Comments Add Comment

पोखरा महानगर कार्यालय पशु सेवाको जग्गामा

कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा बैठक बहिस्कार

१ भदौ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय वडा नम्बर १२ स्थित पशु सेवा कार्यालय रहेको ठाउँमा सार्ने निर्णय भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको बहिस्कारका बाबजुद महानगरको बिहीबार बसेको बोर्ड बैठकले पशु सेवा कार्यालयको ९९ रोपनी क्षेत्रफल रहेको सो जग्गामा महानगरको कार्यालय बनाउने निर्णय गरेको हो ।

बैठकले पशु सेवा कार्यालयको जग्गा प्राप्तिलगायत आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

यसअघि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा वडा नम्बर १ की वडाध्यक्ष शारदा पराजुली र वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला सदस्य रहेको समितिले गरेको अध्ययनमा पशु सेवा कार्यालयको जग्गा, नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र वा नयाँबजारस्थित प्रदर्शनी केन्द्र मध्ये कुनै एक ठाउँमा बनाउन सुझाएको थियो । सोहि समितिले दिएको प्रतिवेदनको आधारमा सबैभन्दा उपयुक्त पशु सेवा कार्यालयको जग्गा भएको निश्कर्षसहित त्यसैमा महानगरको कार्यालय बनाउने निर्णय भएको मेयर जिसीले बताए ।

अध्ययन समिति गठन

बोर्ड बैठकले महानगरपालिकाको संगठन स्वरुप, जनशक्ति एम् कर्मचारी पदपूर्ति बढुवा तथा स्थायी गर्ने प्रयोजनको लागि उपयुक्त निकास दिन उपप्रमुख मञ्जु गुरुङको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा नम्बर २१ क्ा वडाध्यक्ष खगराज आचार्य, महानगरपालिकाका बरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा र प्रशासन महाशाखा प्रमुख अनन्तप्रसाद कोइराला रहेको समिति गठन गरेको हो ।

यसअघि बोर्डको दोश्रो बैठकले यहि समितिको संयोजकमा वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारी थिए । बिहीबारको बैठकमा पहारीलाई सदस्यमा राखेर उपप्रमुख गुरुङको संयोजकत्वमा नयाँ समिति बनाएको हो । यसप्रति पहारीले आपत्ति जनाएका छन् ।

बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ मा रहेको पृथ्वीचोक बसपार्कको ब्यबस्थापनका लागि वडा नम्बर ७, ८, ९ र १० का वडाध्यक्षहरु र पोखरा उपत्यका नगर विकास समितिका प्रतिनीधिसहितको कार्यदलले ब्यबस्थापन गर्ने निर्णय गरेको छ । पृथ्वीचोकमा व्यवस्थित वसपार्क नहुँदा यात्रुले हैरानी बेहोर्नुका साथै ट्राफिक ब्यबस्थापन भद्रगोल हुँदै आएको छ ।

बैठकले हालै आएको अविरल वर्षाका कारण बाढीबाट क्षति भएका विभिन्न वडाहरुको संरचना निर्माणका लागि प्राविधिकको स्थलगत निरीक्षण प्रतिवेदनको आधारमा कार्यालयबाट स्वीकृत बजेटबाट भुक्तानी दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले दक्षिण कोरियाको दाईजियन सहरमा यहि सेप्टेम्बर १० देखी १३ तारिखसम्म सञ्चालन हुने ‘२०१७ एसिया प्यासिफिक सिटिज समिट एण्ड मेयर्स फोरम’ विषयक कार्यक्रममा सहभागी हुन मेयर मानबहादुर जिसीलाई पठाउने निर्णय गरेको छ । उक्त भ्रमण खर्च आयोजकले बेहोर्ने र पकेट खर्च भने नेपाल सरकारको नियम बमोजिम मात्र उपलब्ध गराउने निर्णय गरेको छ ।

बरालको उपचारमा आर्थिक सहयोग

बैठकले तत्कालिन पोखरा उपमहानगरपालिका पदपूर्ति समितिका अध्यक्ष कृष्णप्रसाद बराल लामो समयदेखि पदपूर्ति समितिमा रहि कृयाशिल रहेकामा हाल विरामी भएकाले उनको उपचार खर्चका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।

सोहि निर्णयको बुँदा नम्बर ‘ख’ मा जिल्ला समन्वय समितिको कार्यालय कास्कीबाट प्राप्त दररेटलाई नै महानगरपालिकाको दररेटको रुपमा पारित गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै निर्णयको बुँदा नम्बर ‘ग’ मा खानी, ढुङ्गा, गिट्टी सम्बन्धमा आइईई वा ईआईए गरेका र ठेक्का नलागेका महानगरभित्रका ढुङ्गा, गिट्टी वा खानीहरुको ठेक्का बन्दोबस्त महानगरले नै गर्ने निर्णय गरेको छ ।

निर्णयको बुँदा नम्बर ‘घ’ मा बाढी पीडितको सहयोगार्थ राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा ३ लाख जम्मा गर्ने निर्णय गर्दै उक्त कोषबाट रकम खर्च गर्ने निर्देशिका बनाउन महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल, प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र बरिष्ष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मारहेको समिति गठन गरेको छ ।

बैठकमा महानगरभित्रका विज्ञापन तथा होर्डिङ बोर्ड ब्यबस्थापन, महानगरको फोहोर ब्यबस्थापन, महानगरभित्र ब्यबस्थित ढल निकास, महानगरभित्र जग्गाको मापदण्ड तोक्ने, महानगरका पदाधिकारीको सेवा सुविधा, कृषि, पशु, स्वास्थ्य र उद्योग क्षेत्रको काम हेर्ने जिम्मेवारी तोक्नेलगायतका एजेण्डाहरु राखिएपनि ११ वडाध्यक्षको बहिस्कारका कारण रोकिएको बताइएको छ ।

११ वडाध्यक्षद्वारा बैठक बहिस्कार

पोखरा लेखनाथ महानगरपालिकाको विहीबार बसेको सातौं बोर्ड बैठक ११ वडाध्यक्षहरुले बहिस्कार गरेका छन् । बैठकमा महानगरपालिकाको संगठन स्वरुप, जनशक्ति एम् कर्मचारी पदपूर्ति बढुवा तथा स्थायी गर्ने प्रयोजनको लागि उपयुक्त निकास दिन यसअघी बनेको जगत पहारी संयोजकत्वको समिति खारेज गरेर महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङको संयोजकत्वमा अर्को समिति बनाएको भन्दै बैठक बहिस्कार गरिएको हो ।

उनीहरुले दैवी प्रकोप उद्धार समितिका संयोजकलाई थाहा नै नदिई वितरण भएको रकम पारित गर्न लागेको, फोहरमैला ब्यबस्थापन गर्ने जिम्मा यसअघी वडालाई दिने निर्णय भएपनि पुनः टेण्डर गरेर एकीकृत रुपमा दिन लागेको, महानगरमा होर्डिङ बोर्ड नराख्ने निर्णय उल्टाएर ठेक्कामा होर्डिङ बोर्ड राख्न दिन लागेको, सेवा गर्न आएका जनप्रतिनीधिलाई तलब भत्ता दिनेलगायतका अलोकपि्रय प्रस्ताव आएको भन्दै कांग्रेसबाट उम्मेद्वार बनेर जितेका ११ वडाध्यक्षहरुले बैठक बहिस्कार गरेका छन् । उनीहरुले बहुमतको दम्भ देखाएर आफूखुशी निर्णय ल्याएको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन् ।

महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने बैठक बहिस्कार गर्नुको सट्टा बैठकमा उपस्थित भएर रचनात्मक भूमिका निर्वाह नगरेर बहिस्कार गरेका वडाध्यक्षहरुले गल्ती गरेको बताए । उनले बहिस्कारकै कारण केही निर्णयहरु गर्न नसकिएकाले आगामी दिनमा सहभागी भएर सहयोग पुर्‍याउन आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment