Comments Add Comment

पत्रकारलाई गोपाल खड्काको चुनौतीः ठूलो अक्षरमा लेखेपनि फरक पर्दैन

३ भदौ, पोखरा । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगममा भएको भ्रष्टचारको प्रमाणित भए दोषीलाई कारवाही गरेरै छाड्ने बताएका छन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको १२ अाैं साधारणसभा तथा छैटौं महाधिबेशनको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री मण्डलले मन्त्रालय अन्तर्गत कुनै पनि ठाउँमा भ्रष्टचार भएको पुष्टी भए जस्तोसुकै परिस्थितिमा पनि कारवाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन् ।

मन्त्री मण्डलले पेट्रोलियम व्यवसायलाई आधुनिकीरण गर्न आवश्यक रहेको आवश्यक्ता औंल्याए । ब्यबसायलाई आधुनिकीरण गर्न सरकारी र निजी क्षेत्र दुबै लाग्नुपर्ने उनको भनाइ छ ।

उनले नेपाली ग्यास बुलेटमा आएको समस्या छिटै समाधान हुने पनि दाबी गरे । समाधानका लागि प्रधानमन्त्रीले भारत भ्रमणका बेला राख्ने एजेण्डामा समाबेश भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा खरिद प्रकरणमा पत्रकारले लेख्दैमा आफूलाई केहि फरक नपर्ने बताए ।

उनले सक्नेसम्मको अझै ठूलो अक्षरमा बोल्ड गरेर लेखेपनि पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने कार्य नरोकिने दाबी गरे । खड्काले ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरि पेट्रोलियम पदार्थको भण्डारण क्षमता पुर्‍याउने बताए ।

उनले जस्तो सुकै परिस्थितिमा पनि ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरी भण्डारण क्षमता पुर्‍याउने गरी काम भइरहेको बताए । भण्डारण बढाउने कुरामा सरकारको सहयोग रहेकाले कसैले भन्दैमा यो नरोकिने बताउँदै उनले बरु त्यसका लागि आफूले बलिदानी दिनु परेपनि दिन तयार रहेको बताए ।

उनले आयल निगम भित्रै सिस्टममा सुधार गर्नु पर्ने आवश्यक्ता पनि औंल्याए । आयल निगमलाई समाप्त पार्ने खेलमा केही तत्व लागेको भन्दै खड्काले निगमलाई बचाउन सबै लाग्नु पर्ने बताए ।

उनले ट्याङकरमा लकर सिस्टमलाई छिट्टै पुरा गर्ने बताए । अहिलेसम्म ४ सय ट्याङकरमा लकर राखिसकिएको र बाँकी रहेकामा पनि क्रमश राख्दै जाने बताए ।
खड्काले पम्ममा जाँदाको लसलाई नाप तौल तथा गुणस्तरले दिने रिपोटका आधारमा कार्यान्वयन गर्ने बताए ।

कार्यक्रममा व्यवसायीहरुले नेपाली ग्यास बुलेट सञ्चालनमा ल्याउन नपाउँदा मर्का परेको, पेट्रोलियम पद्धार्थमा लस बढ्दै गएको लगाएतका समस्याहरु रहेको बताएका थिए ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी समितिका देशभरबाट करिब २ सय जना प्रतिनिधिहरु सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment