Comments Add Comment

उद्धार र राहत वितरणमा को–को शीर्ष नेता गए ?

२ भदौ, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र डुबानले तराईमा ठूलो मात्रामा धनजनको क्षति पुगेपछि सरकारी संयन्त्रसँगै राजनीतिक दलहरू पनि राहत र उद्धारमा जुटेका छन् ।

कांग्रेसले स्थानीय नेता तथा कार्यकर्तालाई बाढीपीडितको राहत र उद्धारमा खटिन अपिल गरेको छ । शीर्ष तहका नेताहरू भने आफैँ खटिएका छैनन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार हेलिकोप्टरबाट तराईको डुबान प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किए । उनी गृहमन्त्रीसहित रौतहट, सुनसरी, इटहरी, सप्तरी पुगेर फर्किएका थिए । त्यहाँ उनले स्थानीय प्रशासनलाई पीडितलाई राहत विरतणमा कञ्जुस्याइँ नगर्न निर्देशन दिए ।

एमालेले केन्द्रीय तहका नेतालाई बाढीपहिरो प्रभावित क्षेत्रमा खटाएको छ । अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसहितका नेताहरू भने पार्टीको आन्तरिक कार्यक्रममै व्यस्त छन् । एमालेले बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जहरूलाई पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाको काममा खटाएको हो ।

माओवादी केन्द्रले आफ्ना सबै सांसद र मन्त्रीलाई सम्बन्धित निर्वाचन क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएको छ । माओवादी केन्द्रले सर्कुलर नै जारी गरी उद्धार र राहतमा पार्टीको उपस्थिति बलियो बनाउन निर्देशन दिएको र सोहीअनुसार परिचालित भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार केन्द्रका नेता, कार्यकर्ता सबै राहत वितरण र उद्धारमा खटिरहेका छन् ।

कार्यकर्तासँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैँ पनि बाढीपीडित क्षेत्रमा पुगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment