बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

आकासियो प्याजको भाउ, यस्तो छ मूल्य वृद्धिको कारण

अनलाइनखबर


२९ साउन, काठमाडौं । बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । अफ सिजनका कारण भारतमा भएको प्याजको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।

उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५ र तराईमा ६० रुपैयाँ छ । मूल्यवृद्धिका कारण प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म रहेको व्यवसायीको भनाइ छ । मूल्यवृद्धिअघि उपत्यकामा प्याजको थोक मूल्य प्रतिकिलो २३ देखि २५ रुपैयाँ थियो ।

भारतमा अझै केही दिन बाढीको समस्या यथावत् रहे प्याजको मूल्य प्रतिकिलो सय रुपैयाँ नाघ्न सक्ने प्याज आयातकर्ता अर्जुन सिलवालले बताए ।

भारतमा उत्पादित प्याज अविरल वर्षा र बाढीका कारण नष्ट हुँदा माग र आपूर्तिबीच तालमेल मिलेको छैन । यसले मूल्य अकासिएको उनको भनाइ छ । ‘वर्षापछि आएको बाढी र डुबानका कारण प्याजको भण्डार पनि प्रभावित भएकाले भारतमै मूल्य बढेको छ’, सिलवालले भने, ‘भारतमा मूल्य बढ्दा नेपालमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो ।’

डेढ महिनाअघि भारतीय किसानले सरकारलाई प्रतिकिलो आठ रुपैयाँमा प्याज बेचेका थिए । भारतमा ठूलो परिमाणमा प्याज उत्पादन भएपछि मूल्य अभावमा सरकारले नै किसानबाट प्याज खरिद गरिदिएको थियो । यसरी खरिद भएको प्याज सरकारले पाँच रुपैयाँ प्रतिकिलोमा व्यवसायीलाई बिक्री गरेको थियो । उक्त प्याज व्यवसायीले डेढ साताअघिसम्म प्रतिकिलो भारतीय रुपैयाँ १८ मा बिक्री गर्दै आएका थिए । तर, भण्डारमा राखिएको प्याज पानीले नष्ट भएपछि थोकमै एक सातायता प्रतिकिलो भारु ३० मा बिक्री हुँदै आएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

२०७४ साउन २९ गते ५:५५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this