Comments Add Comment

राहत लिएर गृह जिल्ला पुगे गायक प्रमोद


३ भदौ, झापा । चर्चित गायक प्रमोद खरेल शुक्रबार झापाको कचनकबल गाउँपालिकाका बाढी पीडितलाई राहत सामग्री लिएर पुग्दा पीडितहरुमा खुशीको सिमा थिएन ।

रेडियोमा सुन्न र टिभीमा देख्न मात्र पाएको गायकलाई आँखा अगाडि नै देख्न पाउँदा उनीहरु दङ्ग थिए । त्योभन्दा बढी खुशी त उनीहरु त्यतीबेला भए, जतिबेला आफ्नो प्रिय गायकबाट उनीहरुले राहत सामग्री पाए ।

राहतको पोको पाएपछि खुशी हुँदै निस्किएका बाढीपीडित इमरुदिन मियाले अलिपर पुग्ने बित्तिकै पोको खोले । एक जना सहयोगीले उनको चामलको बोह्रा बोकिदिएका थिए ।

‘त्रिपाल… झुल…. नुन… टर्च..’, उनी एक्लै बर्बराउँदै थिए । राहत पाउँदा उनले बाढीको सम्पूर्ण दुःख, पीडा भुले । साउन २७ गते शुक्रबार राति आएको बाढीले उनको घर डुबानमा परेको थियो ।

‘बाढीले लगाएको बाली सबै सखाव पारेको थियो’, उनले भने, ‘भएका गाई वस्तु पनि बगे ।’ बाढीका कारण भोग्नु परेको पीडा सुनाउँदै गर्दा भक्कानिएका थिए, उनी ।

उनले भावुक हुँदै भने, ‘धान तीन विगाह लगाएको थिएँ । बाढीले लाग्यो । अब के गर्नु निक्कै चिन्ता छ ।’

उनले तयार पारेको सय मुठो पाटा पनि बग्यो । बाढीको कहर सुनाउँदै गर्दा अत्यन्त भावुक भएका उनी राहत पाएपछि चाहिँ खुशी दिखिन्थ्ये । केहीबेर भए पनि उनले पीडा भुलेका थिए ।

करिब ७० वर्षकी रामवती गणेशलाई राति घरमा निस्किनु परे निकै समस्या हुन्थ्यो । बिजुली पनि नहुँदा त झन् अन्धकारमा हिँडडुल गर्नु पथ्र्यो ।

गाउँमा भाइरलको प्रकोप पनि बढ्दै थियो । लत्ताकपडा केही थिएन । कसरी त्यसबाट बच्ने कुनै उपाय थिएन । तर, प्रमोदले राहत सामग्रीमा टर्च लाइट र झुल पनि वितरण गरेपछि उनको समस्या समाधान भएको छ । राहत सामग्री पाएपछि उनी खुशीले गदगद छन् ।

उनीहरुसहित कचनकबल गाउँपालिकाका अन्य बाढीपीडित पनि राहत पाउँदा खुशी थिए । प्रायः संघसंस्थाहरु राहत लिएर बाढीका कारण बढी मृत्यु संख्या भएको क्षेत्रतिर गइरहँदा अधिकांशको नजरमा नपरेको कचनकबलमा खरेल सहयोग गर्न पुग्दा स्थानीयले खुशी व्यक्त गरे ।
यसअघि उनले भूकम्पपीडित बालबालिकाका लागि दोलखामा विद्यालय बनाइदिएका थिए ।

केही दिनअघि पूर्र्वी तराईका विभिन्न भूभागमा आएको बाढीका कारण प्रभावित परिवारहरुको दर्दनाक अवस्था बारे जानकारी पाएपछि प्रमोदले उनीहरुको लागि केही सहयोग गर्ने सोच बनाएका थिए ।

सोही अनुरुप फेसबुकमा स्टाटस लेख्दै आफूले १० हजार रुपैयाँ हालेर राहतको लागि सहयोग सुरु गरेको उनले अनलाइनखबरलाई बताए ।

त्यसको केही समयपछि अन्य व्यक्तिहरु पनि त्यहाँ जोडिँदै गए । चर्चित हेयर स्टाइलिस्ट निलडेबिड कटवालले १५ हजार रुपैयाँ दिने घोषणा गरे । संगीतकार गौरभ दर्पणले पनि उनीहरुलाई साथ दिए । अनि, बाढी पीडितका लागि छुट्टै अभियानै सुरु भयो ।

यसरी जम्मा भएको रकमलाई बाढी प्रभावित जनता समक्ष पुर्याएको गायक खरेलले बताए । उनका अनुसार पहिलो चरणको प्रारम्भिक राहत स्वरुप ३ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ ।

कचनकबल गाउँपालिकाको केचना, बनियानी, पाठामारी र भैसाबाडी क्षेत्रका १ सय बाढीपीडितलाई राहत वितरण गरिएको थियो । राहतमा २५ केजी चामल, त्रिपाल, झुल, तेल, दाल, नुन, टर्च लाइट लगायत अत्यावश्यक खाद्य सामग्रीहरु थियो ।

गाउँपालिकाका अध्यक्ष अन्जार आलमका अनुसार कचनकबलमा बाढीका कारण एक जनाको मृत्यु भयो भने हजारौं विगाहा धान खेती नष्ट भयो । भौतिक संरचनाहरु पनि भत्किएका छन् ।

यहाँ ५ हजार घरपरिवार बाढीबाट प्रभावित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment