Comments Add Comment

धानको बेर्नासँगै घर पनि बग्यो

१ भदौ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ (साविकको औरही गाविस) का फुलदेव यादव २८ साउनको बिहान रोपाईको तयारीका लागि खेतमा जाने तयारीमा थिइन् ।
तर घण्टौंसम्म वर्षा रोकिएन । भन्छन्, ‘घरको भित्ताहरु खस्न थालेपछि अब आफ्नै बग्ने त्रास उत्पन्न भयो । आँगनमा छातीसम्म पानी जम्मा भइसकेको थियो ।’धानको बेर्ना डढ्नै लागेको थियो । पम्पसेटको मद्दतले भएपनि धान रोप्ने उनीहरुको योजना थियो । ‘यसका निम्ति २८ गते खेततिर जाने सोंचेका थियौं,’ उनले भने, ‘तर, शुक्रबार रातिदेखि नै लगातार पानी परिरहँदा जान सकेनौं, घरमै बसें ।’

फूलदेवले दाजु कुलदेवसँग मिलेर जसोतसो बालबच्चालाई बाहिर निकाले र छिमेकी महेश्वर यादव (जसको उचाइँमा पक्की घर थियो) कहाँ पुगेर प्राण बचाए ।

वर्षासँगै आएको बाढीले फुलेदव र उनको दाजु कुलदेवले घर पूर्ण रुपले भत्काएको छ । घरभित्र रहेका सम्पूर्ण सरसामान बगेको उनीहरुले बताएका छन् ।

फुलदेव र कुलदेवजस्तै औरहीका ८४ परिवारको घर भत्केको छ बाढीका कारण । औरही जिल्लाको मुसहर बस्तीमध्येको एक हो । यस गाविसमा करिब सय घर मुसहर समुदायको छ ।

उसो त औरही जिल्लाको उचाइँ भएको ठाउँ हो । यद्यपि यहाँ पनि वर्षाको पानी पस्यो । र, लगभग ८० परिवारको घर भत्कियो ।

लगातारको प्रचण्ड गर्मी भएको समयमा सबैले रोपाइँ गर्न नसकेको यस गाउँमा लगाइएको बेर्ना डढ्नै लागेको थियो । तर, तीन दिन परेको पानीले डढेको बेर्नासँगै घर पनि बगाएको छ ।

केहि नभएकाको घर पनि रहेन

औरहीका अशोक सदा र सकलदेव सदा सुकुम्बासी हुन् । सरकारी जग्गामा वर्षौंदेखि घर बनाएर आफ्नो परिवारको गुजारा चलाउँदै आएका उनीहरु दिनभर मजदूरी गर्थे ।

तर, दुबैको घर अब रहेन् । तीन दिन लगातार भएको बषर्ाका कारण दुबैको घर भत्केको छ । ‘घरमा बसिरहेको थिएँ । एक्कासी टाटीहरु भत्किन थालेपछि हामी ज्यान जोगाउन सफल भयौं’ सकलदेवले भने, ‘अब कहाँ बस्ने भन्ने चिन्ताले सताइरहेको छ ।’

अशोक र सकलदेव जस्तै टिरर मुखिया र सिद्वीलाल मुखिया पनि सुकुम्बासी नै हुन् । सडक छेउको सरकारी जग्गामा घर बनाएका उनीहरुको घर बषर्ाका कारण पूर्ण रुपले भत्किएको छ ।

खड्ग खोलाले निम्त्यायो विनाश

औरहीदेखि करिब ५ सय मिटर पश्चिम खड्ग खोला बग्दै आएको छ । जतिसुकै ठूलो वर्षा भएपनि औरहीसहित आसपासका गाउँमा पानीले त्यत्ति ठूलो क्षति गरेको थिएन् ।

‘परेको अविरल वर्षासँगै खड्ग खोलाको बाँध भत्केर मानव बस्तीमै बाढी प्रवेश गर्दा यो गाउँ जलमग्न भएर ठूलो क्षति भएको देखिन्छ,’ स्थानीय असामान नेपालका सहजकर्ता महेन्द्र सदाले भने, ‘खड्ग खोलाको बाढी गाउँ नै पसेपछि हामी समस्यामा परेका थियौं ।’

खड्ग खोलाको बाँध करिब एक किलोमिटर भत्काउँदा यस क्षेत्रका बासिन्दा पीडित भएका छन् । यो बाढीले खेतीयोग्य जग्गा सबै बर्बाद गरेको स्थानीयबासी बताउँछन् ।

अहिलेसम्म छैन कसैको ध्यान

सप्तरी जिल्ला बाढीग्रस्त जिल्लाको रुपमा प्रचार गरिएको छ । हुन पनि सही हो, जिल्लामा बाढीले धेरै नै क्षति पुर्‍याएको छ । तर, जिल्लाभित्रका औरहीजस्तै केहि गाउँ छन् जहाँका पीडितमाथि कसैको नजर पुग्न सकेको छैन ।

औरहीका बाढीपीडितहरुले अहिलेसम्म कसैले कुनै किसिमको राहत बितरण नगरेको बताएका छन् । ‘छिमेकीसँग चामल पैंचौ लिएर जसोतसो पेट पालिरहेका छौं’ स्थानीय छुतहरु सदाले भने, ‘हामीलाई हेर्न हालसम्म कोहि पनि आएको छैन ।’

‘जिल्लामा यत्रो राहत आयो, कहाँ गयो ? उनी प्रश्न गर्छन्, ‘अहिलेसम्म एक प्याकेट चाउचाउ समेत दिइएको छैन ।’ छुतहरु मात्रै होइन, भत्केका घरभित्रै रात काट्न बाध्य औरहीका कुनै व्यक्तिलाई कुनै पनि संघ-संस्थाले हालसम्म राहत उपलब्ध गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment