Comments Add Comment

‘बाढीमा बुबाआमा गुमाएँ, १५ सय राहत पाएँ !’


२ भदौ, झापा । झापा गाउँपालिका–२, सडकबारीका कैलाश राजवंशीले गत साउन २७ गते शुक्रबार बुबा कालिप्रसाद र आमा पार्वतीसँग भएको भेट नै अन्तिम भेट होला भनेर सोचेका पनि थिएनन् ।

तर, मतदाता परिचय पत्र बनाउनका लागि फोटो खिचाउन जाँदा बुबाआमासँग भएको त्यो भेट नै उनको अन्तिम भेट बन्यो । ‘फोटो खिचाउन जाने क्रममा बुबाको होटलमा निस्किएको थिएँ’, उनले सम्झिए, ‘त्यो दिन सामान्य कुराकानी भएको थियो । सुरुमा बुबाले मेरो खबर सोध्नु भयो’, उनले स्मरण गर्दै भने, ‘अनि, घरकै विषयमा केहीबेर कुराकानी भयो ।’

बुबाको शव भेटियो, आमाको अझै भेटिएन

सानोमाईको किनारमा वर्षौैंदेखि बस्दै आएका थिए, राजवंशी परिवार । घरमै सामान्य होटल चलाउँदै आएका थिए ।

‘दिउँसो होटलमा आउनेले बाढी आउँछ होला, मौसम राम्रो छैन भनेर पनि बुबालाई भन्दै थिए’, उनले सम्झिए, ‘पहिले–पहिले पनि यहाँ ठूलो भल आउँथ्यो । तर, केही भएको थिएन । त्यसैले बुबाले त्यसलाई गम्भीरतापूर्वक लिनु पनि भएन ।’

नभन्दै राति खोलामा पानी बढेर आयो । करिब ११ बजेपछि घर छोप्न थाल्यो । र, त्यहाँ रहेका कैलाशका बुबा कालिप्रसाद, आमा पार्वती र त्यहीँ बस्दै आएका माग्ने बुढा भनिने व्यक्तिलाई खोलाले बगाएर लग्यो ।

बुबा कालिप्रसादलाई भोलिपल्ट मृत भेटियो । माग्ने बुढा पनि मृत अवस्थामा भेटिए । तर, आमाको शव भने अझैसम्म भेटिएको छैन ।

‘भारतको विभिन्न ठाउँमा गएर पनि खोज्यौं तर, अझै अत्तोपत्तो छैन’, उनले भावुक हुँदै भने, ‘अनि, कुशको शव बनाएर किरिया बार्दै छु ।’

बुबाआमालाई सुख दिन विदेश जाने तयारीमा थिए कान्छो छोरो

नदी किनारमा भएको होटलबाट सामान्य आम्दानी आइरहेको थियो । सानो परिवार जसोतसो चलेकै थियो ।

उनीहरु खुशी थिए । यद्यपि, आमाबुबालाई सुख दिन जेठो छोरा कैलाश (३०) ले भाइ शंकर (२१) लाई वैदेशिक रोजगारीमा पठाउने निधो गरेका थिए ।

दाजुभाइले सल्लाह गरेर राजमिस्त्री काम गर्दै आएका कैलाशले भाइलाई विदेश पठाउन पैसाको जोहो पनि गरे । र, भाइ विदेश उड्ने मिति कुर्दै काठमाडौंमा बसेका थिए ।

तर, शंकरको मन त्यतिबेला छियाछिया भयो, जतिवेला उनले आमाबुबा दुवै बेपत्ता भएको खबर सुने । उनले बाबुको अन्तिम पटक अनुहारसम्म देख्न पाएनन् ।

बाटोमा पहिरो गएका कारण उनी बुबाको अन्त्येष्टि कार्यमा पनि सरिक हुन सकेनन् । झापा आएर आमाको शव खोजीमा लाग्ने उनले बताए ।

१५ सय राहतले कट्यो ५ दिन

बाढीले बुबाआमा दुवैलाई लगेर टुहुरो बनाए पनि अहिलेसम्म सरकारी स्तरबाट राहतको लागि केही पहल नभएको उनले गुनासो गरे ।
बुधबार बुबाआमाको किरिया बार्दै गर्दा भेटिएका उनले राहतको रुपमा स्थानीय र रेडक्रसले १५ सय रुपैयाँ उठाएर दिएको बताए ।
‘स्थानीयले सङ्कलन गरेको मुठी दानबाट १० किलो चामल पनि दिएको छ’, उनले सुनाए, ‘त्यसैको भरमा आजसम्म चलाइरहेका छौं ।’
बिहीबार भने सरकारले दुई लाख रुपैयाँ राहत दिएको कैलाशले टेलिफोन सम्पर्कमा बताए ।

हजुरआमालाई भावी दिनको चिन्ता

मृतक कालिप्रसादका आमा मड्डी राजवंशी पनि छोरा बुहारीको मृत्युको वियोगमा गहभरि आँशु पार्दै बसिरहेकी थिइन् ।

उनले पनि भविष्यका दिनहरु कसरी अघि बढ्लान भन्ने कुरामा चिन्ता व्यक्त गरिन् । ‘छोराबुहारी नै गुमे’, उनले सुनाइन्, ‘घर, लत्ताकपडा र सरसामानको त के कुरा गर्नु !’

स्थानीय दिलिप सुवेदीले टाठाबाठाले मात्र राहत पाउने गरेको सुनाए । सरकारी राहत निश्चित ठाउँमा मात्र आउने र त्यहाँसम्म पुग्न नसक्ने पीडित खाली हात बस्नु पर्ने गरेको यथार्थ उनले बताए ।

स्थानीय रेडक्रसकर्मी समेत रहेका जगनाथ राजवंशीले यहाँको क्षतिको विवरण सम्बन्धित निकायमा पठाउने काम भइरहेको बताए । जिल्ला रेडक्रस सोइसाइटी झापाका अनुसार बाढीका कारण झापामा १३ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् ।

जिल्लामा २ हजार ५ सय २४ परिवार बाढीबाट प्रभावित भए भने २ हजार ४ सय ४४ परिवार विस्थापित भए । त्यस्तै, ५ सय २१ परिवारको घरमा पूर्ण क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment