Comments Add Comment

संशोधन विधेयक भोटिङमा लैजाने सहमति, चुनावमा सहभागी हुन राजपा तयार

२७ साउन, काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी (राजपा)संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान (भोटिङ) हुनेछ ।

‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा नेता शरतसिंह भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन ।

सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।

राजपा नेता भण्डारीले पनि त्यो स्वीकार गरे । ‘प्रक्रियामा गएपछि खेलको नियमबाट भाग्ने कुरा हुँदैन,’ उनले भने, ‘यदि कसैले फेल गराउने प्रयास गर्छ भने उसलाई सजाय दिन पनि हामी जनतामाझ जानुपर्छ । हामी आफ्नो कुरा लिएर चुनावमा जान्छौं ।’

राजपालाई चुनावमा ल्याउने दुई घटना

पहिलो र दोस्रो चरणको चुनाव बहिस्कार गरेको राजपामा पछिल्लो पटक प्रदेश २ को चुनावमा जानु पर्ने दबाव चर्को थियो । हालै भएको पदाधिकारी बैठकमा चुनाव पक्षधर हावी भएका थिए भने केन्द्रीय समितिमा चुनावमा जानु पर्ने आवाज चर्कोसँग उठेको थियो ।

यद्यपि यथास्थितिमा चुनावमा जानु हुँदैन भन्ने मत पनि राजपाले बलियो थियो । यही अलमलका कारण उसले कुनै निर्णय गर्न सकेको थिए ।

यहीबीचमा सर्वोच्चले बिहीबार स्थानीय तहको संख्या बढाउन बाटो खोलिदियो । तराई मधेसमा स्थानाीय तहको संख्या बढाउने प्रचण्ड सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्चले खारेज गरिदिएको छ ।

यो आदेशले प्रदेश २ मा बढीमा ९ स्थानीय तह थपिनेछ भने केही गाउँपालिका नगरपालिका बन्नेछ ।

सर्वोच्चको आदेशले एक प्रकारले ‘फेस सेभिङ’ गराएको भन्दै राजपामा चुनाव जानुपर्ने मत बलियो भयो । त्यसलाई बुझेर माओवादी अध्यक्ष प्रचण्डले राजपा नेताहरुसँग कुरा गरे र संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई अघि बढाउने प्रस्ताव राखे ।

त्यही दिन बिमस्टेक बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै राजपा शीर्ष नेताहरुसँग भेटवार्ता गरिन् ।

यो भेटमा विदेशमन्त्री स्वराजले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणपछि मात्र संशोधन विधेयक निर्णयार्थ पेश हुन सक्ने संकेत दिएकी थिइन् । तर, यसो गर्दा चुनावको तयारी गर्ने समय नै नहुने देखेपछि देउवालाई दबाव दिन शुक्रबार नै बालुवाटार पुगे ।

यो बैठकले आगामी मंगलबार संशोधन विधेयक निणयार्थ पेश गर्ने र परीणाम जे आएपनि राजपा प्रदेश २ को चुनावमा जाने सहमति जुटाएको छ ।

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले सर्वोच्चको पछिल्लो निर्णयले सहमतिको नयाँ ढोका खोलेको बताउँछन् ।

चुनाव चिन्ह माग गर्दै आयोगमा

चुनावमा जाने सहमति भएसँगै राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरुले आसन्न चुनावमा आफूहरुलाई प्रस्तावित छाता चुनाव चिन्ह दिन माग गरेका छन् ।

तर, आयोगले प्रदेश २ को स्थानीय चुनावमा छाता चिन्ह दिन नसकिने जवाफ दिएको छ । अब राजपाले एकता प्रक्रियामा आएका ६ दल मध्ये कुनै एकको चुनाव चिन्ह रोज्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment