Comments Add Comment

साउनयता नेप्सेले जोड्यो मात्रै ६ अंक, पाँच दिनमा ३८ अंक घट्यो


३१ साउन, काठमाडौं । साउन १ गतेबाट थोरै उतारचढाव सहित बढ्ने दिशामा देखिएको नेप्सेमा गत ५ दिन (कारोबार दिन) यताको गिरावटले लगभग महिनाको सुरुकै तहमा आइपुगेको छ ।

साउनयता लगभग ४५.५९ अंक जोडेर १६६७ बिन्दुमा पुगेको नेप्सेले पाँच दिनयता ३८.७६ अंक गुमाएको हो । साउन यताको वृद्धि मा ६.८३ अंक मात्रै बाँकी रहेको छ । नेप्से परिसूचक मंगलवार १६२९ बिन्दुमा आइपुगेको छ ।

यस दिन कारोबार रकममा ७८ करोडमा सिमित भएको छ । छोटो अवधिमा प्रतिफल पाउन सक्ने अवस्था भएपनि बजारमा वृद्धि देखिएको छैन् । बैंकहरुको कर्जा योग्य लगानी रकमको अभावको समस्या समाधान भएपनि कर्जाको व्याजदर खासै नघटेको (एकाध बैंकले भने घटाएका छन्), सेयर धितोमा कर्जा सहज नभएको कारण पनि बजार बढ्न सकेको छैन् ।

तराई लगायतका क्षेत्र डुवानमा परेपछिको क्षतिले बिमा कम्पनीहरुमा कस्तो दायित्व पर्ने हो भन्ने विषयले पनि बजारको वृद्धि रोकिएको छ । हालै बिमा समितिले कम्पनीहरुसँग क्षतिको तथ्यांकको माग गरेका छन् । यता, बाढिले गर्दा आर्थिक तराइका शहरहरुमा समेत आर्थिक गतिविधि प्रभावित बनेको छ । यो क्षतिको प्रत्यक्ष तथा अप्रत्यक्ष असर बैंकहरुमा कस्तो पर्ने हो भन्ने असरहरु पनि देखिएको छ ।

कतिपय वित्तीय संस्थाहरुको यसवर्षको नाफा पछि लाभांश क्षमता समेत घटेको (२० प्रतिशत मुनि) रहेको देखिएको छ । (हुनतः सञ्चितीमा बाड्न योग्य रकम रहेमा भने लाभांश क्षमता बढ्ने गर्छ ।) बजार उच्च विन्दुमा नै (हालको सर्वाधिक उचाई १८८१ को आधारमा) रहेको, कर्जाको व्याजदर उच्च नै रहेकोले भावि दिनमा बजार थप घटेमा प्रतिफलले मुनाफा हुन नसक्ने सम्भावना रहेकोले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

यस दिन नेशनल हाइड्रोपावरको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कम्पनीमा नयाँ सञ्चालक समिति आएको खबरले लगानीकर्ताहर आशावादी भएका देखिन्छन् ।

ओरियण्टल होटेलको सेयर मूल्य बढेपछि होटेल समूहको परिसूचक पनि वृद्धि भएको छ । कम्पनीको नाफा दोब्बरले बढेर २२ करोड पुगेपछि लगानीकर्ता आकर्षित भएका हुन् । सोल्टि होटेलको नाफा १ सय २६ प्रतिशतले बढेर १८ करोड पुगेको वित्तीय विवरण सार्वजनिक भएपनि मूल्य भने ३ रुपैयाँले घटेर ३ सय ७५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment