Comments Add Comment

लोकसेवाको विज्ञापन र अन्योलको उपयोग

सम्पूर्ण शिक्षित नेपाली युवाहरुको आस्था र भरोसाको केन्द्र बनेको लोकसेवा आयोगका विज्ञापनहरु अब केही समय नहुने भन्ने चर्चाले महत्व पाएको छ । सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न ‘कर्मचारी समायोजन ऐन, २०७४’ को मस्यौदा संसदमा पेश भए पश्चात यो विषयले महत्व पाएको हो ।

उक्त विधेयकमा “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएको मितिले एक वर्षसम्म सरकारी सेवाको रिक्त पदमा खुला वा बढुवाद्वारा पदपूर्ति गरिने छैन ।” भन्ने बाक्यांशले निजामती सेवामा छिरेर राष्ट्रको सेवा गर्ने लक्ष्य राख्ने तमाम परीक्षार्थीलाई अवश्य दुःखी बनाएको छ ।

यसले भर्खरै प्रतिस्पर्धात्मक बजारमा प्रवेश गर्न खोज्नेलाई निरास त बनाएकै छ । लोकसेवाको दैलो कुरेर वर्षौंदेखि अन्य सबै अवसरलाई वेवास्ता गर्दै बसेका हजारौं युवाहरु त अझ धेरै मर्माहत बनेका छन् । अझ कति प्रतियोगी त सम्पूर्ण तयारी पूरा गरेका, लिखित परीक्षाहरुमा सफल भएका तर अन्तिम छनौटमा पर्न नसकेका छन् । कतिको वर्षौंको मेहनत र हजारौं रुपैयाँ लगानी भएको छ । त्यतिकै समय लगानी भएको छ ।

यी सबैलाई आफ्नो आशाको त्यान्द्रो कतै सधैंलाई चुँडिएको त हैन भन्ने कुराले निराश बनाउनु स्वाभाविक हो । तर, यसको अर्थ सरकारी सेवामा छिर्ने ढोका सदाका लागि बन्द भएको जसरी जे जति हल्ला चलाइएको छ, त्यो सत्य होइन । तिनका पछाडि लाग्नु भन्दा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर यो अवधिको अधिक भन्दा अधिक फाइदा लिनु बढी बुद्धिमत्तापूर्ण ठहर्छ ।

वास्तविक भन्दा मानसिक प्रभाव बढी

एक वर्षसम्म लोकसेवा नखुल्ने विषयले वास्तविक समस्या भन्दा बढी मानसिक समस्या खडा गरेको छ । सााच्चिकै भन्दा एक वर्षको समय सामान्य अवस्थामा तयारीकै समय हो । स्कूलमा एउटा कक्षाबाट अर्को कक्षामा जाादा होस् वा विश्वविद्यालयको पाठ्यक्रम सक्दा होस् ६ महिनादेखि एक वर्षको समय लागेकै हो ।

लोकसेवा आयोगका विभिन्न पदका लागि प्रकाशित वर्तमान पाठ्यक्रमलाई हेर्ने हो भने पनि पूर्ण तयारी गर्न सामान्य अवस्थामा ४, ६ महिनादेखि १ वर्षसम्मको समय लाग्नु अस्वाभाविक होइन ।

लोकसेवाको परीक्षामा सफलता पाइसकेका उमेद्वारको अनुभव पनि यस्तै नै रहेको पाइन्छ । तसर्थ यो विषयले वास्तविकता भन्दा बढी मानसिक अन्योलता खडा गरेको देखिन्छ ।

यसकारण यो समयलाई बर्बाद नपारी अझ बढी उपयोग गर्ने, अझ बढी रचनात्मक बनाउने, अध्ययनलाई अझ ब्यापक र पूर्ण बनाउने तर्फ लाग्नु नै बुद्धिमानी ठहर्छ । यो समयलाई निम्नानुसार बढी उपयोगी बनाउन सकिन्छ ।

आफूलाई अद्यावधिक राखिरहौं

समय क्रममा हामीले जानेका विषयवस्तु परिवर्तन भैरहेका छन् । वाषिर्क रुपमा प्रकाशन हुने सरकारी प्रकाशनहरु जस्तो आर्थिक सर्वेक्षण, बजेट, मौदि्रक नीति, संस्थान समीक्षा, मन्त्रालयगत प्रगति प्रतिवेदनले नयाा नयाा तथ्यांकहरु सार्वजनिक गरिरहेका छन् । तिनका आधारमा आफूलाई अद्यावधिक गरिराख्नुपर्ने हुन्छ । त्यसैगरी विभिन्न घटना, सूचना, निर्णयले हाल जानिरहेका विषयवस्तुलाई परिवर्तन गराएका हुन्छन् । तिनलाई पनि त्यसैगरी अद्यावधिक गराइरहनुपर्छ । यसर्थ तयारी यस्तो होस् कि तत्काल विज्ञापन भैहाल्दा पनि फरक नपरोस् ।

सम्भव भएका सबै परीक्षाहरुमा सहभागी बनौं

नेपालको वर्तमान संविधान लागू भए पश्चात निजामती सेवा बाहेकका क्षेत्रमा पनि लोकसेवाले परीक्षा सञ्चालन गर्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थानहरु, समिति, बोर्ड सबै सरकारी लगानीका निकायहरुको लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने हुँदा ती ती निकायको परीक्षा प्रणाली थप विश्वसनीय बनेको छ ।

यी सबै निकायको पाठ्यक्रममा केही न केही साझा अध्यायहरु छन् । यसर्थ तपाईंले हाल गरेकै तयारीमा सामान्य थपघट गर्दा नै पढाइ पुग्छ । पास पनि गरिन्छ । यदि तपाईंलाई निजामती सेवामा नै बढी रुची छ भने पनि पछि त्यता पास गरेपछि यता छोड्न सकिन्छ । यसरी परीक्षा दिनुका निम्न फाइदाहरु छन्ः

-परीक्षा दिने भए पछि पढाईले निरन्तरता पाउँछ । जानेका कुरा विर्सिदैन । थप जानिन्छ ।

-परीक्षादेखि लाग्ने डर कम हुँदै जान्छ । सबै परीक्षा यस्तै त हुन् नि भन्ने हुन्छ । आत्मविश्वास बढ्छ ।

-दिएका परीक्षामा पास भैहालियो भने पनि राम्रो नै भयो । पछि आफूले रोजेको फिल्डमा फेरि छिर्न त खुला नै छ ।

बनेको सक्षमतालाई घट्न नदिउँ

लोकसेवा आयोगको तयारीको क्रममा तपाईंंहरु धेरै भन्दा धेरै सूचना भण्डार संग्रह गरेर बस्नुभएको छ । कति फर्मूला लगाएर तथ्याङ्क याद गर्नु भएको होला ।

देख्दै झञ्झट लाग्ने तिथि, मिति, विज्ञका भनाइहरु, नाराहरु, बुँदाहरु अध्ययन गर्नमा निकै ठूलो त्याग, परीश्रम र वित्तीय स्रोतको लगानी भएको छ । यो क्षमतालाई घट्न दिनुहुँदैन । यो तपाईंंको पुजीँ हो । तर, यसले तपाईंंको दिमागमा रहेसम्म मात्रै काम गर्छ । यसका लागि निम्न उपाय अपनाउन सकिन्छ ।

१. सामाजिक सञ्जालहरुको उपयोग गरी आफ्नो ग्रुप बनाएर प्रश्नोत्तर कार्यक्रम गर्ने, अनुभव सेयरिङ गर्ने आदि गर्न सकिन्छ । यसले अध्ययनलाई ताजा राखिरहन मद्दत गर्छ ।

२. हाँजिरी जवाफ, निबन्ध लेखन वा अन्य प्रतियोगितात्मक कार्यक्रममा भाग लिने अवसर पाएसम्म लिने । यसले गर्दा भएको क्षमताको कहिन कही उपयोग भैरहेको हुन्छ । निष्कृय हुन पाउँदैन ।

३. दैनिक बोलिचाली ब्यवहारमा पनि आˆनो मेमोरी भण्डारको प्रयोग गर्ने प्रयत्न गर्ने । जस्तो –

-वैदेशिक रोजगारीको कुरा हुँदैछ भने देशको कूल आयको १/३ -एक तिहाइ) विप्रेषण आय रहेछ हगि भनेर साथीभाइ आफन्तमा शेयर गर्न सकिन्छ ।

-कृषिको कुरा गर्दै हुनुहुन्छ भने यहाँको कृषियोग्य भूमिको तथ्याङ्क, कृषिमा निर्भर जनसंख्याको तथ्याङ्क वा जीडीपीमा कृषिको योगदान घुसाइहाल्ने । यसले तपाईंको तार्किक क्षमता त मजबुत हुन्छ नै साथसाथै पढाईलाई पनि साथै लगिराखिन्छ ।

४. दैनिक उपलब्ध समयको सानो हिस्सा नै भए पनि नियमित रुपमा ‘रिभिजन’ मा दिने ।

५. विभिन्न प्राक्टिस प्रश्न सेटहरुको अभ्यास गरिरहने ।

आफूलाई बहु आयामिक बनाउनमा फुर्सदको सदुपयोग गरौं

आफ्नो सक्षमताको दायरा जति बढ्छ त्यति नै अवसर पाइन्छ । वर्तमान समयमा कोरा किताबी ज्ञानले मात्र पर्याप्त अवसरहरु पाइदैनन् । सूचना प्रविधिसम्बन्धी निपूर्णता, भाषागत निपूर्णता, दैनिक आवश्यकताका विभिन्न साधन सञ्चालन गर्न सक्ने निपूर्णता आदिले ब्यक्तिको सक्षमताको दायरा फराकिलो पार्दै लैजान्छन् ।

लोकसेवा आयोगको परीक्षा (खरिदार, सुब्बा, अधिकृत) को अन्तिम चरणमा कम्प्यूटर सीप परीक्षण हुन्छ । कतिपय प्रतियोगीहरुले लिखितमा नाम निस्केपछि मात्र कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान लिएको समेत पाइन्छ । त्यसो गर्दा राम्रो क्षमता प्रस्तुत गर्न सकिँदैन ।

अर्को महत्वपूर्ण पक्ष भाषागत ज्ञानको हो । खासगरी अंग्रेजी भाषाको सामान्य जानकारी राख्नु वैदेशिक सहयोग र वैदिशिक संभावना खोजिरहेको हाम्रो जस्तो मुलुकका लागि अति आवश्यक छ । भाषामा निपूर्णता हुनेले वैदेशिक भ्रमणमा सामेल हुने अवसर पाएको, स्वदेशमै सञ्चालन हुने कार्यक्रममा पनि महत्वपूर्ण जिम्मेवारी पाएको सबैतिर देखिएकै कुरा हो ।

यी सबै कुराहरुले तपाईंको क्षमता र अवसर दुबै बढाउँछन् नै । अझ त्यो भन्दा ठूलो कुरा तपाईंको आत्मविश्वास बढाउँछ ।

पढाईलाई अझ मजबुत बनाउने अभ्यासहरु गरौं

-मेमोरी टेक्निक्सहरु सिकौं ।
-स्पिड लर्निङ्ग टेक्निक्सहरु अध्ययन गरौं ।
-लेखन सीपहरुको अभ्यास गरौं,
-पढाइमा ध्यान केन्द्रित गर्ने तरिकाहरुका बारेमा जानकारी राखौं ।

यी विभिन्न टेक्निक्सहरु यू-ट्यूव वा अन्य अनलाइन माध्यममा सहजै उपलब्ध हुन सक्छन् । बजारमा उपलब्ध पुस्तकको सहाराले वा बिभिन्न यस्तै विषयमा सञ्चालित सेमिनार, वर्कसपमा भाग लिएर पनि यस्तो कला सिक्न सकिन्छ । फुर्सदको समयमा सिकेको यस्तो ज्ञानले आजीवन उपलब्धि हासिल गर्न सकिन्छ ।

अध्ययनको स्तर बढाउँ

कतिपय विषयवस्तुहरु केवल परीक्षाको तयारीका लागि मात्र अध्ययन गरिएको हुन्छ । सो भन्दा अगाडि नामै नसुनेका पनि कतिपय विषयवस्तु हुन्छन् । जे भए पनि परीक्षाको तयारी गर्नै पर्ने हुन्छ र आवश्यक तयारी पनि गरिन्छ । तर, यस्ता विषयवस्तुको यसरी गरेको तयारी लामो समय रहन भने पाउँदैन ।

अध्ययनलाई लामो समयसम्म सम्झनका लागि विषयवस्तुको विश्लेषण गर्ने, विषयवस्तुको प्रयोग गर्ने वा प्रयोग भएका हेर्ने, विषयवस्तुका सम्बन्धमा लेखिएका साहित्य, प्रतिवेदन आदिको अध्ययन गर्ने गर्न सकिन्छ । उदाहरणका लागि नागरिक वडापत्र भनेको यसो यसो हो भनेर रटेको जानकारी भन्दा कुनै कार्यालयमा गएर नागरिक बडापत्रलाई नै हेरियो भने सो सम्बन्धी जानकारी लामो समय रहन पाउँछ । अझ कहिल्यै पनि बिर्सिदैन ।

पत्रपत्रिकामा प्रकाशित लेख रचना पढ्ने बानीले अध्ययनको स्तरमा अझ बृद्धि गराउँछ । पत्रिकाका लेखहरु देश र समाजको परिवेश र सन्दर्भ अनुसार निस्कने हुँदा सो कुरा बुझ्नलाई सजिलो पनि हुन्छ । जस्तो पुँजीगत खर्च सम्बन्धी लेखहरु सामान्यतया असार मसान्ततिर प्रकाशित भएका हुन्छन् ।

स्थानीय निकायको चुनावको वरपर स्थानीय सरकारका चुनौती, तिनीहरुका अधिकार अदि जस्ता लेखहरु प्रकाशित भए । जुन माहौल छ सोही कुरा अध्ययन गर्दा हाम्रो दिमागमा कुराहरु स्टोर गर्न सजिलो पनि हुन्छ । स्थानीय तह भन्ने वित्तिकै आफैले भर्खरै लामो लाइनमा बसेर भोट हालेर बनाएको आफ्नै ठाउँको स्थानीय तहको चित्र दिमागमा आउँछ ।

त्यही चित्रसँगै संग्रहित गरिएका सूचना सहजै स्मरणमा रहन सक्छन् र लामो समयसम्म पनि रहन्छन् ।

अध्ययनको स्तर बढाउनका लागि विषयवस्तु सम्बन्धी विभिन्न निकायले प्रकाशन गरेका प्रतिवेदन, तथ्यांक आदिको समेत उपयोग गर्न सकिन्छ । यसका लागि अनलाइनमा नै अधिकांश सामग्री पाउन सकिन्छ नभए लाइब्रेरीहरुको पनि प्रयोग गर्न सकिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा तपाईं आफू तयार रहनुस्

देशमा अब सरकारी रोजगारी “केन्द्र सरकार”ले मात्र सिर्जना गर्दैन । केन्द्र सरकारको अतिरिक्त ७४४ स्थानीय सरकार र ७ प्रादेशिक सरकार सबैमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको पूर्ण संरचना रहने गरी संविधानले व्यवस्था गरेको छ । यी सबैमा आवश्यक कर्मचारीहरु परिपूर्ति गर्ने कार्य सिघ्र भविश्यमा नै अवश्य हुँदैछ । यसका लागि आफूलाई धारिलो बनाएर त राख्नै पर्छ ।

अहिले लोकसेवा नखुल्ने हल्लाको पछि दौडेर निराशपूर्वक समय बर्बाद गर्नेले विज्ञापन खुलेपश्चात समय नपुग्ने भयो भनेर पछुतो गर्नु सिवाय केही रहँदैन । पहिल्यै त्यत्रो समय हुँदा खुब पढ्नुपर्ने रहेछ भन्ने हुनेछ त्यो बेलामा । त्यसकारण पनि विस्तृत अध्ययनको लागि यसको राम्रो सदुपयोग गर्नुछ । तयारीको एक चरण पूरा गरिसकेकाले आफूलाई अध्याबधिक बनाउँदै आफ्नो पढाइलाई तरोताजा बनाइरहनमा समय लगाउनुपर्ने हुन्छ । जसले भर्खर शुरु गर्दै हुनुहुन्छ उहाँहरुका लागि त यो झन स्वणिर्म अवसर हो किनकि धेरै निपूर्णहरुलाई भेटाउने अवसर पाउनु भएको छ ।

तसर्थ बाहिरी हल्लालाई चलिरहन दिनुस, आफ्नो अध्ययनको निरन्तरता अवरुद्ध हुन नदिनोस् । सबैलाई शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment