Comments Add Comment

प्रधानमन्त्रीलाई राप्रपाको सुझाव- भारत भ्रमणमा डुबान समस्याले प्राथमिकता पाओस्

राहत कोषमा पाँच लाख दिने निर्णय

१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि डुबानको विषयलाई भारत भ्रमणमा उच्च प्राथमिकताकासाथ राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

भारतीय क्षेत्रमा बनाइएका तटबन्धको कारण प्रत्येक वर्ष सीमा क्षेत्रका नेपाली बस्ती डुबानमा परेकाले यो विषय भारत भ्रमणको एजेण्डा हुनुपर्ने राप्रपाको धारणा छ ।

बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकले गरेको निर्णयमा लेखिएको छ, ‘भारतीय क्षेत्रमा बनाइएको तटबन्धको कारण प्रत्येक वर्ष सीमा क्षेत्रका धेरै गाउँ बस्तीहरु डुबानमा पर्ने दुःखद अवस्थाको अन्त्य गर्न विगतमा समेत धेरैपटक सहमति, सम्झौता र आश्वासन भारत सरकारबाट प्राप्त भएका छन् । तर, अहिलेसम्म त्यसतर्फ ठोस काम हुन नसकेको कटु सत्यलाई दृष्टिगत गर्दै सम्माननीय प्रधानमन्त्रीको आगामी भारत भ्रमणको क्रममा यस बिषयलाई उच्च प्राथमिकतामा राख्न समेत राप्रपा आग्रह गर्दछ ।’

राप्रपाले बाढी पहिरो र डुबानको कारण मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँको दरले राहत दिन सरकारसँग माग पनि गरेको छ । साथै उसले बाढी पीडितहरुको सहायताको लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टी विभाजन प्रयास फिर्ता लिन आह्वान

राप्रपाबाट अलग भएर नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएका पशुपति शमशेर राणा पक्षलाई राप्रपाले बिभाजनको प्रयास फिर्ता लिन आह्वान गरेको छ । यहि भाद्र ४ गते अघि नै विभाजन प्रयासबाट अलग भै पार्टी एकताको पक्षमा उभिएमा यसअघि गरिएको कार्वाही पनि फिर्ता लिई पुर्ववत स्थान र सम्मान दिने राप्रपाले जनाएको छ ।

‘पार्टी विभाजनबाट पार्टीको एजेण्डा, पार्टी र कार्यकर्ताहरुको भविष्य माथी पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै विभाजन कार्य तत्काल फिर्तालिन तथा सो कार्यबाट अलग भै पार्टी एकताको पक्षमा खडा हुन यो बैठक सम्बन्धित सबैलाई आग्रह गर्दछ,’ बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई बलियो हुन नदिने योजना अनुरुप राप्रपालाई विभाजन गर्ने प्रयास भएको दाबी राप्रपाको छ । योजनाकारले पार्टी भित्र कै अवसरवादीहरुलाई हतियारको रुपमा प्रयोग गरेको राप्रपाको ठहर छ ।

‘पार्टी भित्र कै स्वार्थी, सत्तालोभी र आत्मसमर्पणवादी मानसिकता भएका अवसरवादीहरु हतियारका रुपमा प्रयोग हुुन पुगेका छन् । यस घटनाले अन्ततः पार्टी व्यवस्थालाई नै अस्थिर र कमजोर बनाउने अवश्यंभावी छ,’ राप्रपाको बैठकको निर्णयमा लेखिएको छ ।

प्रत्यक्ष र समानुपातिको मतपत्र अलग हुनुपर्छ

राप्रपाले आगामी संघिय संसद र प्रदेशसभाको निर्वाचन अलग अलग मितिमा हुनु राम्रो हुने ठहर गरेको छ । तर बारम्बारको सरकार परिवर्तन र अस्थिर राजनीतिको कारणले अब त्यो सम्बाना समाप्त भएको भन्दै राप्रपाले प्रत्यक्ष र समानुपातिकको मतपत्र अलग हुनुपर्ने धारणा राखेको छ ।

‘दुबै चुनाव मंसिरमा गर्नु बाहेक अर्को विकल्प नरहेको हुंदा एकैपटक चुनाव गर्ने कार्यमा राप्रपाको सहमति रहने छ । तर, एकैपटक गर्ने नाममा प्रत्यक्षको उमेदवारले प्राप्त गरेको मतलाई नै समानुपातिकमा गणना गर्ने कार्य कदापि स्विकार्य हुंदैन । त्यस्तो कार्य संबिधान एवं समानुपातिक सिद्धान्त विपरित समेत हुनेछ,’ राप्रपाले भनेको छ ।

प्रवक्ता भुवन पाठकबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रत्यक्ष उमेदवारलाई दिने मत व्यक्तिसँग गाँसिएको हुन्छ भने समानुपातिक मत पार्टी, बिचार र नीतिसँग गाँसिएको हुन्छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका फरक महत्व, चरित्र र उदेश्य रहेका छन् । दुवैलाई मिसाई दिने हो भने समानुपातिक निर्वाचन प्रणालीको औचित्य नै समाप्त हुन्छ । त्यसर्थ, प्रत्यक्ष र समानुपातिको अलग अलग मतपत्र कायम गर्ने विगतको व्यवस्था अनिवार्यरुपले कायम हुनु पर्दछ भन्ने राप्रपाको दृढ धारणा रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment