Comments Add Comment

अन्तिमपटक जाँच तथा सर्वेक्षण गर्न गाउँ-गाउँमा खटिए इञ्जिनियर


२ भदौ, काठमाडौं । सरकारले भूकम्पले घरमा क्षति भएर पनि विवरण टिपाउन छुटेका र पहिलेको सर्वेक्षणमा विभिन्न कारण पीडितको सूचीमा नपरेकाको गुनासोअनुसार पुनः सर्वेक्षण सुरु गरेको छ । यसलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लामा अन्तिमपटकको सर्वेक्षण पनि भनेको छ ।

यसका लागि भूकम्प अति प्रभावित १४ जिल्लामा आजदेखि ३ सय ३२ जना इन्जिनियरहरु परिचालित भएका छन् ।

राजधानीमा भएको प्रशिक्षण सकाएर आजबाट उनीहरुलाई फिल्डमा जान भनिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

अब उनीहरुले गाउँ तथा नगरपालिकामार्फत प्राधिकरणमा परेका झण्डै २ लाखवटा गुनासोबारे सर्वेक्षण गर्नेछन् । आफू भूकम्पपीडितको सूचीमा नपरेको भन्दै गरिएको गुनासोको छिनोफानो अब गाउँ-गाउँमा खटिएका इञ्जिनियरले गर्नेछन् ।

उनीहरुले दिने सिफरिसका आधारमा थप भूकम्पपीडितको पहिचान हुनेछ । आफूलाई भूकम्पपीडित दावी गर्नेहरु साँच्चिकै प्रभावित हो/होइनन् भन्ने सर्वेक्षण खटिएका इञ्जिनियरले गर्ने प्रवक्ता भुसालले बताए । यसपटक अन्तिम पटक गुनासो संकलन गरिएको र अब भूकम्पपीडितको पहिचानका लागि अर्को कुनै सर्वेक्षण नागरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निजी आवास निर्माण सम्बन्धमा लाभग्राही सूचीमा नपरेको भनी गुनासो दर्ता गरेका लाभग्राहीको छुट तथा पुनः सर्वेक्षणका लागि इञ्जिनियर परिचालन गरेकाले उनीहरुलाई सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

पुनः सर्वेक्षण भदौ ३१ गते सम्म सक्ने प्राधिकरणले लक्ष्य छ । प्राधिकरणले यसरी गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरहरुबाट आफ्नो भत्केको घरको पुनःजाँच तथा पुनःसर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट बिमुख नहुन अनुरोध गरेको छ ।

प्राधिकरणको केन्द्रसम्म आएका दुई लाख सात हजार आठ सय ६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् । १३ हजार ५ सय ६५ प्रवलीकरण सुचीमा परेका छन्।

गुनासो दर्ता नगरेका घरधुरीको भने यसपटक पुनःसर्वेक्षण हुने छैन । थप जानकारी लागि प्राधिकरणको टोल फ्री नम्वर १६६००१७२००० वा ९८०१५७२१११ मा सम्पर्क गर्न प्राधिकरणले प्रभावित तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment