Comments Add Comment

रिंगरोडमा दिउँसो मालबाहक सवारी चलाए ५ हजारसम्म जरिवाना


१ भदौ, काठमाडौं । सरकारले आज बिहीबारबाट ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई काठमाडौंको रिंगरोडमा गुड्न प्रतिवन्ध लगाएको छ ।

विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागले जनाएको छ । पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू नहुने विभागका प्रवक्ता टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

 

ट्राफिकका प्रमुख सर्वेन्ऽ खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराईसहितका उच्च अधिकारीको पहलमा गत साता यस्तो निर्णय गरेको भएको थियो ।

उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यदि यो नियम उल्लंघन गरे ५ हजारसम्म जरिवाना लाग्नेछ ।

कहाँ तोकियो पार्किङ स्थल ?

पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइएको छ । गोदावरीतर्फबाट आउने ट्रकरटिप्परले धापाखेलमा पार्किङ गर्न पाएका छन् भने अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिएको छ ।

नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिएको छ । दक्षिणकाली नाका भएर आउने ट्रक र टिप्परलाई पनि पार्किङ स्थल तोकिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

‘अब यो ब्यवस्थाले काठमाडौंमा ट्राफिक जामको समस्या धेरै हदसम्म कम हुन्छ भन्ने हाम्रो अपेक्षा हो,’ पाण्डेले भने, ‘विभाग र ट्राफिकमा आएको नयाँ नेतृत्वले बनाएको योजनाको समीक्षा केही समयपछि गरिनेछ । हामी यो ब्यवस्था प्रभावकारी हुन्छ भन्नेमा विश्वस्त छौं ।’

हिजोेसम्म टिप्परलाई मात्रै रिंगरोडमा निषेध गरिएको थियो । आजबाट भने ट्रक र मिनी ट्रक पनि रिंगरोडमा तोकिएको समय अवधिभित्र प्रवेश गर्न दिइएको छैन ।

यसअघि ट्रकलाई रिंगरोडमा आउन समय हेर्नुपर्ने अवस्था थिएन । अब भने ट्रक र टिप्परहरु ट्राफिकले तोकेको स्थानमा पार्किङ गरी बेलुका ७ बजेपछि मात्रै रिंगरोडमा आउन पाउने छन् ।

बेलुका ७ बजेपछि बिहान ८ बजेसम्म रिंगरोडभित्र आउन पनि उनीहरुलाई निषेध नगरिने प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment