Comments Add Comment

थप २ न्यारोबडी जहाज किन्ने वायुसेवा निगमको तयारी

बिना टेण्डर किन्न एयरबससँग छलफल सुरु


३२ साउन काठमाडौं । आक्रामकरुपमा बजार बिस्तारको रणनीति लिएको नेपाल वायु सेवा निगमले थप दुई वटा न्यारो बडी जहाज खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जहाज थोरै भएका कारण ४० प्रतिशत उडान कटौति गर्नु परेपछि निगमले यस्तो कदम चालेको हो ।

निगमले अहिले एयरबससँग बिमान खरिदको बारेमा छलफल गरिरहेको छ । सार्वजनिक खरिद ऐन परिमार्जन भएसँगै निगमले सिधै एयरबसँग बिमान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले उडान भरेकै स्थानका लागि न्यारो बडी जहाज ल्याउन लागेका हौ । अहिले एयरबसँग प्रारम्भिक छलफल गरिरहेका छौ ।’

‘ए ३२०-२०० सिरिजको न्यारोबडी जहाज खरिद गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।

साथै अहिले निगमले दुईवटा वाइड बडी ३३०-२०० ल्याउन लागेको छ । यो २०१८ को अक्टोबरसम्ममा ल्याउने निगमको तयारी छ ।

अहिले दुईवटा वाइडबडी खरिदका लागि निगमले ८ अर्ब रुपैयाँ एएआर कम्पनीलाई पठाइसकेको छ । यी जहाजहरु आइसकेपछि अन्तर्राष्ट्रिय उडानमा निगमकोे बजार हिस्सा बढ्ने श्रेष्ठ बताउँछन् ।

त्रिभुवन बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्नेमा गत वर्ष निगम सबैभन्दा अग्रस्थानमा रहेको रह्यो । सन् २०१५ मा नेपाल एयरलाइन्स नेपालमा सबैभन्दा बढी उडान भर्ने र यात्रु बोक्ने बिमान कम्पनीको सुचीमा क्रमशः तेस्रो र पाँचौं स्थानमा थियो । तर, २०१६ मा आइपुग्दा दुवै सुचीमा निगम पहिलो बनेको छ ।

तर यो वर्ष यही साख कायम रहनेमा आशंका उत्पन्न भएको छ । निगमसँग अहिले दुईवटा बोइङ छन् । तीमध्ये बि ७५७-२०० पुरानो भएर लिलामीमा राखिएको छ भने बी ७५७-२०० एम मर्मतको लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा छ ।

अहिले निगमले दुईवटा ए ३२० एयरबसबाट मात्रै सेवा प्रदान गरिरहेको छ । एक लिलामीमा र अर्काे मर्मतमा गएका कारण यसको ४० प्रतिशत उडान कटान भएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

भुटानबाट भाडामा लिन लागेको जहाज पनि कानुनी जटिलताका कारण यसले ल्याउन सकेन । जसका कारण सन् २०१५ मा दुईवटा एयरबस भित्राएर कमाएको साख यो वर्ष गुम्ने खतरा छ ।

सन् २०१५ को तुलनामा सन् २०१६ मा निगमको व्यवसाय आक्रामक हुनुमा पहिलो कारण विमान थपिनु नै थियो । सन् २०१५ मा थपेका बिमानले नै यसको साख उँचो बनाइदिएका थिए । एयरलाइन्सले अहिले भारतका दिल्ली, मुम्बई, बैंगलोरदेखि लिएर बैंकक, क्वालालम्पुर, दोहा, हङकङ र दुवईमा समेत उडान भरिरहेको छ ।

यसअघि दिल्ली, दोहा, मुम्बई र बैंगलोरमा यसका उडान थिएनन् । ती गन्तव्यमा विदेशी विमानबाट मात्रै नेपालीहरु आवतजावत गर्न बाध्य थिए । नेपाल एयलाइन्सले विदेशका विभिन्न स्थानमा उडान गर्न थालेपछि अन्तरार्र््िट्रय विमान कम्पनीले पनि नेपालको भाडादर संशोधन गर्न बाध्य भएका छन् ।

अहिले निगमले दुई थप न्यारोबडी ल्याएर दुबई, दोहा, हङकङ र दिल्लीमा थप उडान भर्ने तयारी गरेको छ । स्वदेशी जहाज नहुँदा अन्तर्राष्ट्रिय बिमान कम्पनीले नेपाल आउने भाडा चर्को असुल्ने गरेका छन् ।

जसले पनि नेपालको पर्यटन व्यवसायलाई असर गरेको छ । निगमको जहाज बढेसँगै भाडा सस्तो हुने र नेपालमा पर्यटक बढ्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

पर्यटन व्यवसायीले निगमलाई पटक पटक जहाज थप्न आग्रह गर्दै आएका थिए । यसै अनुरुप नै निगमले थप दुई न्यारोबडी जहाज पनि ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment