Comments Add Comment

सप्तरीमा नदी नियन्त्रणको लगानीः बालुवामा पानी

३ भदौ, काठमाडौं । हरेक वर्षायाममा बाढीले बस्ती र खेतका गह्रा डुबानमा पार्ने उच्च जोखिम रहेका सप्तरीमा नदी नियन्त्रणका लागि गरिएको लगानी बालुवामा पानी हालेसरह भएको छ । नदी नियन्त्रण र व्यवस्थापनमा करौंडो खर्च हुँदै आए पनि सप्तरीमा बर्सेनि आउने बाढीले दर्जनौ गाउँबस्ती डुबानमा पर्ने गरेको छ ।

यसपटक आएको बाढीले जिल्लाको ८० प्रतिशत भूभाग जलमग्न बनायो ।

गत साता कोसीसहित खाँडो, महुली, जितालगायत दर्जन बढी खोलामा आएको बाढीले ३० हजार घरपरिवारका साढे एक लाख व्यक्ति प्रभावित भएको र तीन हजार विस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले बताए ।

खाँडो खोलाको बाढी नियन्त्रणका लागि रुपनी राजमार्गदेखि कुनौलीसम्म बनाउनुपर्ने २४.३ किलोमिटर बाँध निर्माणमा गत वर्ष पनि १४ करोड २१ लाख छुट्याइएको थियो । तर, तीनवटा योजना अपूरो रहेको र दुईवटा योजना स्थानीयको प्रतिकारले बन्न नसकेको खाँडो नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख अखलाक सिद्दिकीले बाढीले ठाउँ–ठाउँमा तीन किलोमिटर बाँध भत्केको र साढे तीन किलोमिटर बाँध कटान हुँदा तीन करोड २० लाख क्षति भएको जानकारी दिए ।

असारमा निर्माण सम्पन्न गरेको बाँधमध्ये रायपुरमा एक सय २० मिटर, दिघवामा ७५ मिटर, कदमाहामा एक सय ५० मिटर, बिरौलमा पाँचसय मिटर, देउरी भरुवामा सात सय ५० मिटर र सकरपुरामा तीन सय ५० मिटर बाँध कटान भएको छ । दिघवा, कमलपुर, देउरी भरुवा, विषहरिया, लौनियालगायत ठाउँमा साढे तीन किलोमिटर बाँध कटान भइरहेकाले ती ठाउँ अझै जोखिमयुक्त छ ।

बाँध नजिकैको बालुवा थुपारेर बनाइएका र मर्मत गरिएका अधिकांश बाँध भत्किनुमा इमानदारीपूर्वक काम नभएको र राम्रोसँग अनुगमन निरीक्षण नभएको राजविराज १५ का वडासचिव परशुराम यादवको दाबी छ । नदीमा स्पर–डेन नराखी, क्रेटिङ नगरी बाँधको नाममा खाँडोकै बालुवा थुपार्ने काम मात्रै भएको उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment