Comments Add Comment

नेपाली उत्पादनलाई चीनमा ‘ड्यूटी फ्री’ गर्न व्यवसायीको आग्रह


३२ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चीनसँग नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा ‘ड्यूटी फ्री’ सुविधा तथा भन्सार सहुलियत दिन आग्रह गरेको छ । महासंघी अध्यक्ष भवानी राणाले नेपालको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री वाङ याङसँग यस्तो अनुरोध गरेकी हुन् ।

याङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चीनको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भएको औपचारिक भेटवार्तामा महासंघकी अध्यक्ष राणाले समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनियाँ सरकार तथा त्यहाँको निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताइन् ।

अध्यक्ष राणाले हाम्रो क्षमता अभिवृद्धि गर्न होस् वा उत्पादन क्षमता बढाउन, लगानी प्रवर्द्धन होस वा नेपालभित्र पर्याप्त आर्थिक अवसरहरुको सृजना गर्न अझ बढी चिनियाँ सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको स्पष्ट पारिन् ।

चीनसँगको चुलिंदो व्यापार घाटालाई न्यूनीकरण गर्न नेपाली उत्पादनहरूको चिनियाँ बजारमा सहज प्रवेशका लागि उपप्रधानमन्त्री समक्ष अध्यक्ष राणाले आग्रह पनि गरिन् । यसका लागि चीनमा निर्यात सम्भाव्यता भएका नेपाली वस्तु तथा सेवाहरुलाई डयूटी फ्री सहुलियत सुविधाको माग समेत गरिन् ।

नेपालमा संयुक्त लगानीमा उत्पादन गरी चीनको बजारमा निर्यात गर्न सकिने वस्तु तथा सेवामा आधारित उद्योग व्यवसायमा सहकार्य एवम् सहयोगमा समेत अध्यक्ष राणाको जोड थियो ।

नेपालमा चिनियाँ लगानी उल्लेख्य रुपमा बढी रहेको बताउँदै अध्यक्ष राणाले विगत देखिनै नेपालको जलविद्युत, सिमेन्ट उत्पादन लगायतका क्षेत्रमा ठूलो मात्रामा चिनियाँ लगानी गरिरहेकोमा धन्यवाद ज्ञापन गरिन् ।

एशियन पूर्वाधार विकास बैंकको संस्थापक सदस्य तथा मित्र राष्ट्र चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक रोड अभियान’ को महत्वपूर्ण हस्ताक्षरकर्ताको नाताले नेपालले चीन तथा एक क्षेत्र एक रोडसंग जोडिएका देशहरूसँग प्रगाढ सम्पर्क स्थापित गर्दै लगानी एवं प्रविधि आकर्षण, वाह्य सम्पर्क विस्तार एवम् पूर्वाधार अभावलाई समेत परिपूर्ति गर्नेे विश्वास नेपाली निजी क्षेत्रको रहेको अध्यक्ष राणाले बताइन् ।

अध्यक्ष राणाले ‘एक क्षेत्र एक रोड’मार्फत नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोगका लागि उपप्रधानमन्त्री समक्ष आग्रह समेत गरिन् ।

सो अवसरमा चिनियाँ उपप्रधानमन्त्रीले नेपाली निजी क्षेत्रसँगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताए । चीन नेपाल बीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तर रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment