Comments Add Comment

पोखराबाटै माउन्टेन फ्लाइटसँगै भैरहवा र भरतपुर उडान गर्ने बुद्धको घोषणा

३२ साउन, काठमाडौं । बुद्ध एयरले पहिलो पटक राजधानी काठमाडौंभन्दा बाहिरको प्रमुख पोखरा विमानस्थलबाट दुई गन्तब्य तथा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सञ्चालन गर्ने घोषणा गरेको छ ।

स्थापनाको दुई दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार गरी विभिन्न आन्तरिक गन्तव्यमा उडान सञ्चालन गर्दै आएको बुद्धले आगामी भदौ ३० गतेबाट मुलुकको दोस्रो ठूलो पर्यटन गन्तव्य पोखराबाट रुपन्देहीको भैरहवा र चितवनको भरतपुर उडान सञ्चालन गर्न लागेको हो । त्यसैगरी पोखरा विमानस्थलबाट माउन्टेन फ्लाइट पनि सुरु गर्ने भएको हो ।

‘पोखराबाट भैरहवा र भरतपुर उडान सुरु गर्ने सम्पूर्ण तयारी पूरा भएको छ,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्छन्, ‘हामी पहिलो पटक पोखरा विमानस्थललाई आधार गरेर भैरहवा र चितवन उडानमात्र होइन माउन्टेन फ्लाइट पनि सञ्चालन गर्छौं ।’

काठमाडौंबाट ती स्थानमा जान र उताबाट पनि आउनमात्र नभई पोखराबाट भैरहवा वा चितवन पुग्न पनि केही अवधिदेखि सडकमा देखिएको निर्माणकार्यदेखि पहिरोसम्मले स्थलमार्गबाट आवगमनमा समस्या भएपछि बुद्धले ती गन्तव्यका लागि उडान सुरु गर्ने घोषणा गरेको हो ।

त्यसैगरी पोखराबाट भैरहवा र भरतपुर उडानले ती तीनवटै क्षेत्रका बासिन्दादेखि ती ठाउँ जान चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई धेरै नै फाइदा पुग्ने र सहज आवागमन गर्न सकिने बुद्धले जनाएको छ ।

‘स्वदेशी वा विदेशी यात्रुलाई पोखराबाट भैरहवा जानुपर्‍यो वा पोखराबाट भरतपुर जानुपर्‍यो वा ती गन्तव्यबाट पोखरा आउनुपर्‍यो भने गाडीबाट यात्रा गर्नुको विकल्प छैन र सडकको अवस्था हामी सबैले देखेकै र भोगेकै छौं,’ बुद्धका प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘हो यही आवागमन समस्या सुल्झाउँदै यात्रुलाई सहज आवागमन गराउन हामीले पोखराबाट भैरहवा र भरतपुर उडान सञ्चालन गर्ने घोषणा गरेका हौं र हामीलाई आशा छ ती तीनवटै पर्यटन गन्तव्यका बासिन्दा, स्वदेशी तथा विदेशी पर्यटक र अन्य यात्रुले हामीलाई सदा झैं यसपालि पनि साथ र सहयोग गरिदिनुहुने छ ।’

पोखराबाट पहिलो पटक माउन्टेन फ्लाइट सञ्चालन गर्न लागेका कारण आफूहरू थप हौसिएको बुद्धका प्रबन्ध निर्देशक बस्नेत बताउँछन् ।

‘माउन्टेन फ्लाइटका लागि भने केही नयाँपन दिनुपर्छ भन्ने उद्देश्यले पोखरामा पनि सुरु गर्न लागेका हौं,’ बस्नेत भन्छन्, ‘पोखरा आइपुगेका पर्यटक जसले काठमाडौंमा माउन्टेन फ्लाइट गर्न भ्याएनन् भने उनीहरूले पोखराबाट यसको आनन्द लिन सक्छन् । तर, काठमाडौंबाट हामीले गर्ने माउन्टेन फ्लाइटको अनुभव बेग्लै हुने गर्छ ।’

कम्पनीले पोखराबाट माउन्टेन फ्लाइट गर्न प्रतियात्रु ११२ अमेरिकी डलर तोकेको छ । पोखरा माउन्टेन फ्लाइट गर्दा आठवटा हिमालको अविष्मरणीय दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

यसरी माउन्टेन ˆलाइट गर्दा ८ हजार १ सय ७२ मिटर अग्लो धौलागिरि, ८ हजार ९१ मिटरको अन्नपूर्ण पहिलो, ६ हजार ९ सय ९३ मिटरको माछापुच्छ्रे, ७ हजार ५ सय ५५ मिटरको अन्नपूर्ण तेस्रो, ७ हजार ५ सय २५ मिटरको अन्नपूर्ण चौथो, ७ हजार ९ सय ३९ मिटर अग्लो अन्नपूर्ण दोस्रो, ६ हजार ९ सय ३२ मिटरको लमजुङ हिमाल र ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाललाई असाध्यै नजिकबाट नियाल्न सकिन्छ ।

कम्पनीका अनुसार पोखरा माउन्टेन फ्लाइटको अवधि ३० मिनेटको हुनेछ । पोखरामा सञ्चालित अल्ट्रालाइट उडानभन्दा जहाजबाट माउन्टेन फ्लाइट सस्तो र धेरै नै सुरक्षित हुने गर्छ ।

यसबाट स्वदेशी तथा विदेशी पर्यटकले भरपूर आनन्द लिनसक्ने र पोखराको पर्यटन विकास, प्रवर्द्धनमात्र नभई त्यहाँको पर्यटन क्षेत्रमा नयाँ उत्पादन पनि हुने विश्वास छ ।
हाल करिब ८ सय ५० कर्मचारी काम गर्ने बुद्धले यस अवधिमा आइपुग्दा आन्तरिक उडानतर्फ ७० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

कम्पनीले उडान सुरु गरेर २०७३ असोजसम्म आइपुग्दा स्वदेशी तथा विदेशी गरी झन्डै ९० लाख यात्रुलाई गन्तव्य पुर्‍याइसकेको छ ।

कम्पनीसँग हाल ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२-५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२-३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राˆट-१९००डी’ सिरिजका जहाज सञ्चालनमा छन् । यी नौ जहाजबाट दैनिक ४० भन्दा बढी उडान गरिरहेको छ ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा उडान गरिरहेको छ ।

त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार उडान पनि गरिरहेको छ ।

कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर हृयांगर’ पनि सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment