Comments Add Comment

राजमार्गको यात्रा : भोकको महाभारत र निदाएको प्रशासन

फाइल तस्वीर: पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने-बर्दघाट खण्डमा भासिएको सडक ।

जानैपर्ने भयो, सुर्खेत । वर्षायाम भएपनि त्यसदिन झरी दर्किएको थिएन । आकासमा कालो बादल भने मडारिरहेको थियो । गएको शुक्रबार । मध्यन्ह साढे २ बजे ।

मैलेे बस समाते, काठमाडौंबाट सुर्खेत जाने । मुग्लिङ-नारायणघाट सडकमा राति सवारी आवगमनमा निषेध गरिएको रहेछ । त्यसैले गोंगबु बसपार्कबाट पश्चिमका लागि हिँडेका यात्रुबीच साँझ कुरिनटारमा बास बस्ने र अर्को बिहान त्यहाँबाट यात्रा थाल्ने निधो भयो ।

पश्चिम हिँडेका यात्रुहरुको मेला लाग्यो, कुरिनटारमा । गाडीहरु पंक्तिबद्ध भए ।

अर्को मिर्मिरे बिहान यात्रा सुरु भयो । तर, अघिल्लो दिन जस्तो मौसम सामान्य भएन । मध्यरातदेखि परेको दर्के झरी थामिएको थिएन । नवलपरासीको अरुणखोला बजारमा खाना खान रोकिएका गाडीहरुले त्यहाँभन्दा अघि बढ्ने सुरसार गरेन । अपुष्ट खबर आयो, ‘बाटो अवरुद्ध छ ।’

त्यसलाई पुष्टि गर्ने कुनै उपाय भएन हामीसँग । सबैको मोबाइल स्विच अफ थियो, व्याट्री सकिएर । विपरितबाट आएका सवारी चालकले खबर सुनाए, ‘दाउन्नेमा सडक भाँसिएको छ ।’ कस्तो आपत !

अब गाडीको लाम लाग्न थाल्यो । गाडीको त्यो ताँती सामान्य दिन हुँदोहो त, शुक्रबार हिँडेका यात्रु शनिबार बिहान सुर्खेत, कैलाली, कञ्चनपुर पुगिसक्थे । तर, हामीले त्यसको आधा दुरी पनि छिचोलेका थिएनौ । यात्रुहरु हतास भए । के गर्ने, कसो गर्ने भन्दै हतारिन थाले । तर, त्यो संकटबाट फुत्किने कुनै उपाय थिएन ।

भोकको महाभारत

माग र आपूर्तिको नियम अर्थशास्त्रमा घोकिएको थियो । बाटोमा बिल्बिाठ भएपछि त्यसको अनुभव पनि गरियो ।

जामको कारण यात्रुको ओइरो लागेपछि खानेकुराको संकट हुने नै भयो । क्रमस खानेकुरा दुर्लभ हुँदै गए । कतिले त अरुणखोलामा पेट भरेका थिए । बाँकीको भने हरिबिजोग भयो ।

दुम्कीवास र अरुणखोल बजारको बीचमा रोकिएका यात्रुहरुले चाउचाउ र बिस्कुट त फेला पारे तर, अचाक्ली महंगो । एक प्याकेट चाउचाउको ५० रुपैयाँ । एक बोत्तल पानी पनि ५० रुपैयाँ ।

तर यात्रुले सोधेनन्, किन यति महंगो भनेर । किनभने सबैले देखेकै थिए, दर्केको झरिमा साइकलमा दु:खसाथ चाउचाउ, बिस्कुट ल्याएर बिक्री गरेको ।

दुम्कीबजारमा यात्रुहरु छरपस्ट भए । अनिश्चित यात्राले त्यो पट्यारलाग्दो बसाई लम्बिएको थियो । हामीले ट्राफिकलाई सोध्यौं, ‘बाटो कहिले खुल्छ ?

उनीहरुले निरासलाग्दो जबाफ फर्काए, ‘आज बाटो बन्ने छाँट छैन ।’

निदाएको प्रशासन

शनिबार साँझसम्म बाटो खुलेन । दुम्कीवासबाट १५ किलोमिटर हिँडेपछि बर्दघाट पुगिन्छ । सडक भत्किएको ठाउँसम्म ११ कलोमिटर छ । त्यहाँबाट दाउन्ने भन्दा पनि बर्दघाट नजिक । तर, सबै यात्रुहरु दम्कीवास नै रोकिए ।

स्थानीय प्रसासन समक्ष हारगुहार गरियो, ‘यात्रुलाई बाटो भाँसिएको स्थानसम्म पुर्‍याउने व्यवस्था मिलाइदिनु पर्‍यो भनेर ।’ त्यहाँसम्म पुगेर पैदल हिँड्दै बाटो काटेपछि आफ्नो गन्तव्यतर्फ सोझिन पाइन्थ्यो । किनभने त्यहाँबाट बर्दघाटबाट सुनवल, बुटवल हुँदै सवारीसाधन परिवर्तन गरेर पश्चिमतर्फका गाडी फेला पार्न गाह्रो थिएन ।

तर, प्रशासनले त्यस्तो बिजोगमा पनि आँखा चिम्लियो । यात्रुको दुखेसोमा कान बन्द गरे । मैले गरेको अनुरोध बालुवामा पानी सरह भयो ।

एक दिन होइन, तीन दिनसम्म बाटो खुलाइएन । यात्रुको बिजोग छ । त्यतीका बिचल्ली भएको छ । न खाने वन्दोबस्त छ, न बस्ने । तर, त्यो पीडा स्थानीय प्रशासनले पटक्कै महसुस गरेन । यदि उसले चाहेको भए, त्यो बाटो खुलाउन केही समय लाग्ने थिएन ।

आखिरमा यात्रुहरु दम्कीवासमै थुनिए, एक छाक सादा खानाको ३ सय ५० रुपैयाँ तिर्दै ।

कति यात्रु बाटोमै बेखर्ची भए । घरसम्म पुग्ने खर्च बोकेर हिँडेकाहरु भोकभोकै रात कटाउन बाध्य भए । बेखर्ची यात्रुलाई अर्को यात्रुले ख्वाउनुपर्ने अवस्था आइलाग्यो ।

अन्ततः काठमाडौंदेखि सुर्खेत, नेपालगञ्ज, धनगढी, कञ्चनपुरको टिकट लिएका यात्रुले टिकटको माया मारे । उनीहरु गाडी छाडेर पैदलै आफ्नो गन्तव्यतिर लम्कन थाले । आइतबारसम्ममा यो लस्कर थप बढ्दै गयो ।

बालबच्चा, रोगी, बुढापाका टिठलाग्दा भए । उनीहरु न बस्न सके, न हिँड्न । दर्के झरी छल्ने प्लाष्टिक समेत पाइएन । बेहाल भयो ।

मनकारी बर्दघाटवासी 

दम्कीवासमा यात्रुहरु रित्तिएका थिए । एक छाक खान समेत गाह्रो हुन्थ्यो । यात्रुको भिड बढेकाले रातारात खानेकुराको भाउ महंगिएको थियो ।

तर, बर्दघाटमा आइपुगेपछि यात्रुको सास आयो । झरीमा रुझ्दै हिँडेर आएको यात्रुलाई टिपरमा राखेर बर्दघाटसम्म पुर्‍याउने व्यवस्था गरिदिए, बर्दघाटबासीले । त्यती मात्र कहाँ हो र ? उनीहरुले तातो चिया र शुद्ध पानी दिए । कहिलेदेखि सुकेको घाँटी भिजाउन पाइयो ।

यात्रुकै दबावपछि दुम्कीबासबाट दाउन्नेसम्म ट्याक्टरले ओसार्न थाल्यो । यता स्थानियबासीले बर्दघाटबाट गाडी खोजेर बुटवलसम्म पुर्‍याइदिए । दुम्कीबासले चुसेका यात्रुहरु तीन दिनपछि सन्तोषको सास फेर्दै गन्तव्यतर्फ लम्किए ।

बर्दघाटबाट गाडी परिवर्तन गर्दै बाढी र पहिरो छलेर यात्रुहरु दाङसम्म पुगे ।

फेरि अलपत्र

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर-लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल । तस्वीर : रासस

दाङसम्म त पुगियो । तर, त्यहाँबाट अघि बढेपछि उस्तै दशा दोहोरियो । बाँके र शम्सेरगञ्जबीचको तीन वटा पुल बाढीले भत्काइदिएछ । राती ९ बजेतिर गाडीहरु रोकिए । यात्रु अलपत्र परे ।

पुल पारी साना गाडीहरु त थिए, तर हजारौ यात्रु त्यसले कसरी थेग्न सक्नु ?

९ किलोमिटरको अन्तरालमा गाडी फेर्नुपर्ने भयो । त्यो दुरी पार गर्न एक सय ५० रुपैयाँ । खुम्चिदै गएको खल्तीको माया गरेर भएन । पैसा तिरेर ९ किलोमिटर दुरी छिचोलियो ।

जसोतसो भत्किएको पुल त पार गरियो, तर त्यहाँ पनि यात्रुहरु उस्तै अलपत्र । घना जंगल ।

त्यहाँबाट सम्सेरगञ्ज जान १९ किलोमिटर, कोहलपुर ४७ किलोमिटर छ । रातको १० बजेको छ । अर्कोतिर जंगली जनवारको डर, राष्ट्रिय निकुञ्जको क्षेत्रमा भएकाले ।

केही विकल्प नभएपछि यात्रुहरु हिँडेरै सशस्त्र प्रहरी क्याम्पबाट अगाडि बढे । त्यसपछि भने केही ट्रकले यात्रुहरुलाई कोहलपुरसम्म ओसारे । भाडा भने दोब्बर । राति २ बजेसम्म ट्रकले यात्रुहरुलाई जंगलबाट कोहलपुरसम्म ओसारिसकेको थियो । कोहलपुरबाट कोही सुर्खेत लागे, कोही कैलाली, कोही कञ्चनपुर । चार दिनको पट्यारलाग्दो यात्रापछि बल्ल सास आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment