Comments Add Comment

बाढीले बगाएर भारत पुर्‍याएको गैंडाको उद्धार

२ भदौ, चितवन । केही दिनअघि आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैंडाको उद्धार गरिएको छ ।

आन्दाजी साढे दुई वर्षको पोथी गैंडालाई उद्धार गरी चितवन ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

बाढीले निकुञ्जबाट बगाएको उक्त गैंडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको अर्यालले जानकारी दिए ।

गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैंडा फेला परेको थियो । गैंडालाई आजै चितवन राष्ट्रिय निकुञ्जमा छाडिने जनाइएको छ । यसरी बाढीले पाँचवटा गैंडा बगाएको पाइएको निकुञ्जले जनाएको छ । त्यसमध्ये उद्धारै गर्नुपर्ने अवस्थाको देखिएकाले यसलाई उद्धार गरिएको हो ।

एउटा गैंडा बाल्मीकि आश्रम नजिकै नेपाल भारतको सीमा क्षेत्रमा आउजाउ गरिरहेको फेला परेको र एउटा गैंडा भारततर्फ नारायणी नदी किनारको बाल्मीकिनगरस्थित जंगलको सानो टापुमा देखिएको अर्यालले जानकारी दिए ।

अर्को गैंडा भारतको मध्यवर्ती जंगलमा देखिएको जनाइएको छ । अर्यालको नेतृत्वमा गएको व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा गएको प्राविधिक टोलीले गैंडाको उद्धार गरेर ल्याएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment