Comments Add Comment

‘माल्भिका छात्रवृत्ति’ वितरण

१ भदौ, काठमाडौं । पूर्व मिस नेपाल माल्भिका सुब्बा र लुम्बिनी एकेडेमिक कलेजको सहकार्यमा ‘माल्भिका छात्रवृत्ति’ वितरण गरिएको छ । लुम्बिनी एकेडेमिक कलेजमा अध्ययन गर्ने दुईजना गरिब एवं जेहेनदार छात्रालाई पूर्ण रुपमा छात्रवृत्ति दिइएको छ ।

छात्रवृत्ति पाउनेमा कक्षा ११ मा अध्ययनरत सोलुखुम्बु नाम्चेबजारकी पासाङ कान्छी शेर्पा र ओखलढुंगाकी तिलिमाया दर्जी छन् । चाबहिल चुच्चेपाटीस्थित कलेज परिसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वमिस नेपाल सुब्बा र कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले छात्रवृति वितरण गरे ।

आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई दुई वर्षको पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका प्रिन्सिपल कोइरालाले बताए । सो अवसरमा पूर्व मिस नेपाल सुब्बाले छात्रवृत्ति प्रदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘छात्रवृत्ति पाउने विद्यार्थीले पढेर समाज एवं देशको विकासमा महत्वपूर्ण योगदान गरेको देख्न पाऊँ,’ उनले भनिन्, ‘त्यसो भयो भने हामीले सन्तुष्टिको अनुभूति गर्नेछौं ।’

छात्रवृत्ति घोषणा कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल उज्ज्वल कोइराला, शिक्षक-शिक्षिका, विद्यार्थीलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment