Comments Add Comment

पोखरा पृथ्वीचोकको आइल्याण्ड ४ मिटरमा सीमित गरिने

पोखरास्थित पृथ्वी चोक ।तस्वीर: सुदर्शन रञ्जित अनलाइनखबर

१ भदौ, पोखरा । पोखराको सबैभन्दा व्यस्त पृथ्वीचोक (लखनचोक)मा रहेको आइल्याण्ड चार मिटरमा सीमित गरिने भएको छ । हालको १४ मिटर डायोमिटर रहेको पृथ्वीचोकको आइल्याण्ड घटाएर ४ मिटरमा सीमित गर्न लागिएको हो ।

हालको आइल्याण्डको परिधी ४३ मिटर छ भने अब यो घटेर करीब १२ मिटरमा झर्नेछ । पृथ्वीचोकको हालको आइल्याण्ड भद्दा, फराकिलो र अग्लो हुँदा ट्राफिक प्रहरीको संख्या धेरै खटाउनु पर्नुका साथै ट्राफिक जाम र दुर्घटनालगायतका समस्यासमेत आएपछि यसको आकार घटाउन लागिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

आइल्याण्डको आकार घटाउन सडक डिभिजन कार्यालयले पोखरा लेखनाथ महानगरपालिकासँग स्विकृति लिइसकेको छ । तर हाल ४ मिटरमा सीमित गर्ने भन्ने विषयमा भने सहमति भइसकेको छैन । आइल्याण्डको आकार घटाउन पोखरा लेखनाथ महानगरपालिकाको समन्वयमा पटक-पटक छलफल भएर आकार घटाउने निश्कर्षमा पुगेपछि सडक डिभिजन कार्यालय पोखराले कत्रो आकारको आइल्याण्ड बनाउन उपयुक्त हुन्छ भन्ने अध्ययन गर्न सडक विभाग अन्तर्गतको ‘रोड एण्ड ट्राफिक युनिट’ पुल्चोकलाई खटायो ।

युनिटले आइल्याण्डमा हुने सवारी चाप, त्यसको असर, जामको अवस्था हेरेर आइल्याण्ड ४ मिटरमा सीमित गर्न सुझाव दिएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम प्रकाश खत्रीले जानकारी दिए ।

रोड एण्ड ट्राफिक युनिटको प्रतिवेदन अनुसार नै आइल्याण्डको आकार खुम्च्याउने तयारी थालिएको उनले बताए । त्यसका लागि पोखरा-लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीसँग छलफल भएको तर उहाँ काठमाडौं भएकाले निर्णय भने भइनसकेको उनले बताए । महानगरसहित सरोकारवालासँग सहमति गरेर निर्णय भएपछि आइल्याण्डको आकार घटाउन सडक विभागमा अनुमति माग्नका लागि पत्र पठाइने उनले जानकारी दिए ।

मगर संघको असहमति

आइल्याण्ड सानो आकारको बनाउन सरोकारवाला सबै पक्ष सकारात्मक भएपनि नेपाल मगर संघ भने मानेको छैन । उसले आइल्याण्ड परिसरमा रहेको प्रथम शहीद लखन थापाको शालिक जोखिम हुने भन्दै सानो आकारको बनाउने निर्णयमा असहमति जनाउँदै आएको छ ।

संघले यसअघि हालको आइल्याण्डको आकार ५ मिटर मात्र घटाउने निर्णय भएकाले सो निर्णय बाहेक अर्को निर्णय मान्य नहुने बताएको छ । आफूहरुको पूर्वधारणा अनुसार हालको आइल्याण्डमा ५ फुट घटाउने बाहेक तलमाथी गर्न नमिल्ने बताउँदै उनले भने, ‘हाम्रो धारणा भनेको ५ फुट घटाउने भन्ने नै हो, त्यो भन्दा अर्को निर्णय भएको छैन र त्यसबारे सोंचेको पनि छैन ।’

पोखरा लेखनाथ महानगरपालिकाको २०७३ साल पुष ११ गते बसेको बैठकले पृथ्वीचोकको आइल्याण्ड ५ फुट घटाउने निर्णय गरेको थियो । तर सडक डिभिजन कार्यालय पोखराको आग्रहमा ‘रोड एण्ड ट्राफिक युनिट’ को प्रतिवेदनले हालको आइल्याण्डमा ५ फुट मात्र घटाउने हो भने त्यसले ट्राफिक ब्यवस्थापनमा खासै सुधार नआउने निश्कर्षसहित आइल्याण्ड घटाएर ४ मिटरमा सिमित गर्न सुझाएको डक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम प्रकाश खत्रीले बताए ।

यसकारण जरुरी छ आइल्याण्ड घटाउन

पृथ्वीचोकमा रहेको हालको आइल्याण्ड भद्दा, फराकिलो र अग्लो छ । ब्यस्त ठाउँमा यति ठूलो तथा फराकिलो आइल्याण्ड हुनु नै समस्या हो । यस्तो ब्यस्त ठाउँमा यति ठूलो र फराकिलो आइल्याण्ड हुँदा सहजताका लागि बनाई आइल्याण्ड समस्याको रुपमा हुनेहुँदा ट्राफिक जाम हुनेगर्छ ।

२ लेनको सडकमा पृथ्वीचोकमा रहेको हालको आइल्याण्ड हुँदा एक दिनमा ४० हजारदेखि ५० हजारको संख्यामा सवारी गुड्न उपयुक्त मानिन्छ । यसरी हेर्दा सो सडकमा सामान्य अवस्थामा प्रतिघण्टा ३ हजारदेखि ३ हजार ५ सयको बीचमा सवारी गुड्नुपर्ने हो । तर २०७३ कात्तिक २३ गते गरिएको सर्वेक्षणमा प्रतिघण्टा ८ हजार ५ सय ६१ व्ाटा सवारी साधन गुड्ने देखिएको छ ।

यो क्षमता भन्दा झण्डै तीन गुणा बढी हो । त्यस दिन पूर्वाहृन ९ बजेदेखि ११ बजेसम्म २ घण्टा गरिएको सर्वेक्षणमा १७ हजार १ सय २२ वटा सवारी साधन गुडेको तथ्यांकले देखाएको ट्राफिक प्रमुख अधिकारीले जानकारी दिए । यस हिसाबले पनि यति धेरै ब्यस्त सडकमा यो आइल्याण्ड उपयुक्त छैन ।

आइल्याण्डले ट्राफिक ब्यवस्थापनमा सघाउनुपर्ने हो । यसले कुन सवारी कता जाने हो, त्यसतर्फ जानलाई सहज बनाउन मद्दत पुर्‍याउनुपर्ने हो ।

तर पृथ्वीचोकको आइल्याण्डले ट्राफिक ब्यवस्थापनमा सघाउनु त परै जाओस् बरु ट्राफिक ब्यवस्थापनमा झन् समस्या थपेको छ । यसकै कारण कहिलेकाहीँ दुर्घटना पनि हुनसक्ने खतरा बढाएको छ । आइल्याण्डमा पसिसकेपछि अगाडिको गाडी देखिनुपर्ने हो । अगाडिको गाडी रोकिएको छ कि आइल्याण्ड पार गरिसक्यो ? त्यो थाहा हुँदा पछाडिको गाडी अगाडि बढ्न सजिलो हुन्छ, तर आइल्याण्ड फराकिलो हुँदा पछाडिको गाडीले अगाडिको गाडि नदेख्दा समस्या सिर्जना हुने गरेको छ ।

त्यस्तै, आइल्याण्डमा पसिसकेको गाडीलाई प्राथमिकता दिएर अगाडि जान दिनुपर्ने हो, तर अहिले अगाडिको गाडीले आइल्याण्ड पार गरिसकेको हो कि हैन, त्यो पनि थाहा नहुँदा पछाडिको गाडी आइल्याण्डमा प्रवेश गरिहाल्ने गरेको र सोहि कारण दुर्घटना भएर ज्यानैसमेत जानसक्ने खतरा रहेको ट्राफिक प्रमुख अधिकारीले बताए ।
उनका अनुसार आइल्याण्ड ठूलो भएर अगाडिको गाडी आइल्याण्डबाट निस्के/ननिस्केको नदेखिँदा पछाडिको कुन गाडिलाई प्राथमिकता दिने भन्ने समस्यासमेत हुनेगरेको छ । यसकै कारण ट्राफिक जाम बढिरहेको उनले बताए ।

आइल्याण्ड अग्लो हुँदा एउटै ट्राफिकले गर्ने काम ६ जना ट्राफिक प्रहरी राख्दा पनि ब्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको छ । सानो आइल्याण्ड हुने हो भने आइल्याण्डको बिचमा बसेर एउटै ट्राफिकले ट्राफिक ब्यवस्थापन गर्नसक्छ । त्यसमा थप ४ जना राखेर सबैलाई जेब्राक्रसिङ भन्दा अझ अगाडि राखेर बिचको ट्राफिकले समन्वय गर्ने हो भने हालको भन्दा कयौं गुणा राम्रो ट्राफिक ब्यवस्थापन हुन्छ ।

आइल्याण्ड अग्लो हुँदा पूर्व बसेको ट्राफिकले पश्चिम बसेको ट्राफिकलाई वा उत्तर बसेको ट्राफिकले दक्षिण बसेको ट्राफिकलाई देख्न सक्दैन । जसका कारण उनीहरुबीच समन्वय नहुँदा रोक्नुपर्ने बेलामा समेत गाडि पठाइदिने र त्यसका कारण ट्राफिक जाम हुनेगरेको र कहिलेकाहिं त दुर्घटनासमेत हुने गरेको अधिकारीको भनाइ छ । आइल्याण्डको चौडाइ र उचाइ घटाउने वित्तिकै यो समस्या हल हुने उनले बताए ।

आइल्याण्डको आकार ठूलो भएकैले आइल्याण्ड क्षेत्रमा गति कम गर्न लगाउने गरिएको छ । तर अहिले स्पिड कम गर्दा त्यसकै कारण ट्राफिक जाम हुने गरेकाले गति बढाउनुपर्ने अवस्था छ । अहिलेकै अवस्थामा गति बढाउँदा दुर्घटना बढ्ने भएकाले पनि आइल्याण्डको आकार घटाउनैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment