Comments Add Comment

जापानको नदीमा वेपत्ता भएका नुवाकोटका लोहनी अझै भेटिएनन्

खोजी जारी छः प्रहरी

१८ अगष्ट, टोकियो । घटना अगष्ट १२ तारिख शनिबारको हो । जापानमा यत्तिबेला गर्मी बिदा चलिरहेको छ । यो गर्मी छल्न प्रायः मानिसहरु नजिकका नदी वा समुद्रमा गइ पौडीको मज्जा लिने गर्छन् ।

त्यो दिन दिउँसो ३ बजेतिर लिखु गाउँपालिका, बर्राफेदी नुवाकोटका दिवाकर लोहनी र उनका पाँचसाथीहरु तोचिगी नजिकैको नदीमा पौडी खेल्न गएका थिए ।

तर पौडीको मज्जा लिँदै गरेका लोहनी एकाएक वेपत्ता भए । घटना भएको आज ६ दिन भयो । तर, वेपत्ता भनिएका लोहनीको अझै अत्तोपत्तो छैन् ।

सन् २०१२ मा जापान आएका २६ वर्षीय लोहनी सेन्मोन गाक्कोउका विद्यार्थी रहेको बुझिएको छ ।

घटनालगत्तै तोचिगीस्थित प्रहरी सोही दिन उक्त घटनास्थलमा पुगी खोजी कार्य गर्दा पनि फेला नपरेपछि दुई दिनसम्म घटनास्थलमा प्रहरीको बिशेष फोर्स खटाई हेलिकप्टरबाट खोजी कार्य जारी राखेको प्रहरीले बताएको छ ।

प्रहरीले नदी बग्ने आसपासका जिल्ला चिबा र ओयामास्थित प्रहरीलाई समेत घटनाबारे सूचना दिइसकेको बताएको छ ।

प्रहरीले आफूहरुले निरन्तर खोजी गर्दा पनि केहि आधार फेला नपर्नुले घटना रहस्यमय हुन सक्ने आशंका गरेको छ । प्रहरीले खोजी कार्यका लागि आफूमातहतका सम्पूर्ण शक्ति प्रयोग गरेको बताएको छ ।

एनआरएनए जापानका प्रतिनिधिद्वारा घटनास्थलको निरीक्षण

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष देवीलाल भण्डारीसहितको एक टोलीले बिहीबार नुवाकोटका लोहनी वेपत्ता भएको घटनास्थलको निरीक्षण गरेको छ ।

एनआरएनए जापानको पहलमा गएको उक्त टालीले घटनास्थल पुगेर प्रत्यक्षदर्शी र प्रहरी प्रशासनमार्फत घटनाबारे जानकारी लिएको छ । भण्डारीको नेतृत्वको टोलीले नदी आसपासमा खोजी कार्य गरेपनि लोहनीको बारे केही तथ्य फेला पार्न सकेन् ।

भण्डारीसहितको टोलीमा तोचिगी कमिटीका संयोजक विकास बस्नेत, नुवाकोट समाजका जिवन के.सी, कास्की पोखरा समाजका शिवप्रसाद पौडेल, समाजसेवी राम थापा लगायत रहेका थिए ।

हामी निरन्तर प्रहरीसँगको सम्पर्कमा छौंः राजदूतावास

जापानस्थित नेपाली राजदूतावासले पनि यो घटनालाई गम्भीर रुपमा हेरेको बताएको छ । नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका लोहनीको बारेमा थप जानकारी लिन आफूहरु निरन्तर प्रहरीको सम्पर्कमा रहेको दूतावासले जनाएको छ ।

प्रहरीले वेपत्ता भनिएका लोहनीको खोजीसँगै घटनाबारे अनुसन्धान पनि गरिरहेको दूतावासले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment