Comments Add Comment

सप्तकोशी मुनि बिहारमा के-के हुँदैछ ? बाढीले बगाउँदा ८ को मृत्यु

टिस्टाको पानी नखोल्न सिक्किमलाई पश्चिम बंगालको आग्रह


२९ साउन, काठमाडौं । नेपाली नागरिकहरुले सप्तकोशी ब्यारेजका सबै ढोकाहरु खोलिनुपर्ने माग सामाजिक सञ्जालमार्फत् गरिरहँदा तल्लोतटीय भेगका बिहारी जनताको हालतचाहिँ के भइरहेको होला ? यसबारे हामीले केही भारतीय मिडिया ‘फलो’ गर्ने प्रयास गरेका छौं ।

प्राकृतिक प्रकोपले कुनै देश, जाति वा धर्म भन्दैन । विपत्ति सबै मानव समाजका लागि उत्तिकै पीडादायी हुन्छ । हिमालय भेगबाट बग्ने नदीहरु भारततर्फ जाने भएकाले नेपालमा आएको बाढीसँगै यसको चपेटामा भारतीय जनतासमेत परेका छन् ।

पूर्वी चम्पारण जिल्लामा लालबकैया नदीको बाँध भत्किएर बाढी गाउँ पसेको छ । त्यहाँ मदरासामा पढिरहेका विद्यार्थीलाई बगाउँदा एक छात्राको निधन भएको छ । सुपौलमा बाढीले घर भत्काउँदा ढोकाले किचिएर मानिसको मृत्यु भएको छ ।

पश्चिमी चम्पारणमा पनि घर घरमा पाँच फिटसम्म पानी जमेको छ । फारबीसगञ्जमा २४ घण्टादेखि बिजुली ठप्प छ ।

बाढीका कारण रेल्वे स्टेशनहरु बन्द भएका छन् । पूर्वोत्तर सीमान्त रेल्वे सेवा केन्द्रीय रेल्वे सेवासँग सम्पर्क विच्छेद भएको छ । कटिहार-जोगवनी रेल्वे सेवा ठप्प भएको छ ।
उता मुजफ्फरपुरमा बाँधको पानी वस्तीमा पसेको छ । गण्डकमा पानीको बहाव बढिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहारका मुख्यमन्त्री नीतिश कुमारले आपतकालीन बैठक बोलाएका छन् । केन्द्र सरकारसँग बिहारले १० टुकडी उद्धारकर्ता सुरक्षाकर्मी माग गरेको छ । भारतीय सेनाले हेलिकोप्टर पठाएर बाढीमा परेकाहरुको उद्धार गरिरहेको छ ।

टिस्टाको पानी नखोल्न सिक्किमलाई पश्चिम बंगालको आग्रह

यसैवीच नेपालले सप्तकोशीका सबै ढोकाहरु खोल्न भारतलाई आग्रह गरिरहेकै बेला उता पश्चिम बंगाल सरकारले भने सिक्किम राज्य सरकारसँग टिस्टालगायतका नदीको अतिरिक्त पानी नखोलिदिन आग्रह गरेको छ ।

सिक्किमलाई पानी नखोल्न आग्रह गरिएको बताउँदै भारतीय पत्रिका हिमालय दर्पणले लेखेको छ- ‘उत्तर बंगलाको टिस्टा, तोर्सा, जलढाका र कालिन्दी नदीको नदीको पानीले खतराको सीमा नाघेको छ । राज्यको सिँचाइ विभागले सिक्किमलाई नदीहरुको अतिरिक्त पानी नछोड्ने अनुरोध गरेको छ ।’

शुक्रबारदेखि परेको अविरल वषर्ाका कारण पश्चिम बंगालको जलपाईगुडीमा रेलको लिकसमेत डुबेको छ । दार्जीलिङमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ ।
पश्चिम बंगालको कोचबिहार र जलपाईगुडीमा पानीले सडकसमेत पूर्णरुपमा छोपिएको छ ।

पश्चिम बंगालमा शुक्रबार यता परेको पानीलाई सन् १९९३ यताकै ठूलो वषर्ा मानिएको छ । पहाडबाट आउने नदीहरुले थप क्षति पुर्‍याउन सक्ने भन्दै मुख्यमन्त्री ममता ब्यानर्जीले दिल्लीमा टेलिफोन गरेर हारगुहार गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको पश्चिम बंगाल, सिक्किम र बिहारका साथसाथै असाम, मेघालय, उत्तरप्रदेश, गजुरात, गोवा, उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मु कश्मिरमा समेत भारी वर्षा भइरहेको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बाढीबाट जिउज्यानको क्षति धेरै नभए पनि प्रभावितको संख्या र खेती योग्य जमिन भने ठूलोमात्रामा नष्ट भएको छ । असाममा आएको बाढीले दशौं हजार भारतीय नागरिकहरु प्रभावित बनेको त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment