Comments Add Comment

मैले सकिनँ, भगवानले बचाए !

'पशुपतिले पार्टीलाई दिएको जग्गामा फोटो राख्ने ठाउँ भएन'

‘म नियतिमा विश्वास गर्छु, पार्टी ठूलो बनाउने नाममा मैले गलत प्रवृत्तिसँग सम्झौता गर्दै हिँड्नुपरेको बाध्यता थियो । शायद म आफैं यो कोर्ष करेक्सन गर्न सक्ने स्थितिमा थिइनँ । म आपराधिक प्रवृत्तिहरुको घेरामा परेको थिएँ, त्यसबाट मलाई भगवानले नै मुक्त गरिदिनुभयो ।’

माथिको भनाइ हो- राप्रपा अध्यक्ष कमल थापाको । पार्टी एकीकरणपछि खराब तत्वहरुसँग सम्झौता गर्नुपरेको कुरा नियतिलाई चित्त नबुझेको र नियति नै आफ्नो कोर्ष करेक्सन गरिदिएको थापाले अनलाइनखबरलाई बताए ।

पार्टी विभाजनपछिको अवस्थाबारे अनलाइनखबरसँग भावुकरुपमा प्रस्तुत भएका थापाले अब राप्रपाको कार्यालयमा पशुपतिसमशेरको फोटो झुण्याउने ठाउँसम्म नभएको बताए । हाल राणासमूहको नियन्त्रणमा रहेको राप्रपाको कार्यालय चाँडै कानूनसम्मत ढंगबाट आफूहरुले लिने उनले बताए ।

राप्रपा विभाजनपछि थापाले के सोचिरहेका छन् भन्नेबारे अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

राजतन्त्रवादीहरुको वैकल्पिक शक्ति बनाउने तपाईको मुद्दाको अब पार्टी विभाजनपछि औचित्य नै सकिएन र ?

यो जुन मुद्दा हामीले बोकेर हिँडिराखेका छौं, यो कुनै एउटा घटनासँग सम्बिन्धत विषय होइन । नेपालको धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र र नेपालको भूराजनीतिक, सामाजिक अवस्थामा चुनावी राजनीतिभन्दा माथि उठेको राजसंस्थासहितको व्यवस्थाको औचित्य हिजो जति थियो, आज पनि रहन्छ र भोलि पनि रहन्छ ।

हो, पार्टीमा आरोह-अवरोह आएको छ । तर, जहाँसम्म एजेण्डाको कुरा छ, यसको औचित्य यथावत छ ।

यसको मतलव पार्टी विभाजनबाट कमल थापा अझै गलेको छैन ?

यसले मलाई अत्यन्तै दुःखित चाहिँ तुल्याएको छ । जसलाई मैले विश्वास गरें, ती व्यक्तिहरुबाट पनि विश्वासघात भयो । पार्टी एकीकरण गरेर देशको एउटा अग्रणी शक्ति बनाऔं भन्ने जुन परिकल्पना थियो, त्यो परिकल्पनाका सहयात्रीहरु यति चाँडै विचलित भएको देख्दा दुःख लागेको छ । चिन्ता लागेको छ । तर, म विचलित भएको छैन हेर्नोस् ।

तर, तपाईको पार्टी एउटा कठिन मोडमा त पुग्यो नि हैन र ?

योभन्दा कठिन परिस्थितिबाट हामीले संघर्ष गर्दै पार्टीलाई यो अवस्थामा ल्याइपुर्‍याएका हौं । र, म के मान्यतामा विश्वास राख्छु भने लामो यात्राको क्रममा कतिपल्ट ठेस लागेर लड्यौं, त्यो कुराको महत्व हुँदैन । त्यसरी लडिसकेपछि फेरि उठेर आफ्नो गन्तव्यमा कतिपल्ट हिँडियो, त्योचाहिँ महत्वपूर्ण कुरा हो ।

विगतमा पनि मैले धेरैपटक पराजय भोगेको छु । ठेस लागेर लडेको छु । तर, हेरकपटक फेरि नयाँ शक्ति र उर्जाका साथ आफ्नो गन्तव्यमा हिँडेको छु ।

र, यसपटक पनि जुन अप्ठयारो अवस्था छ, यसबाट चाँडै नै पार भएर हामी आफ्नो अभियानमा, गन्तव्यमा लाग्ने छौं ।

तर, अहिलेको पार्टी विभाजनले तपाईको अभियानलाई ठूलै घाटा लाग्यो नि हैन ?

म नियतिमा विश्वास गर्छु । निष्काम कर्ममा विश्वास गर्छु । मलाई के लाग्छ भने एउटा जुन अभियानमा म हिँडेको थिएँ, पार्टी ठूलो बनाउने नाममा मैले गलत प्रवृत्ति, गलत बाटोसँग सम्झौता गर्दै हिँड्नुपरेको बाध्यता थियो । शायद त्यो नियतिलाई चित्त बुझिराखेको थिएन । कतिपय जनतालाई त चित्त बुझेकै थिएन, शायद नियतिलाई पनि चित्त बुझेको थिएन । र, अहिले नियतिले नै मलाई त्यो कोर्ष करेक्सन गर्ने अवसर दिएको छ ।

यसमा म के जोड्न चाहन्छु भने शायद म आफैं यो कोर्ष करेक्सन गर्न सक्ने स्थितिमा थिइनँ, किनभने पार्टी चलाउँदा मैले सम्झौता गर्नुपर्दथ्यो । तर, भगवानले नै त्यस्ता प्रवृत्ति र विकृतिहरुलाई हटाइदिए । म आपराधिक प्रवृत्तिहरुको घेरामा परेको थिएँ । षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ । त्यसबाट मलाई भगवानले नै मुक्त गरिदिनुभयो जस्तो लाग्छ । यो मेरा लागि ‘ब्लेसिङ इन डिसगाइज’ हो जस्तो लाग्छ ।

पार्टी विभाजन हुँदा जिल्ला कमिटीहरुमा कस्तो असर परेको छ ?

मलाई लाग्छ, एकाध ठाउँमा उहाँहरुको प्रभाव छ । मैले सुने अनुसार धनकुटा, सिन्धुपाल्चोक, रुपन्देही जिल्लाका कार्यसमितिका अध्यक्ष बाहेक अन्य सबै पार्टीको संस्थापन पक्षमै छन् । निर्वाचित भएर आएका ५ वटा स्थानीय तहका जनप्रतिनिधिहरु पनि हामीसँगै छन् ।

कमल थापाले लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा जस्ता शीर्ष नेताहरुलाई शीरमा राखेर अघि बढ्नुपर्छ भन्ने कतिपयको मान्यता थियो, त्यो पनि अब अफावशिद्ध भएको हो ? अथवा, त्यसको परीक्षा सकिएको हो ?

हैन, सकिएको छैन । यसका निमित्ति मैले हरसम्भव प्रयास गरें । पार्टी एकीकरणपछि हरेक विषयमा उहाँहरुसँग परामर्श गरेर नै मैले काम गरें । खासगरी पशुपतिशमशेर जी त अध्यक्ष पनि भएको हुँदा पार्टीको मिटिङ राख्ने दिन र समय पनि उहाँलाई अनुकूल हुने गरी गरें । अरु नीतिगत विषयमा त मैले सधैं परामर्श गरेको हुँ ।

त्यतिमात्र होइन, पार्टीले औपचारिकरुपमा निर्णय गर्नुभन्दा अगाडि नै कतिपय विषयहरु पशुपतिजीले सार्वजनिकरुपमा विचार राख्दै आउनुभयो । उदाहरणका लागि संविधान संशोधनको विषय, प्रचण्ड सरकारमा सहभागी हुने विषय र देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा पार्टीले औपचारिक निर्णय गर्नुभन्दा अगाडि नै उहाँले सार्वजनिक सञ्चार माध्यममा कुराहरु राख्नुभयो । कतिपय विषयमा मलाई चित्त बुझेको पनि हुन्थ्यो र कतिपय विषयमा चित्त नबुझेको पनि हुनथ्यो । तर, पार्टीको एकतालाई आघात नपरोस् भनेर मैले यी कुराहरुलाई सामान्यरुपमा लिँदै अगाडि बढें ।

संगठनात्मक विषयमा भन्ने हो भने पहिलोपटक केन्द्रीय कार्यसमितिमा मनोनित गर्दा अधिकांश उहाँले सिफारिस गरेका व्यक्तिहरु छन् । पदाधिकारी नियुक्ति गर्दा र कार्य सम्पादन समितिमा गर्दा अत्यधिक संख्यामा उहाँले भनेका मानिसहरुलाई गरें ।

पछिल्लोपटक मैले ४२ जना केन्द्रीय सदस्यहरु मनोनित गर्दा उहाँले त्यसको तीब्र आलोचना गर्नुभयो । मैले त्यसलाई अन्यथा ठानिनँ । तर, त्यो मैले उहाँकै लागि अनुकूल हुने गरी कसरी गरेको रहेछु भन्ने कुरा त अहिले मैले मनोनित गरेका मध्ये १६ जना यो विभाजनमा सहभागी छन् । त्यसैले मैले कहिल्यै पनि अन्यथा गरेको थिइनँ भन्ने यसबाट प्रमाणित हुन्छ ।

पशुपति समशेरबाट किन यसरी पार्टी फुटाउने काम भयो जस्तो लाग्छ तपाईलाई ?

म पशुपतिजीप्रति कुनै नकारात्मक टिप्पणी गर्न चाहन्न । आफ्नो राजनीतिक उत्तरार्धमा उहाँले जुन काम गर्नुभयो, त्यसले आफ्नो आफ्नो लिगेसीलाई समाप्त पार्नुभयो उहाँले ।

मलाई दुःख केमा छ भने पशुपतिसमशेरजी यो पार्टीको संस्थापक नेतामध्ये एक हो, १६ वर्षसम्म यो पार्टीको अविछिन्न अध्यक्ष भएर रहनुभयो । त्यस्तो व्यक्तिले आज पार्टी विभाजन गरेर अर्को नयाँ पार्टी खोलेका कारणले गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा तस्वीर झुण्ड्याउने ठाउँ पनि उहाँले राख्नुभएन । हामीले पार्टी छाडेर हिँडेको व्यक्तिको तस्वीर राख्न पनि मिलेन । उहाँको पोलिटिक लिगेसी के ?

अब नयाँ पार्टी खोल्नुभएको छ, ८० वर्षको उमेर पुग्न लागेको अवस्थामा मलाई लाग्छ, उहाँले पार्टी नेतृत्व गरेर अगाडि जान सक्ने अवस्थै छैन । उहाँ राप्रपाको जीवनमा सबैभन्दा लामो समय अध्यक्ष हुनुभयो । त्यो व्यक्तिले आफ्नो तस्वीर पनि आफ्नो संस्थाबाट हटाउने अवस्था आयो । जसले यो पार्टीको निमित्त जग्गा पनि दान दिएको थियो, ठूलो सहयोग थियो । तर, त्यो जग्गामा पनि अब उहाँको स्वामित्व नरहने भयो ।

तर, पशुपतिसमशेरले दान दिएको चाबहिलस्थित राप्रपाको कार्यालय त राप्रपा (प्रजातान्त्रिक) कै नियन्त्रणमा छ नि हैन र ?

अहिले उहाँहरु बसिराख्नुभएको छ । हामी चुप लागिरहेका छौं । तर, त्यसको लालपूर्जा त राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाममा छ । अब यो विवाद सकिने वित्तिकै कानूनी प्रक्रियाअनुसार हामीले फिर्ता लिइहाल्छौं ।

त्यसकारण मलाई लाग्छ, पशुपतिजीले आफ्नो राजनीतिक उत्तरार्धमा जुन कार्य गर्नुभयो, त्यो आत्मघाती काम हो । तर, उहाँप्रति मेरो सहानुभूति छ । उहाँप्रति मेरो सदभाव छ । र, सदैव उहाँप्रति शुभेच्छा नै रहनेछ ।

तपाईहरुले निर्वाचन आयोगसँग पनि केही गुनासो गरेको सुनिन्छ, यस्तो गुनासो किन ?

निर्वाचन आयोगसँग हाम्रो गुनासो छैन, खाली हाम्रो आग्रह के हो भने मध्य चुनावमा केही व्यक्तिहरुले पार्टी विभाजन गर्ने जालसाजी काम गरेका छन् । कीर्ते ढंगबाट काम गरेका छन्, यो चाँडो भन्दा चाँडो टुंग्याइदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो ।

निर्वाचन आयोगले टुंगो लगाएन भने के गर्ने ? अदालत जाने ?

अहिले त्यतापट्टि हामीले सोचेका छैनौं । त्यो हक त हामीसँग रहन्छ नै । तर अब जुन किसिमको कागजपत्र निर्वाचन आयोगमा पेश भएको छ, त्यो एउटा साधारण व्यक्तिले पनि कीर्ते र छलकपट हो भनेर छुट्याउन सक्ने अवस्था छ । त्यसकारणले मेरो आग्रह के हो भने निर्वाचन आयोगले संविधान र कानूनसम्मत ढंगबाट चाँडो भन्दा चाँडो निश्पक्ष निर्णय गरिदिए हुन्थ्यो ।

किनभने प्रदेश नं २ को निर्वाचन तीव्र गतिले अगाडि बढिराखेको छ । हामीले उम्मेदवारहरु तय गर्नुपर्नेछ । प्रचार-प्रसारमा लाग्नुपर्ने छ । यो विवाद कायम रहँदाखेरि त्यसले हामीलाई अलिकति असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment