Comments Add Comment

आईएमई लाइफ इन्स्योरेन्सको कारोबार सुरु

१ भदौ, काठमाडौं । नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारबाट कारोबार सुरु गरेको छ । कम्पनी १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी सहित सञ्चालनमा आएको हो ।

‘अहिले बीमा क्षेत्रमा जनशक्ति अभावको समस्या देखिएकाले बीमा समितिको पहलमा बीमाका जनशक्ति तयार पार्न सकिने तालिम केन्द्र स्थापना गर्नुपर्ने देखिएको छ, हामी पनि साथ दिन तयार छौं,’ कारोबार सुरुवातको अवसरका काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका मुख्य प्रवर्द्धक चन्द्र ढकालले भने ।

उनले हाल आईएमईशब्द रेमिट्यान्सको पर्यायबाची बने जस्तै बीमाको पनि पर्यायवाची बन्न सक्नु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा वक्ताहरुले बीमा क्षेत्रमा देखिएको जनशक्ति अभावले एकबाट अर्को कम्पनीले मान्छे तान्ने प्रवृत्ती बढेको, उच्च प्रतिस्पर्धा बढेको लगायतका समस्या पनि राखेका थिए ।

कम्पनीले बीमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्‍याउन अबको ६ देखि ८ महिनाभित्रमा ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहने भएको हो ।

लौनचौरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले १ वर्षमा ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको छ । काठमाडौंमा मात्रै कम्पनीले ७ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । शाखा अनुमतिको लागि कम्पनीले बीमा समितिमा आवेदन दिइसकेको छ ।

कम्पनीले कारोबार सुरु गरेसँगै विहीबारबाट आईएमई सरल (सावधिक) योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले यो योजनामा १६ वर्षदेखि ६४ वर्ष उमेर समूहका मानिसहरुले सहभागिता जनाउन सक्ने बताएको छ । यो योजनाको अवधि ५ देखि ५४ वर्षसम्म रहनेछ ।

यो योजनामा सहभागि हुन चाहनेले २५ हजारदेखि आयस्रोतले धान्ने रकम सम्मको बीमा (बीमांकीय रकम) गर्न सक्ने पोखरेलले स्पष्ट पारे । कम्पनीले अन्य ६ वटा योजना सञ्चालनको लागि बीमा समितिमा आवेदन दिएको छ ।

कम्पनीको हाल महाप्रवन्धक राकेश पोखरेलले नै नेतृत्व गर्ने भएका छन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था अंगाले पनि यो पद हाल खाली छ ।

कम्पनीको अध्यक्षता डा. रामहरी अर्यालले गरेका छन् । कम्पनीको अन्य सञ्चालकहरुमा अश्विनी अर्याल, दिपक शर्मा, इश्वर कार्की र दिपचन्द्र रेग्मी रहेका छन् । अन्य २ सञ्चालक भने चयन हुन बाँकी छ ।

कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौडेल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आईएमई र सम्बद्धहरुको ४० प्रतिशत बढी लगानी रहेको बुझिएको छ ।

बीमा पहुँच १५ प्रतिशत पुर्‍याउने लक्ष्यः चापागाई

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमाको पहुँच कम्तिमा १५ प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य रहेको बताएका छन् । हाल बीमाको पहुँच ८ प्रतिशत जनतामा रहेको मानिन्छ ।

यसअघि बीमा कम्पनीहरुको पुँजी न्युन हुनु, नयाँ कम्पनीको दर्ता रोकिनु र यही कारण बजारमा प्रतिस्पर्धा कम भएकाले बीमाको पहुँच बढ्न नसकेकाले नयाँ कम्पनीको दर्ता खोलिएको चापागाईले स्पष्ट पारे ।

उनले बीमा सर्वेयरहरुले क्षतिको मूल्यांकनमा मनपरि गरिरहेकाले आफूलाई नसुधारे कालो सूचीमा राख्ने र अनुमती खारेज गर्नेसम्मको कारबाही गरिने बताए ।

बीमा संस्थानका पूर्वअध्यक्ष डा. फत्तबहादुर केसीले बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा निर्जीवनको लागि ४ अर्ब र जीवन बीमाको लागि ५ अर्ब तोकेर दर्ता प्रक्रिया खुला गर्ने रणनिित अंगालेका थिए । हाल बीमा समितिले जीवन बीमा कम्पनीको लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब पुँजी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment