Comments Add Comment

सन्दर्भ गोविन्द केसीः ढिला भैसक्यो, अहिले नबोले कहिले बोल्ने ?

एक आम नागरिकले स्वस्थ भई बाँच्न पाउनुपर्ने मूल भावनाका साथ डा. गोविन्द केसी अनसनमा बसेको आज यतिका दिन भयो। उनको जीवन अहिले जीवन-मरणको दोसाँधमा छ । तर, हामी सचेत नागरिक, बुद्दिजिवी,पेसाकर्मीहरु यस्तो ब्यवहार गरिरहेका छौं कि यो देशमा केही भएकै छैन, सबै ठीकठाकै चलिरहेको छ।

डा. केसीको मुद्दाले थोरै पनि छोएको छैन हामीलाई। पेसाकर्मी, बुद्धिजीवी, दलका भातृ संगठनका केही प्रतिनिधि डा.  गोविन्द केसीलाई “समर्थन छ है” भन्दै टिचिङ अस्पताल पुगेर अनसन लम्ब्याउने साहस दिएर जान्छन् । तर, सँगसँगै आफ्नो आस्थावान माउपार्टीको  शीर्षस्थलाई त्यही गतिमा दवाब दिने सामर्थ्य राख्दैनन्।

कस्तो लोकतन्त्र हो यो, जसले आफ्ना नेताको कर्तुत चुपचाप् सहिदिनुपर्ने ? गलतलाई बुलन्द रुपमा गलत भन्न नसक्ने कस्तो पेसाकर्मी वा बुद्धिजीवी हौं हामी ?अहिले यस्तै आन्दोलन कुनै झन्डावालले सत्ता प्राप्तिको खातिर गरेको भए यतिकै मौनता छाउँथ्यो त हामीमा ?कस्तो गणतन्त्र ल्यायौं हामीले, जहाँ सत्ता प्राप्ति र सीमित घरानियाँको आम्दानी बाहेक सम्पूर्ण मुद्दा गौण बनिदिन्छन?

गोविन्द केसीको आन्दोलनलाई स्वास्थ्य सेवा सुधारको लागि मात्रै हेर्नु अब भ्रम हुनेछ। यसले त बेथिति र भ्रस्टाचारको मुद्दालाई नथापाउँदो पारामा उठान गरिसक्यो,केवल बुलन्द हुन सकिरहेको छैन त्यो पनि हाम्रो बुद्धिको बिर्को कसिएर।

न्यायको खातिर ज्यान गुमाउने नन्दप्रसाद अधिकारीको मृत्‍युले पोल्दैन भने बुझे हुन्छ हामीमा मानवता छैन ।बालकृष्ण ढुङेल खुलेयाम घुमेको देख्दा हामीलाई रीस उठ्दैन भने हामीमा भावना भन्ने चिज छैन । चूडामणि शर्मा लगायतका भ्रष्टाचारका फायल पल्टिनमा विलम्ब हुन्छ, अनकनाइन्छ भने बुझे हुन्छ, हामीलाई यो देशको मायै छैन। राष्ट्रियता र देशप्रेम भन्ने कुरा बोलिमा खोजिने जमाना गए अब। चर्का भाषण गर्नेहरु नै त्यो गहनाले सुसज्जित हुन्थेहोला कुनै जमानामा, तर अब खोलामा धेरै पानी बगिसक्यो।

कुर्सीमा नपुगेका सायदै कोही राष्ट्रभक्त देशभक्त बचेका होलान्, जसलाई चिन्न बाँकी रह्यो। गणतन्त्र आए पश्चात लगभग सम्पूर्ण ठूला राजनीतिक दल सत्तामा पुगे, अब एकपटक यिनीहरुलाई मुल्याङ्कन गर्दै केही निम्न बुँदा आत्मसाथ गरौं:

१) भ्रष्टाचारलाई कडाइ गर्न, भ्रष्टाचार विरुद्धमा कडा-भन्दा कडा कानुन निर्माण गर्न कुन राजनैतिक दलले अग्रसरता देखायो ? लोकमानसिंह कार्की र शुशिला कार्कीमा माथि लागेका दुई महाअभियोग मुद्दालाई तुलना गर्दा हुन्छ ।

२) बाबुराम भट्टराई प्रधानमन्त्री भएर उनले मुस्ताङ म्याक्स गाडी चढ्नु बाहेक, कुन नेताले सादगी जीवन बिताउँछु भन्ने प्रण गरे ? वा त्यससँग सम्बन्धी कुनै कानुन संसदबाट पास गरे ?  विशिष्ट र पूर्व विशिष्टका नाममा निरन्तर राज्यबाट दोहन भैरह्यो, जसमा एक-आध सांसद बाहेक कसैले स्पस्ट बिरोध गरेनन् ।

३) अदालतले दिएको फैसलालाई शीरोधार्य गर्दै, कुन चाहीँ सरकार सञ्चालकले त्यसको सहज पालना गराए ?अदालतले दोशी ठहर गरी सजाय तोकेका व्यक्ति खुलेयाम हाम्रा समाजमा घुमिरहेका छन् ।

४) सरकारले दिएको निर्देशन कर्मचारीतन्त्रले कतिको पालना गरिरहेको छ ? देशमा चेन अफ कमान्डको स्थिति कस्तो छ ? उदाहरणका लागि हालसालै सरकारले कर्मचारीलाई दुर-दराजमा खटिन दिएको निर्देशनको आलटाल ।

लेख्दै जाने हो भने यस्ता कैयौ बुँदाका फेहरिस्त चाङ बन्छन्।

स्वास्थ्य क्षेत्र मात्रै हैन, राजनीति जोडिएको हरेक क्षेत्र बेथितिको दलदलमा भासिएको छ, जसको प्रमुख जड भ्रष्टाचार हो। १०- २० रुपैयाँ घुस खाएको मुद्दा चर्चा हुने यो देशमा आजभोलि करोडौंका मुद्दा हामीमाझ सहजै पच्न थालेको छ। अझ विद्वत बर्गले सहजै यस्ता मुद्दा पचाउनुले डरलाग्दो भबिश्यको इङ्गित गरेको देख्छु।

मानिस ३ कारणले नबोल्न सक्छ: डरले, सम्पूर्णतामा,भावविहीन अवस्थामा र आवाज नभएर। के हामी कसैसँग एकदमै डराएका छौं ? त्यो डर प्रलोभनको पनि हुन सक्छ। अथवा सम्पूर्ण कुराले पूर्ण छौं, समाज – देशमा जे भए पनि हाम्रो दैनिकीमा केही फरक पर्नेवाला छैन। या हामीमा भावना भन्ने चिज नै छैन ? जे भए पनि छुँदै नछुने। वा हामी आवाजविहीन छौं ? चाहेर पनि आवाज निकाल्न सकिरहेका छैनौं।

यदि यी कुनै कुरा नभएर पनि हामी बेथितीलाई मौनताले समर्थन गरिरहेका छौं भने हामी चेतनशील प्राणी नै हैनौं। हामीले ल्याएको ब्यवस्थामा कहीँ कतै खोट छ भने निराश भएर भाग्ने हैन, अब आवाज एकजुट गरेर सुधार्ने हैसियत हामीले नै राख्नुपर्छ।

हरेक किसिमका बेथिति र भ्रष्टाचारको बिरुद्दमा सबैलाई एकजुट हुने अवसर यसपटक डा. गोविन्द केसीले जुराइदिनुभएको छ। सधैंभरि यस्तो मौका नआउन सक्छ,अझ भनौं यस्तो मौकाको अपेक्षा गर्नै नपरोस्।

राजनीतिक दल हाम्रा लागि निर्विकल्प छन्, तिनीहरु दिगभ्रमित भएका बेला अन्ततगत्व मार्गनिर्देश गर्ने जनताले नै हो, यो हरेक नागरिकको दायित्व पनि हो।

हाम्रा लागि भोकै ज्यान अर्पिन अग्रसर निष्ठावान एक आशाको दियोलाई केवल हाम्रो फेसबुक र टुइटरको ह्यास्ट्यागले भ्रष्टाचारीहरुको भुँवरीबाट जोगाउन सकिएला भन्ने लाग्न छोड्यो अब। ढीला भैसक्यो, धेरै मौन बस्दाबस्दै सकारात्मक कदमका लागि कतै बोल्नै पो बिर्सिसक्यौं कि हामीले ?

सोधौं आफुले आफैंलाई: न्यायका खातिर पालै-पालो ज्यान अर्पित गर्नुपर्ने यो देशमा हालीमुहाली कसको छ ?कस्तो स्वतन्त्रतामा बाँचीरहेका छौ हामी? आउनुहोस् जागौं: भातृ संगठनहरु जागौं, आफ्नो माउपार्टीलाई झक्झकाउन। बुद्धिजीवीहरु जागौं सरकारलाई ब्युझाउन,पेसाकर्मीहरु जागौं आ-आफ्नो आस्थावान राजनीतिक दललाई सही बाटोमा हिँडाउन।

बोलौं, ढिला भैसक्यो, अहिले नबोले कहिले बोल्ने ?

( पाेखरेल काठमान्डौ विश्वविद्यालय, धुलिखेलका विद्यार्थी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment