Comments Add Comment

बाढी प्रभावित क्षेत्रमा यसरी भइरहेको छ काम, हेर्नुस् गृहमन्त्रालयको विवरण

३१ साउन, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अहिले खोज, उद्धार र राहतको काम जारी छ । पीडितलाई सुरक्षित स्थानमा सार्ने, खाने बस्ने व्यवस्था मिलाउने, औषधि उपचार गर्ने लगायतको काममा २६ हजार ७ सय जनशक्ति परिचालित छन् ।

केही जिल्लाहरुमा काठमाडौंबाट र केही जिल्लामा छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीहरुले राहत पुर्‍याइरहेका छन् । राहत वितरण र उद्धारको काम प्रभावकारी भए-नभएको अनुगमन गर्न गृहमन्त्री जनार्दन शर्मा आफै सक्रियतापूर्वक फिल्डमा खटिएका छन् ।

राहत, उद्धार र पुनःस्थापनाको कामका लागि सरकारले केही नीतिगत निर्णयहरु पनि गरेको छ ।

आज कुन जिल्लामा कसरी भइरहेको छ काम ? हेर्नुहोस् गृह मन्त्रालयले उपलब्ध गराएको यो विवरण-

१. खोज तथा उद्दार र राहतका लागि कुल जनशक्ती २६,७०० प्रत्यक्ष फिल्डमा खटिएका ।

२. खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलीकप्टर  ७ वटा, निजी क्षेत्रका हेलिकप्टर ६ वटा, मोटर बोट, र्याफ्टीङ बोट,  डोरी, ट्युबलगायतका साधनहरु प्रयोग गरिएको ।

३. कैलाली भजनीका ४० घरपरिवारलाई नजिकैको सुरक्षित क्षेत्रमा सेल्टरमा राखिएको ।

४. धनुषा जिल्लामा ६०० प्रभावित घरपरिवारलाई धर्मशाला, विद्यालय सेल्टरमा राखिएको छ ।

५. बाँकेमा जम्मा २७२ घरपरिवारका १८८० लाई नजिकका विद्यालय भवन, गा.वि.स.भवन लगायत विभिन्न २२ वटा सेल्टरमा राखिएको ।

६. अन्य जिल्लामा पनि विभिन्न सेल्टरहरुमा राखिएको ।

राहत तथा खाद्यान्न वितरण

१. रौतहटको गौर र गरुडा तथा सर्लाही जिल्लाका विभिन्न स्थानमा फसिरहेका व्यक्तिहरुको लागि ३,९५० के.जी.खाद्यान्न (ड्राइफुड) सेट हेली मार्फत लिई वितरण गरिएको छ ।

२. चितवनबाट ५,००० के.जी. र मकवानपुरवाट १६८० के.जी. गरी जम्मा ६,६८० के.जी.खाद्यान्न र विरगंजवाट १००० के.जी. खाद्यान्न (ड्राइफुड) रौतहटको लागी प्याकेजिङ्ग कार्य सकी पठाउने क्रममा रहेको ।

३. प्रभावित परिवारको लागि ५०/६० जनासम्म अट्ने ठूलो साइजको १९ थान त्रिपाल सर्लाही जिल्लामा हेलिबाट पठाइएको छ ।

४. हेटौडाबाट थप १६०० त्रिपाल रौतहट लगायतका जिल्लामा पठाउने क्रममा रहेको ।

५. मोरङबाट ४ वटा ठुला ट्रकमा सप्तरी जिल्लाको लागि ५,००० के.जी. खाद्यान्न (ड्राइफुड) पठाइसकिएको र वितरण गर्ने क्रममा रहेको ।

६. मोरङबाट थप १० ट्रक र विरगंजवाट थप १५ ट्रक खाद्यान्न (ड्राइफुड) बाढी सप्तरी, सर्लाही, सुनसरी र रौतहटमा पठाउने क्रममा रहेको ।

७.बाढी डुबान प्रभावित अन्य सबै जिल्ला प्रशासन कार्यालयले सुख्खा खाद्यान्न (ड्राइफुड) पानी सहित खरिद प्याकेजिङ गरी आफै सवारी साधनहरु मार्फत द्रुत रुपमा वितरण गरीरहेको ।

 नीतिगत विषयहरु

१. केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक बसी केन्द्र तथा जिल्ला स्तरमा रहेको सबै विषयगत क्षेत्र (कलष्टर) लाई सक्रिय बनाई कार्य भइरहेको ।

२. बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत वितरण गरी प्रभावकारिता ल्याउनको लागि मन्त्रालयले सहसचिव केदार न्यौपाने (सम्पर्क नं.९८५११४००११) लाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको ।

३. प्रत्येक मृतकका नजिकका परिवारलाई २ लाख रुपैया काजक्रिया (राहत) खर्च स्वरुप प्रदान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ।

४. बाढी, पहिरो र डुबानबाट प्रभावित जिल्लाहरुमा राहत वितरणका लागि प्रभावित २१ जिल्लाहरुमा रु. १ करोड ९८ लाख निकासा गरिएको छ । अन्य रकम आवश्यकता अनुसार तत्काल पठाइनेछ ।

५. राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रमा एकिकृत रुपमा सूचना संकलन, विश्लेषण, समन्वय र प्रतिवेदन गर्न सह-सचिवको नेतृत्वमा सुरक्षा निकायहरुका प्रहरी नायव महानिरीक्षक समेत रहेको ५ जनाको कमान्ड पोष्ट खडा गरी २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको ।

६. बाढी तथा डुबान प्रभावित क्षेत्रको जनसंख्याको आधारमा औषधि सहितको स्वास्थ्यकर्मीहरुको टोली तयार गरी पानीजन्य सरुवा रोग नियन्त्रण गर्न तथा अन्य रोगहरु फैलन नदिन स्थलगत रुपमा परिचालन गरिएको ।

७. स्थानीय तहको सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा सरोकारवालाहरु सम्मिलित उद्धार तथा राहत वितरण समन्वय समिति गठन गरी तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको ।

८. जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुको विदा वा काज स्वीकृत नगर्ने र मनसुन अवधीभर जिल्ला नछोड्न सबै जिल्लाका प्र.जि.अ.हरुलाई निर्देशन गरिएको ।

९. बाढी तथा डुबान प्रभावित क्षेत्रको क्षती मूल्यांकनको लागि प्रारम्भिक द्रुत लेखाजोखा गरी १० दिन भित्र विवरण पठाउन मन्त्रालयबाट विपद प्रभावित सबै जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार समेत गरी निर्देशन दिइएको ।

१०. विपदमा परी घाइते हुनेहरुलाई सरकारी अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था मिलाइएको ।

यो पनि पढ्नुहोस्

राहतबारे बुझ्न गृहमन्त्री पुगे हवाई अड्डा

बाढीपीडितका लागि त्रिपाल टाँग्ने ठाउँ समेत छैनः गृहमन्त्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment