Comments Add Comment

बिराटनगर विमानस्थलको धुलाइ जारी (७ तस्वीर)

आजदेखि हेलीकोप्टर उड्ने, विमान अझै केही दिन नचल्ने

३१ साउन, बिराटनगर । बाढीका कारण जलमग्न बनेको बिराटनगर विमानस्थलको धावनमार्ग सुरक्षाकर्मीहरुले दमकलको सहाराले पखाल्न थालेका छन् । धावनमार्गको हिलो पन्छाउन सुरक्षाकर्मीले बेल्चा लगायतका सामाग्री प्रयोग गरेका छन् ।

मंगलबारदेखि हेलीकोप्टर अवतरण गराउने गरी काम थालिएको र केहीदिनभित्रै विमान सुचारु हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानस्थलभित्र पसेको बाढीको लेदो पखाल्ने काम सोमबारदेखि नै शुरु गरिएको हो । हिलो पखाल्नका लागि १५० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु खटिएका छन् । धावनमार्गमा आधा फिटसम्म हिलो जमेको छ ।

नागरिक उड्यन प्राधिकरण कार्यालय बिराटनगरका अनुसार हिलो पखाल्न कम्तिमा चार दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

चार दिनयता बिराटनगर विमानस्थलमा दैनिक उडानसमेत बन्द छ । विमानस्थल खुल्न अझै केही दिन लाग्न सक्ने उड्डयन प्राधिकरणले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण बिराटनगरका प्रमुख सुरेशमान श्रेष्ठले विमानस्थल सञ्चालन गर्ने विषयमा अझै अन्योल रहेको बताए । उनले भने- ‘मंगलबारसम्म अफिसियल्ली बन्द गरिएको छ, एयरपोर्ट सामान्य अवस्थामा सञ्चालन गर्न अझै ७२ घण्टा लाग्न सक्छ ।’

श्रेष्ठले मंगलबार हेलिकप्टर अवतरण गर्न मिल्ने गरी एयरपोर्ट तयार हुने बताए ।

धावनमार्गको हिलो पखालिसकेपछि त्यहाँको विद्युत एवं उडान तथा अवतरणको सुरक्षाबारे जानकारी दिन राखिएका विद्युतीय उपकरणहरुको चेकजाँच गरिनेछ ।

स्थानीय खोलाको भेल बिराटनगर ४ स्थित आयल निगम र बिराटनगर विमानस्थल क्षेत्रमा पसेको थियो । विमानस्थलसँगै रहेको नेपाल आयल निगमको डिपोको करिव २ मिटर काम्पाउण्ड वालसमेत भत्काएर बाढी विमानस्थलको धावन मार्ग र कार्यालय परिसरमा प्रवेश गरेको थियो ।

भेलले आयल निगमको डिपो कार्यालयसँगै रहेको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीको कार्यालय र बासस्थल समेत जलमग्न बनाएकोे थियो । विमानस्थल सुरक्षाका लागि राखिएको नेपाल प्रहरीको कार्यालयबाट प्रहरीहरु विस्थापित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment