Comments Add Comment

चौधरी बस्तीका नायकः जसले ज्यानको परवाह नगरी गाउँलेलाई बचाए

सत्यनारायण गोसाईं

३२ साउन, झापा । पश्चिमपट्टि ठूलो माई र पूर्वमा सानो माईको बीचमा रहेको टापु हो, चौधरी बस्ती ।

जिल्लामै बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको गाउँपालिका हो, झापा । सोही गाउँपालिकामा पर्छ, उक्त वस्ती । बाढीका कारण चौधरी वस्ती तहसनहस बनेको छ । बासस्थान त टाढाको कुरा, अन्नको एउटा दाना पनि गाउँवासीले जोगाउन सकेनन् ।

२८ साउन बिहान करिब ६ बजेदेखि गाउँमा बाढी पस्न थाल्यो । दुवैतिरका खोलाले गाउँलाई च्याप्न थाले । स्थानीय बासिन्दा चिच्याउन थाले तर उनीहरुको रुवाई सुन्ने कोही थिएन ।

सिंगो गाउँपालिका नै बाढीको चपेटामा परिसकेको थियो । आ-आफ्नो ज्यान जोगाउनतिर लाग्नुको विकल्प गाउँलेसँग थिएन ।

सोही टोलका सत्यनारायण गोसाईं त्यस दिन केही टाढाको मदरगाछमा थिए । गाउँमा खोलो पसेको जानकारी पाउनासाथ उनलाई वस्तीको चिन्ता भयो । र, ज्यानको परवाह नगरी त्यतै दौडिए । गोसाईंले सम्झिए, ‘ वस्तीमा आइपुग्दा पानी छातिसम्म आइसकेको थियो ।’

मदरगाछबाट ६ बजे हिँडेका उनलाई बस्ती पुग्न एक घण्टा लाग्यो । ‘आइपुग्नेबित्तिकै बाढीमा फसेका गाउँलेलाई बाहिर निकाल्न थाल्यौं,’ उनले भने ‘पानी बढेको बढ्यै थियो ।’ सबैभन्दा अगाडि महिला, गर्भवती, बालबालिका र बिरामीलाई उद्धार गरे ।

केराको डुंगाको सहारा

गाउँछेउमा केरा रोपिएको थियो । उनले केराको थाम ढाले र डुंगा बनाए । त्यसैको सहायतामा बस्तिका सबैलाई सुरक्षित स्थानमा पुर्‍याए ।

मान्छेलाई सुरक्षित बनाएपछि सामान ओसारे । केही मानिस अझै फसिरहेका थिए । उनीहरूलाई पनि ज्यान जोगाउन मद्दत गरे । छरछिमेकीको सहयोगमा गोसाईंले ७० जनालाई मदरगाछ पुर्‍याए ।

उनको उत्साह देखेर अन्य करिब २५ जनाले साथ दिने बताए । तर, गाउँ पुग्दासम्म तीन जना मात्र बाँकी रहे । अरु सबै बाटैबाट फर्किए । गोसाईंले भने, ‘कोही खोला तर्न नसकी फिर्ता भए ।’ त्यसपछि तीन जना मिलेर बाढीमा फसेका बाँकी गाउँलेको उद्धार गरे ।

जानकारी गराए पनि प्रहरी त्यहाँ पुग्ने अवस्था नै थिएन । पूर्व-पश्चिम राजमार्गमा पर्ने सुरुंगा बजारदेखि सात किलोमिटर टाढा माथिल्लो चप्रामारीमा बिरिङ र सुरुंगा खोला पस्छन् । सडक जलमग्न हुन्छ । यसपालि पनि त्यहाँ करीव चार फिटसम्म पानी थियो ।

मान्छेलाई बचाउन सके पनि गाई वस्तु जोगाउन नसक्दा उनी दुःखी छन् । गाउँमा पानी सुकेको ४८ घण्टा बित्दासमेत मरेका पशुचौपाया यत्रतत्र लडिरहेका थिए । दुर्गन्धका कारण गाउँमा बसिसक्नु थिएन ।

झापा ७ का वडा सदस्य ईश्वरप्रसाद दाहालका अनुसार त्यस वस्तीमा यसपालिको बाढीले २१ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

रेडक्रस र स्थानीय तहको पहलमा १/२ दिनलाई पुग्ने खाद्यवस्तु गाउँमा पुर्‍याइएको छ । त्यसपछिको जीवन कसरी अगाडि बढाउने भन्ने दोसाँधमा छन् सबै ।

वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले सत्यनारायणको साहसको मुक्तकण्ठले प्रसंसा गरे । ‘विपतका बेला मानिसलाई आफ्नै ज्यान जोगाउने चिन्ता हुन्छ,’ वडा सदस्य मोहन पोखरेलले भने, ‘तर, सत्यनारायणले आफ्नै ज्यान जोखिममा राखेर गाउँलेलाई बचाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment