Comments Add Comment

बाढीले रम्पुरा मल्हनियाँमा मात्र ५ सय चौपाया मरे, बस्तीमा दुर्गन्ध

३ भदौ, सप्तरी । एक साताअिघ आएको बाढीका कारण सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिकाको डलवा क्षेत्रमा पाँच सयभन्दा बढी चौपायाको मरेका छन् । मरेका चौपायाहरु यत्रयत्र रहेका कारण दुर्गन्ध फैलिन थालेको छ ।

हनुमाननगर-कंकालनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँको डलवा क्षेत्र कोशी नदीको छेउमै पर्दछ । यहाँका बासिन्दा गाईवस्तु र भैंसी पालेर नै आफ्नो जिविका चलाउने गर्छन् ।

तर, साउनको अन्तिम साता आएको बाढीले घरबार बगाउनुका साथै यो वस्तीका लगभग सबै चौपायाको मृत्यु भएको छ । अहिले यस क्षेत्रमा जताततै चौपाया मृत अवस्थामा फेला पर्न थालेको स्थानीयहरुले बताएका छन् ।
कोशी तटीय क्षेत्र भएकाले यस वस्तीका बासिन्दाहरुले आ-आफ्ना चौपायालाई खुल्ला छाड्ने गरेका थिए ।

बाढीले स्थानीय राजेन्द्र यादवको १५ गाई र बाछाबाछीसहित चन्दन यादव, नुनु यादव, सुरज यादव, कारी यादव, पकलेश्वर यादव, रामनाथ यादव, महादेव यादव, भोली यादव, रामफल यादव, बालेश्वर यादवसहितका दुई दर्जनभन्दा बढी कृषकको चौपाया बाढीमा डुबेर मृत्यु भएको छ ।

यो ठाउँमा सय मिटरको फरकमा गाई, भैंसी, बाछाबाछी मरेको भेटिएको छ ।

रोग फैलिने खतरा

मानव वस्तीहरुमा पसेको बाढी सुक्ने क्रममा छ । पछिल्लो तीन दिन यता घाम लाग्न थालेको छ । घाम लागेसँगै मरेका चौपाया गन्हाउन थालेको स्थानीयहरुले बताएका छन् ।

‘अहिले नाक थुनेर बस्नुपर्ने अवस्था छ’ स्थानीय कारी यादवले भने, ‘एक त घर बगेर ओत लाग्ने ठाउँ छैन, त्यसमा यो दुर्गन्धले निकै समस्या निम्त्याएको छ ।

जिल्ला प्रहरी प्रमुख मुकेश कुमार सिंहले धेरै चौपाया मरेर दुर्गन्ध बढेको सम्बन्धमा आफूहरुलाई जानकारी आइसकेको भन्दै गाड्ने काम अबिलम्ब शुरु गरिने बताए ।

छैन कुनै राहत

बाढी गएको एक हप्ता बितिसकेको छ । रम्पुरा मल्हनियाँ सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भएको सूचीमा पनि परेको छ ।

तर, अहिलेससम्म कसैले पनि राहत बितरण नगरेको स्थानीयहरुले बताएका छन् । घरमा भएका केहि अन्न साटासाट गरेर खान बाध्य भएको पीडित रामफल यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment