Comments Add Comment

कांग्रेसमा एकदलीय संस्कार हावीः प्रकाशमान

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा एक दलीय संस्कार हावी भएको बताएका छन् । कांग्रेस लोकतन्त्रका लागि लडेको प्रजातान्त्रिक पार्टी भएपनि बिचारभन्दा ब्यक्ति पूजा गर्ने संस्कार मौलाउन थालेको उनको भनाइ छ ।

‘लोकतन्त्रका लागि लडेको प्रजातान्त्रिक पार्टी भएपनि एकदलीय संस्कार हाबि हुन थालेको छ, यो दुःखको कुरा हो,’ काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा नेविसंघ इकाइले मंगलबार बिहान आयोजना गरेको कार्यक्रममा उनले भने ।

पार्टी नेतृत्व राष्ट्रिय मुद्दाहरूलाई प्रभावकारी ढंगले उठाउन नसकेको उनले आरोपसमेत लगाए । ‘कांग्रेसले मुलुकको सबै समस्या साधान गरोस् भन्ने इच्छा सबैमा पलाएको पाइन्छ’, उनले भने, ‘कांग्रेस नेतृत्व राष्ट्रिय मुद्दालाई नेतृत्व गर्न नसकेको हो कि भान जनतामा परेको छ ।’

नेता सिंहले पार्टीभित्रको गुटको असर नेपाल विद्यार्थी संघमा पनि परेको भन्दै असन्तुष्टि जनाए । ‘नेविसंघले जसरी काम गर्नुपर्ने हो गर्न सकेन’, उनले भने, ‘सायद नेविसंघभित्र पनि पार्टीको गुटको प्रभाव परेको हो कि ?’

तराईमा भइरहेको बाढी र डुबानका विषयमा चिन्ता व्यक्त गर्दै सिंहले यो बिपत्तिको सबै नेपाली एक भएर सामना गर्नुपर्नेमा जोड दिए । उनले पीडित जनताको मर्म र भावना बुझेर राहत, उद्दार र पुनःस्थापनमा लाग्न कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment