Comments Add Comment

संकटमा बार्सिलोना !

३ भदौ, काठमाडौं । पहिले नै यो स्पष्ट थिएन तर, स्पेनिस सुपर कपमा रियलसँगको लज्जास्पद पराजयले पुष्टि गरेको छ कि बार्सिलोना अहिले संकटमा छ ।

कोपा डेल रे विजेताको हैसियतमा स्पेनिस सुपर कपमा ला लिगा तथा युरोपियन च्याम्पियन रियल मडि्रडसँग प्रतिस्पर्धा गरेको बार्सिलोनाले दुई लेगमा गरी ५-१ गोलको पराजय व्यहोर्‍यो ।

सिजनको तीन ठूला उपाधि जितेर विश्वकै महान क्लबमा रुपान्तरित हुने क्रममा रहेको बार्सिलोनासँग जुनियरदेखि सिनियरसम्मका विश्वस्तरीय प्रतिभाको खानी देखिन्थ्यो । तर, विश्व ट्रान्सफर मार्केटमा उसले धेरै गुमायो ।

कहिलेकाहीँ यस्तो लाग्छ कि बार्सिलोना लियोनल मेस्सीमाथि अधिक निर्भर देखिन्छ, र पाँच पटकका बेलोन डि ओर बिजेता ३० वर्ष लागिसकेका छन् ।

यो समरमा उसका खेलाडीको प्रस्थानले कष्टप्रद दिन सुरु भएको देखिन्छ । आफ्नो भविश्य निर्माणका लागि भन्दै नेइमार कीर्तिमानी १९८ मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेन गए ।

त्यसको १२ दिनपछि बार्सिलोनाले इंग्लिस क्लब टोटनहृयामका फ्लप पूर्व मिडफिल्डर २९ वर्षीय पाउलिन्होलाई क्लबको चौथो महंगो मूल्य ३६.४ मिलियन पाउण्डमा चिनियाँ क्लबबाट अनुबन्ध गर्‍यो । अहिले रियल मडि्रडका पूर्व विंगर तथा मेस्सीका अर्जेन्टाइन टिममेट एन्जेल डि मारियालाई अनुबन्ध गर्न लागेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् ।

गत सिजन अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक लुइस इनरिकेलाई गुमाएको बार्सिलोनाले सिजन सुरु हुने समयमा सुपरस्टार स्ट्राइकर नेइमारले पनि क्लब छाडेर हिँडे । एमएसएनको रुपमा विश्वकै उत्कृष्ट स्ट्राइकिङ लाइन भएको बार्सिलोनाका लागि नेइमारको अनुपस्थितिकै परिणामका रुपमा देखियो सुपर कप ।

पछिल्लो १२ सिजनमा ७ पटक सुपरकपको नतिजा निकालेको बार्सिलोनाले आफू पराजित हुँदा पनि यति ठूलो गोलअन्तर भोगेको थिएन । त्यसैले त ९ वर्षदेखि बार्सिलोनाको पहिरो रोजाइमा पर्दै आएका जेरार्ड पिकेले बाध्य भएर भने कि ‘जीवनमै पहिलो पटक रियल मडि्रडभन्दा कमजोर महशुस भयो ।’

सिजन भर्खरै सुरु भएको बताउँदै पिकेले भनेका छन् कि हामीले सुधार गर्नुपर्ने धेरै छ, किनभने हामी मडि्रडभन्दा पछि परेका छौं । पहिलो लेगमा ३-१ ले पराजित भएपछि पिकेले बार्सिलोनाका डाइरेक्टरको पनि आलोचना गरेका थिए ।

सुपर कपको पराजयले क्लबको स्वाभिमानमा लागेको चोट त छँदैछ, स्ट्राइकर लुइस स्वारेज र डिफेण्डर पिके चोटका कारण ला लिगाको सुरुवाती खेल गुमाउने भएका छन्, यसले लिगको सुरुमै बार्सिलोना संकटमा पर्ने निश्चित छ । स्वारेज पाँच साता मैदानबाहिर रहने निश्चित भइसकेको छ ।

नयाँ सिजनका लागि प्रशिक्षकमा एथ्लेटिको विल्वाओवाट अर्नेष्टो भाल्भर्डेलाई अनुबन्ध गरेको बार्सिलोनाले सुपरकपमा ब्यहोरेकोे हारले शनिबारदेखि सुरु हुने ला लिगामा उनको चुनौतिलाई प्रतिविम्बित गरेको छ ।

बार्सिलोनाको संकट उसका चीर परिचित प्रतिद्वन्दी रियल मडि्रडका कारण सुरु भएको हो, जसले बार्सिलोनाकै खाकामा आफूलाई अगाडि बढाइरहेको छ ।

रियल मडि्रडको युवा टिममा स्पेनिस प्रतिभाहरु नाचो, इस्को, लुकास भाजक्वेज र मार्को एसेन्सियोलगायत छन् । र, खेलाडीको खोजीमा पनि उसले बार्सिलोना मोडलको पालना गर्छ ।

सन् २००८ मा संकटग्रस्त बार्सिलोनालाई उसकै पूर्वकप्तान तथा युवा टिमका प्रशिक्षक पेप ग्वार्डिओलाले निक्कै उकासे । र अहिले रियल मडि्रडमा उसका पूर्व स्टार तथा युवा टोलीका प्रशिक्षक जिनेदिन जिदाने प्रशिक्षकका रुपमा छन् ।

तर, सबैभन्दा ठूलो बिडम्बना एसेन्सियोको हकमा देखियो । जसलाई युवा खेलाडीको रुपमा अनुबन्ध गर्न क्याटलान क्लबले ४ मिलियन पाउण्ड खर्चन अस्वीकार गरेको थियो ।

मडि्रडमा युवा खेलाडीको बर्चश्व छ । बार्सिलोनाले पछिल्लो एक दशकमा युरोपियन फुटबलमै तहल्का मच्चाइरहँदा रियललाई च्याम्पियन्स लिगको उपाधि जित्न चार वर्ष पर्खनुपरेको थियो ।

बार्सिलोना नाउ क्याम्पमा प्रतिभाशाली खेलाडीलाई आकर्षित गर्न पनि संघर्षरत देखिएको छ । मार्को भेराटीले पिएसजीमै रहने विकल्प चुनेका छन् भने फिलिप काउटिन्होको सम्झौता दिन प्रतिदिन असम्भव जस्तो देखिएको छ ।

र, बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर पेप सेगुराले पनि अर्को भ्रमको अवस्था सृजना गरिदिए, जब उनले मेस्सीको नयाँ सम्झौताबारे पुष्टि गर्न इन्कार गरिदिए ।

अनुबन्धको तीन वर्षपछि प्रशिक्षक ग्वार्डिओलाले बार्सिलोनालाई ब्रहृमाणकै उत्कृष्ट क्लब बनाए । केहि मानिस त यसलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट क्लब मान्थे ।

उनले तीन सिजनको फरकमा दुई पटक च्याम्पियन्स लिग जित्नुमा विश्व स्तरीय एकेडेमीकै देन थियो ।

भिक्टर भाल्डेस, पिके, कार्लोस पुयोल, सर्जियो बुस्केट, जाभी, आन्द्रेस इनिएष्टा, पेड्रो र मेस्सी । साथै बैकल्पिक खेलाडीको रुपमा बोजान, थियागो आल्कान्तारा र मार्क बार्त्रा । सन् २०१२ मा टिटो भिलानोभाले ११ जना एकेडेमीका खेलाडीलाई मैदानमा उतारेर लेभान्टेबिरुद्ध ४-० को जित दर्ता गराए ।

त्यसको पाँच वर्षपछि, सन् २०१७ मा पनि बार्सिलोना त्यही खेलाडीमा भर परिरहेको छ । र, जो रिटायर्ड भएका छन्, उनीहरुको प्रतिस्थापनमा पनि उपयुक्त खेलाडी छैनन् ।

बुस्केट सबैभन्दा कान्छा उमेरमा एकेडेमी प्रतिभा हुन्, जो २९ वर्षका भइसके । अव विश्व स्तरीय एकेडेमी ला मासिया पनि धेरै खस्केको छ ।

उसले १८ वर्षीय जोर्डी एमबोउलालाई मोनाको र १६ वर्षीय एरिक गार्सियालाई म्यानचेस्टर सिटी पठाउने निक्कै अदूरदर्शी निर्णय गरेको छ ।

सन् २०१३ मा नेइमारलाई सान्तोषबाट भित्र्याउने र त्यसको एक सिजनपछि लुइस स्वारेजलाई लिभरपुलबाट अनुबन्ध गरेपछि मेस्सीसहितको बार्सिलोनाको अग्रपंक्ति विश्वमै उत्कृष्ट ठहरियो । यी दुई स्टार बार्सिलोनाको इतिहासमै सबैभन्दा महंगा खेलाडी हुन् । तीन स्ट्राइकरले पहिलो सिजनमै महत्वपूर्ण तीन उपाधि जितेर ग्वार्डिओलाको साख गुमाएनन् ।

यद्यपि बार्सिलोनालाई ग्वार्डिओलाले यस्तो बनाएका थिए कि कुनैपनि एक खेलाडीमाथि उनी कहिल्यै निर्भर भएनन्, भलै मेस्सी जतिसुकै उत्कृष्ट होउन् ।

सन् २०१५/१६ सिजनको मध्यतिर अग्रपंक्तिका तीनै स्ट्राइकरले एक महिनासम्म गोलको तालमेल मिलाउन सकेनन्, परिणाम च्याम्पियन्स लिगदेखि लालिगाको ९ अंकको अग्रता सकियो ।

प्रशिक्षक लुइस इनरिकेले यस समस्याबाट मुक्त गराउने प्रयास नगरेका होइनन् । त्यसैले त्यस सिजनको अन्तिममा स्यामुअल उम्टिटी, लुकार डिग्ने, आन्द्रे गोमेस र पाको अल्कासरलाई अनुबन्धित गरियो । तर, चारै जना बार्सिलोनाका लागि आवश्यक स्तरबाट कमजोर देखिए ।

तर, बार्सिलोनाका सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार टिमका खेलाडीहरुको मान्यता यो छ कि पोर्चुगिज मिडफिल्डर गोमेसको तुलनामा एकेडेमीका खेलाडीहरु धेरै गुणा उत्कृष्ट छन् ।

ला मासियामा एक अर्का खेलाडीलाई बाहिर राखिएको छ । १९ वर्षीय सेन्टर मिडफिल्डर कार्लेस एलेना, टिममा पाउलिन्होको आगमनपछि आफ्नो भविश्य खतरामा आएको महशुस गरिरहेका छन् ।

सा् २०१५ मा पछिल्लोपटक सबैभन्दा ठूलो उपलब्धी हासिल गरेपछि बार्सिलोनाले विश्व फुटबलमा लामो समय राज गरिरहने विश्लेषणका ठीक विपरित अधोगति सुरु भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment