Comments Add Comment

विश्वका ८ अग्ला हिमाल, जुन नेपालमै छन् !

३ भदौ, काठमाडौं । नेपाल सुन्दर हिमश्रृंखलाले धनी देश हो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यहाँ हामीले तिनै ८ वटा अग्ला हिमालको तस्वीर प्रस्तुत गरेका छौं ।

सर्वोच्च शिखर सगरमाथाले त नेपाललाई विश्वमा चिनाइरहेकै छ । तर, अन्य सातवटा हिमशिखरको भने खासै चर्चा हुँदैन । ‘टप टेन’ मध्ये नेपालमा रहेका बाँकी ७ वटा उच्च हिमालहरु मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण हुन् ।

सगरमाथा आरोहणमा भीडभाड हुने गरे पनि यी सातवटा हिमशिखरहरु चढ्नलाई भने न्यून संख्यामा विदेशी आरोहीहरु आउने गरेका छन् । यसको कारण हो प्रचार- प्रसारको कमी ।

आवश्यक प्रचार-प्रसारको अभावले गर्दा यी हिमालमा विदेशी आरोहीको आकर्षण बढ्न नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वमहासचिव तथा पर्यटन व्यवसायी मोहन लम्साल भन्छन्, ‘म पर्यटन प्रवर्द्धनका लागि विश्वका तीन दर्जनभन्दा बढी देशहरु घुमिसकेँ । माउन्ट एभरेष्टको देशभन्दा सबैले सहजै चिन्दा रहेछन् । तर, अरु हिमालहरुबारे मानिसहरुलाई थाहा छैन ।’

सगरमाथा हेर्न धेरै विदेशीहरुले रुची देखाउने गरे पनि नेपालमा आउन सहज नभएको बताउने गरेको लम्सालको भनाइ छ । उनले भने, ‘अबको जमाना भनेको ई- कारोबारको हो, तर हामीकहाँ ई-कारोबार गर्न कान्ून नभएका कारण जति पर्यटनको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन ।’

सगरमाथा

 

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नेार्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ । तर, चीनतर्फबाट भन्दा नेपालतर्फको मोहडाबाट आरोहण प्रख्यात रहेको छ ।

कञ्चनजंघा

विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । पहिलो पटक सन् १९५५, मे २५ मा बि्रटिश नागरिक जि ब्याण्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए ।

लोत्से

विश्वको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल महालंगुर हिमश्रृंखलामा पर्दछ ।

मकालु

विश्वको पाचौं अग्लो हिमाल हो मकालु । यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ । संखुवासभामा रहेको यो हिमाल पदयात्राका हिसाबले जति प्रख्यात हुनुपर्ने हो त्यति हुन सकेको छैन । पुर्वाधारको हिसावले पनि यो हिमाल निकै पछाडी रहेको छ । पहिलोपटक प|mेन्चका जे कोजी र एल टेरीले यो हिमाल आरोहण गरेका थिए ।

चोयु

विश्वको छैठौं अग्लो हिमाल हो चोयु । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल ८ हजार २ सय १ मिटरको छ । सन् १९५४ अक्टोबर १९ मा अष्ट्रियन एच टीचे र नेपालका पासाङ दावा लामाले सो हिमाल आरोहण गरेका थिए ।

धौलागिरी

विश्वको सातौं अग्लो हिमाल हो धौलागिरी । यो विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्ग क्षेत्रभित्र पर्छ । ८ हजार १ सय ६७ मिटर उचाई भएको धौलागिरी हिमाल सर्वप्रथम स्वीस नागरिक के डिमब्रेगर र ए सेलब्रटले आरोहण गरेका थिए । यो मनाङ्ग र मुस्ताङ्ग जिल्लामा पर्दछ ।

मनास्लु

मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । यो गोरखा जिल्लामा पर्छ । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमाल सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए ।

अन्नपूर्ण

 

 

अन्नपूर्ण हिमाल विश्वको दशौं अग्लो हिमाल हो । यो पदयात्राका लागि विश्वभर प्रख्यात छ । समुद्री सतहबाट ८ हजार ९१ मिटर अग्लो यो हिमाल पहिलोपटक सन् १९६० जुन ३ मा फ्रेञ्च नागरिक एम हेरजोग र एल ल्याचनेलले आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment