Comments Add Comment

बाढी आएको ठाउँमा धान छर्न कृषि विज्ञको सुझाव

मदन राई भन्छन्- अब धान रोप्न भ्याइँदैन, छर्नु राम्रो

फाइल तस्वीर

३ भदौ, काठमाडौं । लगातार  वर्षाका कारण तराईमा आएको बाढीले कृषि क्षेत्रमा अरबौंको क्षति पुर्‍याएको छ । त्यसमा पनि अत्यधिक असर परेको छ धानखेतीमा ।

डुबानमा परेको धान फल्छ कि फल्दैन ? बाढीले धानका गाँजहरु बगाएका ठाउँमा अब यसै वर्ष धान खेती सकिन्छ कि सकिँदैन ? यसबारेमा हामीले कृषि विज्ञ मदन राईसँग कुराकानी गरेका छौं ।

तराईमा भएको डुबानले धानबालीमा कति क्षति पुर्‍यायो होला ? तपाईसँग केही तथ्य छ ?

पानीमा २/४ दिन डुब्दैमा त धानलाई क्षति पुग्दैन । तर, लामो समय डुबानमा परेका स्थानमा भने धानको जरा कुहिने सम्भावना हुन्छ । जरा कुहिएपछि धानको बोट नै मरेर जान्छ ।

धानलाई प्रकाशको पनि आवश्यकता पर्दछ । पानीमा डुबानको बेलामा यसलाई आवश्यक पर्ने कार्बन डाइअक्साइड र प्रकाश दुबै पाउँदैन, अनि मर्छ ।

त्यसैले लामो समय डुबेका धानका बिरुवाहरु कुहिएर मर्नेछन् । जसबाट फल्ने आश नै गर्न परेन । केही दिन मात्रै डुबान भएकामा चाहिँ आत्तिनु पर्ने स्थिति छैन ।

बाढीले कैयन स्थानमा धानका विरुवा नै बगाएर लगेको छ, के त्यस्तो ठाउँमा फेरि रोपाइँ गर्न सम्भव छ ?

साउन महिनाको मध्य समयसम्म भए रोपाई गर्नु पनि उचित नै हुन्थ्यो । तर, अहिले भदौ लागिसकेको छ । तराईको धान असोजदेखि कात्तिकसम्म पाकिसक्नु पर्छ । अब धान रोप्दा पाक्ने समय मंसिर हुन जान्छ । त्यसैले यो उपयुक्त देखिँदैन ।

धान सामान्यतः १२० दिनमा पाक्ने गर्छ । गर्मी स्थानमा छिट्टै पाक्ने धान तराईमा अब रोप्ने हो भने पनि जाडो सिजन सुुरु हुन्छ । त्यसैले रोप्न लाग्दा अब ढीलो हुन्छ । त्यसैले अबको एक मात्रै विकल्प भनेको धान छर्नु मात्रै हो ।

त्यसरी छरेको धान फल्छ र ?

रोपेको जस्तो छरेको धानको उत्पादन राम्रो हुँदैन । तर, धेरै ठूलो मात्रामा उत्पादनमा घट्ने पनि हुँदैन । करिब १० प्रतिशतको हाराहारीमा रोपेको धानको तुलनामा छरेको धानको उत्पादन कम हुन्छ । छरेको धान गोड्ने बेलामा कठिन हुन्छ । यति मात्रै नभई काट्ने बेलामा पनि रोपेको धान जसरी सहज ढङ्गले काट्न सकिँदैन ।

कसरी छर्ने धान ?

बाढीले पुरेको वा डुबानमा परेर धान मरेको ठाउँमा सोझै धानको बिऊ छरिदिने । अहिले तराईमा धान रोप्न खोज्ने हो भने बिउ हुर्किन नै करिब २ हप्ता लाग्छ । बिउ उत्पादनका लागि खर्चेका २ हप्ता र फेरि बिउ उखेलेर रोपेको धानले जरा फैलाउन लाग्ने दुई साता गर्दा करिब १ महिना खर्च हुन्छ । त्यसैले अब तराईमा धान छरेर भए पनि धान उत्पादन गर्नुपर्दछ ।

कुन जातको धान त्यसरी छरेर फलाउन सकिन्छ ?

हामीले खेती गर्दै आएका सामान्य धान नै छर्न सक्छौं । यसका लागि कुनै बिशेष जातको धानबाली नै चाहिन्छ भन्ने छैन ।

तराईको बाढीले हाम्रो समग्र अर्थतन्त्रलाई कस्तो असर गर्ला ?

धान उत्पादन कम हुने बित्तिकै हाम्रो अर्थतन्त्रमा असर पर्दछ । नेपाल कृषिप्रधान देश हो । यहाँको ठूलो जनसंख्या कृषि पेशामा नै आश्रति छन् । तर, दुःखका साथ नै भन्नुपर्छ, पछिल्लो समय देश रेमिट्यान्समा भर पर्न लागेको छ । युवा शक्ति बिदेश गएपछि खेती किसान गर्नेहरुको अभाव बढेको छ । यो क्षेत्र व्यवसायिकरण हुँदै फस्टाउन पर्ने हो, तर त्यसो हुन सकेन ।

कृषकले धान उत्पादन गरी बेचेर पैसा कमाउँछ । कृषकले बेचेको धान-चामल उद्योगवालाले कुटेर चामल बनाउँछ र केही नाफा लिएर व्यवसायीलाई बेच्छ । अब यस्तो बजारमा गएको धान फेरी व्यवसायीले ग्राहकलाई बेचेर नाफा कमाउँछन् । होटल व्यवसयाीले यस्तो चामल पकाएर बेच्छन् र पैसा कमाउँछन् ।

यसरी पैसा कमाउनको लागि मुख्य कुरा भनेको धान उत्पादन राम्रो हुनैपर्छ । यदि धान उत्पादन राम्रो नभए उद्योग तथा व्यवसायमा पनि असर पदर्छ । भारतबाट अहिले पनि ठुलो परिमाणमा धान आयात हुने गरेको छ । अब आफ्नो देशमा उत्पादन न्यून भएसँगै भारतबाट आयात बढाउनुको विकल्प हुँदैन । यसले नेपालको अर्थतन्त्रलाई परनिर्भर बनाइदिन्छ ।

आगामी आर्थिक बर्षको आर्थिक बृद्धिदरमा यसको कस्तो असर देखिएला ?

गत आर्थिक वर्षको आर्थिक वृद्धिमा कृषि क्षेत्रको भुमिका २९.३७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा मौसममा आएको सुधारका कारण यसको उत्पादन राम्रो भएको थियो । जसले आर्थिक बृद्धिदर माथि लानको पनि महत्पुर्ण भुमिका खेलेको थियो ।

मौसममा आएको सुधार, पुँजीगत खर्चमा बृद्धि र पुननिर्माणले पाएको तीव्रताका कारण गत आर्थिक वर्षमा ६.९ प्रतिशतको आर्थिक बृद्धि भएको थियो । यो वर्ष सुरुमा गत वर्ष जस्तो मौसम रहन सकेन जसका कारण अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम रोपाई भएको छ ।

अहिले रोपेको ठाउँमा बाढीले बगाएको छ । यसले गर्दा उत्पादन घट्ने त निश्चित नै भयो । त्यसैले आर्थिक बृद्धिमा कृषि क्षेत्रको भुमिका गत वर्ष जस्तो रहन सक्दैन । गत वर्ष जस्तो आर्थिक बृद्धि यो वर्ष हासिल गर्न सक्ने स्थिति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment