिरहेका भेटिए । पटक-पटक चुनाव सारेको र २ नम्बर प्रदेशलाई अलग व्यवहार गरिएकोप्रति त्यहाँ ठूलो आक्रोश छ । त्यो आक्रोश कांग्रेस र माओवादीप्रति छ, एमाले वा मधेसवादी दलप्रति होइन ।

अहिले कथित संविधान संशोधन विधेयक फेल गराउनका लागि मतदानमा लैजाने कांग्रेस माओवादी खेलप्रति मधेसमा झन् ठूलो आक्रोश उत्पन्न हुँदैछ ।

कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन

कांग्रेसले यो सबै कुरा बुझेर २ नम्बर प्रदेशमा पनि एमालेलाई हराउन सबै दलसँग तालमेल गर्न खोजेको छ । विशेष गरी पूर्वपश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा माओवादीसँग र हुलाकी राजमार्ग दक्षिणमा मधेसवादी दलहरुसँग तालमेल गर्न कांग्रेसले खोजेको छ । माओवादी र कांग्रेसको गठबन्धन त होला नै तर मधेसवादी दलसँग सम्भव देखिन्न ।

एमालेलाई मधेस बिरोधी भन्दै मधेसको जनमत बटुल्न हिँडेको कांग्रेस आज २ नम्बर प्रदेशमा पनि एक्लै चुनाव लडेर जित्ने अवस्था नदेखिएपछि गठबन्धनको प्रयास गर्दैछ । वास्तवमा कांग्रेसले एमालेसँग एक्लै लड्ने आत्मविश्वास गुमाइसकेको छ । नत्र भने मधेस बिरोधी भनिएको एमालेलाई हराउन मधेसमा कांग्रेसले किन बैशाखी खोज्दैछ ?

कांग्रेस नेता बिमलेन्द्र निधीजीलाई मेरो प्रश्न छ- २ नम्बर प्रदेशमा एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत कांग्रेससँग छ ? एमालेलाई हराउन एक्लै नसक्ने निष्कर्षमा कांग्रेस पुगेको हो ? राजपालाई चुनावमा आउन नदिएर २ नम्बर प्रदेशमा एमालेभन्दा बढी सीट जित्ने सपना देखेको हो ? त्यो सपना हो भने कुनै पनि हालतमा पूरा हुँदैन ।

‘मधेसमा यसकारण एमाले जित्छ’

मैले २ नम्बर प्रदेशको प्रारम्भिक अवस्था आँकलन गर्दा एमालेप्रति आम मधेसी जनताको समर्थन घटेको छैन बरु बढेको छ । विशेष गरी हाम्रा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्री र कमरेड बिष्णु पौडेल अर्थमन्त्री भएका बेला तराई मधेसको पूर्वाधार र सामाजिक विकासका लागि छुट्याइएको बजेटका कारण एमालेप्रति मधेसमा आकर्षण बढेको देखियो ।

राजमार्ग चौडा पार्ने, जिल्ला सदरमुकाम जोड्ने सडकहरु चार लेनका बनाउने, सदरमुकामहरुको विकासमा ५० करोड छुट्याउने, सिञ्चाई लगायतका क्षेत्रमा गएको बजेट इतिहासमै सबैभन्दा ठूलो भन्ने कुरा मधेसमा ब्यापक चर्चामा रहेछ । एमालेले लगेको बजेट कार्यान्वयन नभएकाले पनि अब एमालेलाई नै चुनाव जिताउनुपर्छ भन्ने ढंगले हामीले मधेसका भित्री बस्तीसम्म प्रचार अभियान चलाएका छौं ।

कांग्रेसले जसरी एमालेले मधेस र मधेसीलाई ढाँटेको छैन । जे कुरा छ, खुल्लमखुल्ला भनेका छौं । यही भएरै अहिले मधेसवादी दलका शीर्ष तहका नेताहरु नै एमाले प्रवेश गरिरहेका छन् । हामी चाँडै नै मधेसमा अझ प्रभावशाली नेताहरुलाई एमाले प्रवेश गराउँदैछौं । एमालेको संगठन मधेस आन्दोलनका बेला कति पनि डग्मगाएको छैन ।
एमालेसँग मधेसको जमिन्दारी, शोषण र अन्याय अत्याचार बिरुद्धको अगुगाइ गर्ने सामाजिक अगुवाहरु छन् । जातीय र वर्गीय हिसाबले सन्तुलित ढंगले एमालेका उम्मेदवारहरु चयन भएका छन् । मधेसका स्थापित मान्छेहरु एमाले प्रवेश गरिरहेका छन् । यो हाम्रो जितको अर्को बलियो कारण हो ।

हामीले प्रारम्भिक चरणको विश्लेषण अनुसार ४५ प्रतिशत स्थानीय तह जित्न सकिन्छ भन्ने सोचेका छौं ।

तर, यसबीचमा धेरै उथल-पुथल हुँदैछ । २ नम्बर प्रदेशमा पनि एमाले पहिलो हुँदैछ । कांग्रेस माओवादी मिले पनि मधेसका राजपा, फोरम, लोकतान्त्रिक फोरम जस्ता शक्तिहरुसँग आवश्यकता अनुसार हामी तालमेल गर्ने बारे पनि छलफल चलाउँदैछौं ।

एमालेविरुद्ध सम्भावित महागठबन्धन

हामीले देखिरहेका छौं, सत्तापक्षले प्रतिपक्ष विरुद्ध महागठबन्धन बनाउने अनौठो अभ्यास नेपालमा कांग्रेस-माओवादीले गरेका छन् । पहिलो चरणको स्थानीय तहको चुनावमा भन्दा दोस्रो चरणमा कांग्रेस- माओवादी धेरै ठाउँमा मिलेर चुनाव लडे ।

धनकुटा, भोजपुरलगायत कतिपय ठाउँमा एमालेबिरुद्ध सबै दलको मोर्चाबन्दी पनि भयो । मेरै गृहजिल्ला गुल्मीमा पनि कतिपय ठाउँमा त्यस्तो अभ्यास भयो । भरतपुर प्रकरणले कांग्रेस-माओवादी अब तेस्रो चरणको स्थानीय तहको चुनाव हुँदै प्रदेश र संघीय संसदको चुनावमा पनि गठबन्धन बनाएर जान्छन् भन्ने प्रष्ट देखिन्छ ।

हामीले बुझेको र जनताले पनि बुझेको कुरा के हो भने, कांग्रेसमा अब एमालेसँग एक्लै चुनाव लड्ने आत्मविश्वास र ताकत सकिएको छ । यो एक किसिमले सुखद कुरा पनि हो । उसले माओवादीलाई साथमा लिएर एमाले विरुद्ध गठबन्धनको अभ्यास गरेको छ । त्यसमा अरु शक्तिलाई पनि मिलाउन खोजिँदैछ ।

कांग्रेस माओवादी गठबन्धन समयको आवश्यकताले भन्दा पनि अन्यत्रकै चाहनाबाट बनेको हुनाले एमालेले चाहेर पनि भत्काउन सक्दैन । यो गठबन्धन आन्तरिक र बाहृय शक्तिहरुले गराएका हुन् । ती शक्ति एमालेविरुद्ध अन्य दलहरुको पनि मोर्चाबन्दी होस् भनेर लागेका छन् । २ नम्बर प्रदेशमा पनि त्यो प्रयास हुँदैछ ।

एमालेले माओवादीलाई आफूसँगको गठबन्धनबाट बाहिरिन दिनु हुदैन थियो भन्ने कुरा पनि छ । हामीले गठबन्धन कायम गर्न सकेनौं, यसमा हाम्रा पनि केही कमजोरी रहन पुगे । तर, मुख्य कुरा कांग्रेस-माओवादी गठबन्धन त्यति कारणले मात्र बनेको होइन ।

त्यसैले एमालेले चाहँदैमा माओवादीलाई कांग्रेससँगको गठबन्धनबाट बाहिर ल्याउन सकिन्न । तर, अरु शक्तिहरुलाई आफूतिर ल्याउन एमालेले पहल गर्नुपर्छ ।
कांग्रेस-माओवादीको सम्भावित महागठबन्धनबाट एमाले डराएको वा आत्तिएको भन्ने चर्चा पनि सुनिएका छन् । कांग्रेसले एमालेलाई परास्त गर्न धेरै शक्तिहरुलाई प्रभावमा पार्छ भन्ने कुरामा हामी पूर्वतयारीमै थियौं । माओवादीजस्तो अवसरवादी शक्ति कुनै पनि बेला बाहृय प्रभावमा पर्छ र कांग्रेसको कठपुतली बन्नेछ भन्ने आँकलन पनि हाम्रो थियो ।

कांग्रेससँगको गठबन्धनले माओवादीलाई कति फाइदा भयो, त्यो उनीहरुले मूल्यांकन गरेका होलान्, तर उनीहरु एमालेलाई हराउनमात्र प्रयोग भएका हुन् । गठबन्धनले केही ठाउँमा हामीलाई हराउन सफल पनि भए । थोरै मतको हारजित हुने ठाउँमा उनीहरुको गठबन्धनले हामीलाई घाटा पारेकै हो । तर, समग्रमा जनताले सत्तारुढ गठबन्धनलाई घृणा गरे । बुटवल, हेटौंडा जस्ता ठूला शहरको जनमतले यही पुष्टि गरेको छ ।

राज्य संयन्त्र र साधन स्रोतको चरम दुरुपयोग

अबका सबै चुनावहरुमा एमाले विरुद्ध कांग्रेस-माओवादीले गठबन्धन गर्छन् भन्नेमा हामी जानकार छौं । उनीहरुको गठबन्धनलाई परास्त गर्ने ताकत एमालेसँग छ । तर, यसपटकको चुनावले हामीलाई के कुरामा गम्भीर बनाएको छ भने सत्तारुढ गठबन्धनले सत्ताको ब्यापक दुरुपयोग गर्न सक्छ । यसमा संवैधानिक अंगहरु पनि निरीह हुने वा सत्ताबाट प्रभावित हुने खतरा देखिएको छ ।

स्थानीय तहको दुई चरणको चुनावमा सत्ताको चरम दुरुपयोग भयो । सत्तापक्षले यति ठूलो मात्रामा चुनाव जित्न साधन स्रोत खर्च गरेको नेपालमा कहिल्यै देखिएको थिएन । हामीलाई यो कुराले धेरै चिन्तित र सशंकित बनाएको छ । राज्यका संयन्त्रको चरम दुरुपयोग गरियो ।

यसपटक चुनावका क्रममा चार जनाको ज्यान गयो । जसमा दुई जना एमालेका कार्यकर्ता मारिए, त्यो पनि सत्तापक्षीय कांग्रेस- माओवादीका कार्यकर्ताबाट ।
बाजुरामा कांग्रेसबाट एमाले कार्यकर्ताको हत्या भयो । दोलखामा माओवादीले हत्या गरे । बाँकी २ जना प्रहरीको गोलीबाट मारिएका हुन् । यसबाट के पुष्टि हुन्छ भने सत्तापक्षले चुनाव जित्न सत्ताको चरम दुरुपयोग गरेको छ ।

कांग्रेस र माओवादीले अथाह पैसा खर्च गरे । सरकारका साधन स्रोतहरुको खुलेआम दुरुपयोग भयो । एमाले कार्यकर्तामाथि चुनावका क्रममा झूठा मुद्दा लगाउने, पक्राउ गर्ने र आतंकित पार्ने काम भयो । चुनाव जित्नका लागि गरिएका यस्ता हतकण्डाहरुले आउने चुनाव निष्पक्ष र धाँधलीरहित हुन्छन् भन्नेमा आशंका पैदा भएको छ ।

संवैधानिक अंगहरुको निष्पक्षतामा प्रश्न

सत्तारुढ दलहरुले सत्ताको दुरुपयोग गर्नु वा धाँधली गर्न खोज्नु उनीहरुको चरित्र हो । तर, निर्वाचन निष्पक्ष र धाँधलीरहित गर्नुपर्ने दायित्व निर्वाचन आयोग र राज्यका संयन्त्रहरुको हो । हामीलाई सबैभन्दा चिन्ता लागेको कुरा भनेको राज्यका अंगहरु सत्तापक्षको दबावमा पर्ने हँु कि ? संवैधानिक संस्थाहरु नै सत्तापक्षको छायाँका रुपमा देखिन चिन्ता हामीलाई परेको छ ।

विशेष गरी भरतपुर प्रकरणबाट हामी गम्भीर भएका छौं । सत्तापक्षीय गठबन्धनले जे जस्तो हर्कत गर्‍यो, त्यसलाई निर्वाचन आयोग र अदालतले रोक्नुपर्नेमा बैधानिकता दिने काम गरे । यसबाट निर्वाचनको मर्यादा र लोकतन्त्रको धज्जी उडेको छ । आज एमालेका एउटा उम्मेदवार देवी ज्ञवालीको हारजितको विषय भए पनि यसले भोलि सबैलाई पोल्नेछ ।

यसै सन्दर्भमा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगको काममा सत्तापक्षको प्रभाव नपरोस् भनेर खबरदारी गरेको हो । आयोगलाई दबाव र प्रभावमा पार्ने प्रयास भइरहेको छ । एमाले यस्तो संस्थाहरुले स्वतन्त्ररुपमा काम गर्नुपर्छ भन्ने मान्यता राख्छ ।

संवैधानिक निकायहरुले निष्पक्ष काम गरिदिए भने पुग्छ । एमाले सरकार बाहिर बसेरै सत्तारुढ गठबन्धनलाई पराजित गर्न सक्षम छ ।

(विष्ट नेकपा एमालेका केन्द्रीय सचिव हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment