Comments Add Comment

गोरखाका लापू र काशीगाउँमा खाद्य असुरक्षा जोखिम हट्यो

२ भदौ, गोरखा । खाद्य असुरक्षाको उच्च जोखिममा रहेको साविकका ११ गाविस मध्ये दुई गाविस जोखिमबाट हटेको छ । लापू र काशीगाउँलाई खाद्य असुरक्षाको उच्च जोखिमबाट हटाइएको जिल्ला खाद्य सुरक्षा सञ्जालले जनाएको छ ।

सञ्जालले गत आर्थिक बर्षको तेस्रो चौमासिकमा तयार पारेको प्रतिवेदनमा लापू र काशीगाउँमा खाद्य असुरक्षाको जोखिम कम भएको नतिजा निकालेको थियो । सोही नतिजालाइ आधार मानेर सञ्जालको बैठकले उक्त क्षेत्रलाइ खाद्य असुरक्षाको उच्च जोखिम बाट हटाएको जिल्ला खाद्य सुरक्षा सञ्जालका वासुदेव पौडेलले बताए ।

उच्चतम खाद्य असुरक्षित अवस्था (चरण ३) मा रहेको साविकका ती गाविसलाइ मध्यम स्तरीय खाद्य असुरक्षित अवस्था (चरण २) मा झारिएको पौडेलले बताए । खाद्य असुरक्षाको अवस्था अनुसार साविकका गाविसहरुलाइ बिभिन्न तीन चरणमा वर्गीकरण गरिएको छ ।

उच्चतम खाद्य असुरक्षित अवस्था (चरण ३) मा साविकका प्रोक, बिही, ल्हो, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौंजा र उहिया रहेका छन् । यी क्षेत्रमा अझै पनि खाद्य असुरक्षाको उच्च जोखिम रहेको पौडेलको भनाइ छ ।

त्यस्तै मध्यम स्तरीय खाद्य असुरक्षित अवस्था (चरण २) मा साविकका थुमी, मान्वु, घ्याच्चोक, सौरपानी, स्वाँरा, गुम्दा, लाप्राक, लापु र काशीगाउँ रहेका छन् । ‘लापु र काशिगाउँ उच्चतम खाद्य असुरक्षित अवस्थामा थिए तर अहिले मध्यम स्तरीय खाद्य असुरक्षित अवस्थामा झरेका छन्,’ सञ्जालका पौडेलले भने । बाँकी अन्य क्षेत्र भने न्यूनतम खाद्य असुरक्षित अवस्था (चरण ३) मा परेको उनले बताए ।

लापु र काशिगाउँमा खाद्य सम्बन्धी बिभिन्न कार्यक्रमहरु संचालन भएसँगै खाद्य असुरक्षाको जोखिम कम भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । ‘उक्त क्षेत्रमा कामका लागी खाद्यान्न, चरन बिकास, जडिवुटी उद्योग स्थापना, आलु पकेट क्षेत्र स्थापना, आवास निर्माण, जीविकोपार्जन लगायतका कार्यक्रमहरु संचालन भएपछि खाद्य असुरक्षाको जोखिम कम हुन गयो,’ पौडेलले भने ।

सञ्जालले चालु आर्थिक बर्षको कात्तिक मसान्त सम्म चरण १ र २ मा रहेका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था उस्तै रहने जनाएको छ । तर चरण ३ मा रहेका क्षेत्रहरुमा भने खाद्य सुरक्षाको अवस्था सुधार हुने अनुमान गरिएको छ । भौगोलिक बिकटता, मौसमी अवस्थाका कारण खाद्यान्न बालीको उत्पादकत्व बढाउन नसक्नु र सडक सञ्जालको नभएका कारण अझै पनि सविकका नौ गाविस खाद्य संकटको जोखिममा रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment