Comments Add Comment

पूर्व राष्ट्रपति यादवको स्वीकारोक्तिः लोकतन्त्र जोगाउन संविधान मिचेकै हुँ

२ भदौ, काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफूले अन्तरिम संविधान मिचेको स्वीकार गरेका छन् । गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षका रूपमा सात वर्ष शीतल निवासमा बिताएका यादवले निवृत्त भएको झन्डै दुई वर्षपछि यस्तो स्वीकार गरे ।

‘लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि मैले संविधानलाई (इन्क्रोच) हस्तक्षेप गरेकै हुँ । मैले त्यो नगरेको भए देशको राजनीतिक कोर्स नै अलग बाटोमा जान्थ्यो’ उनले दाबीका साथ भने, ‘तर, त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुईवटा सेना थिए । सेनालाई कार्यकारी प्रधानमन्त्रीले चलाउने संवैधानिक व्यवस्था भए पनि शिविरका माओवादी लडाकुको व्यवस्थापन भइसकेपछि मात्रै प्रधानमन्त्री प्रचण्डले फुल फङ्सन गर्न सक्नुहुन्थ्यो ।’

आफूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री रामबहादुर थापालाई सेनापति रुक्मांगद कटवाल प्रकरणमा हात हाल्नुपहिले दुईवटा सेनाको समस्या समाधान गर्न स्पष्ट भनेको यादवको भनाइ छ । आफूले त्यस बेला चारपटक प्रधानमन्त्री कार्यालयमा स्मरणपत्रसमेत पठाएको उनले सुनाए ।

तर, उनले भारतीय प्रभावमा परी निर्णय लिएको भनी लाग्दै आएको आरोप भने सकारेनन् । अनि, संविधान मिच्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नभएको प्रस्ट पार्दै भने, ‘माओवादीको कदम सफल भएको भए गणतन्त्र त रहन्थ्यो तर मुलुक एकदलीय जनवादी गणतन्त्रतिर जान्थ्यो । मैले प्रचण्डलाई भनेको थिएँ – गणतन्त्रका लागि तपार्इं लड्नुभयो, राष्ट्रपति म भएँ । अब तपाईंभन्दा बढी गणतन्त्रवादी म भएँ । गिरिजाप्रसाद कोइराला र तपाईंको निर्णयपछि संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रसम्म आएको मलाई जनवादी गणतन्त्रतिर लैजाने हो भने तपाईं र मेरो बाटो अलग हुन्छ ।’

दाहाल र तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईका पछिल्ला टिप्पणी सुनेपछि सेनाको विषयमा आवश्यक गृहकार्य भित्र–भित्रै गर्न थालेको उनले खुलासा गरे । आफूले कटवाललाई राजीनामा नगर्न निर्देशन दिएको पनि उनले सुनाए । २०६४ चैतको पहिलो संविधानसभा निर्वाचनमा पहिलो ठूलो दल बनेको माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले कटवाल हटाएर कुलबहादुर खड्कालाई सेनापति बनाउने निर्णय गर्दा यादवले थमौती गरेपछि दाहालले प्रधानमन्त्रीको कुर्सी त्यागेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment