Comments Add Comment

स्थलगत रिपोर्टः बाढी पीडित भन्छन्- ‘कहिलेसम्म यस्तो ?’

बाढीबाट विस्थापित परिवारको आश्रयस्थल बन्यो, हुलाकी सडक

३ भदौ, भजनी (कैलाली) । हुलाकी सडकमा विस्थापित ६२ वर्षीया कुन्तीदेवी तिवारी पालमुनि एकोहोरो टोलाइरहेकी थिइन् । नयाँ अनुहार देख्नेबित्तिक्कै बाहिर निस्केर उनले भनिन्, ‘खै हाम्रो लागि के छ ? म र छोरो भोक भोकै छौं ।’

२७ साउनको बाढीमा भजनी-८ कृष्णनगरमा रहेको कुन्तीको सानो झुपडी डुब्यो । सोही झुपडीमा फसेका आमा-छोरालाई उद्धारकर्मीले जोगाए तर अन्नपात, कपडा केही जोगिएनन् ।

उनीहरुले बाढीबाट दुःख पाएको यो पहिलो पटक होइन, हरेक वर्षायाममा झुपडीमा भरिने पानीले उनीहरुको उठिवास गराउँछ । ‘यस्तो समस्या कहिलेसम्म भोग्नु पर्ने हो ?’ उनले प्रश्न गरिन् । यस पटक पनि सधैंझैं उनी र बोल्न नसक्ने जवान छोराको ज्यान जोगियो, झुपडीसहित अन्नपात र लत्ताकपडा डुबे । दुई दिन बितिसक्दा पनि उनीहरुले चामलको गेडो देख्न पाएका छैनन्, चाउचाउ र बिस्कुटबाट भोक मेट्नुपरेको छ ।

दुवैतर्फ बाढीको पानी, बीचमा हुलाकी सडक । अलि उचाइमा भएकाले सडकसम्म पानी आइसकेको छैन । त्यसैको दायाँ-बायाँ बाढीबाट विस्थापित परिवार पालमुनि सातादिनदेखि अलपत्र छन् ।

पानीको सतह घट्ने क्रममा रहे पनि घर फर्किने अवस्था छैन । काँडाढिककी तारा शाहले भनिन्, ‘घरमा बसिसक्नु छैन । कुन बेला ढल्ने हो, निश्चित छैन ।’ बाढीले भित्र्याएको हिलो घुँडासम्म जमेको छ । बाढीले लथालिंग बनाएको छ, घरलाई ।

बाढीबाट भजनी र टीकापुर नगरपालिकामा सबैभन्दा बढी क्षती पुर्‍याएको छ । हरेक वर्ष यस्तै अवस्था भोगिरहेका दुवै नगरपालिकाका बासिन्दालाई भाग्यमै डुबान लेखेझैं लाग्न थालेको छ । अघिल्लो वर्षको कहरबाट तंग्रिन नपाउँदै अर्को वर्षायाम आउँछ र फेरि उठिवास लगाउँछ ।

शाहको भनाइमा काँढा नदीमा पानी बढ्यो कि सीधै बस्तितिर सोझिन्छ । ‘धन्न हुलाकी सडकमा निस्केर ज्यानसम्म जोगाउन पाउँछौं,’ उनले भनिन् ।

काँडाढिक गाउँ हुँदै बग्छ, उक्त नदी । नदीबाट बस्तिको दूरी मुस्किलले पाँच मिटर मात्र छ । हरेक वर्ष बस्तितिर सोझिने बाढीले घरहरुलाई जगैदेखि हल्लाउँछ । किनारामा तटबन्ध नभएकाले बाढी रोक्ने कुनै उपाय छैन ।

‘तटबन्ध बनाएदेखि हाम्रा घर त जोगिने थिए,’ स्थानीय महेश्वरा जोशीले भनिन् । उनका अनुसार धेरै पटक सरकारी अधिकारी र राजनीतिक दलका नेताहरुलाई तटबन्धका लागि अनुरोध गरिसकिएको छ । कसैले सुनेको छैन, उनीहरुको आग्रह ।

काँढा नदीको बाढीले यस पटक भजनी नगरपालिकाका बर्दवाफाँटा, कृष्णनगर, खैरा, गोरचौरा, दैलेखी टोल, कुुसुमघाट, जबलपुर, थापापुर, सोनाफाँटालगायत गाउँका करिब दुई हजार ५ सय जना विस्थापित भएका छन् । तीमध्ये थोरै मात्र घर फर्किन सकेका छन्, अधिकांशको बास हुलाकी सडकमै छ ।

सडकमा हिलो जमेका कारण गोरचौरा, खैरा र कुसुमघाटसँगको सम्पर्क नै विच्छेद भएको छ । ‘राहतमा पाएको वस्तुले पेट भरिरहेका छौं,’ कृष्णनगरकी जानकी चौधरीले, ‘घरमा राखेको सबै बहिया -बाढी)ले लग्यो ।’

१९ साउनमै घोडाघोडी नगरपालिकासहित तल्लो तटीय क्षेत्रमा डुबान सुरु भइसकेको थियो । त्यस क्षेत्रबाट विस्थापित परिवार घर फिर्न नपाउँदै भोलिपल्ट आएको बाढीले धेरैको उठवास भयो । ‘बालबालिका र वृद्धवृद्धाको बिजोग छ । पालमुनिको बासले धेरै बिरामी पर्न थालेका छन्,’ सोमलीदेवी चौधरीले भनिन्, ‘वर्षायामभरि घर फर्किने अवस्था छैन ।’

हुलाकी सडकमा बसेकाहरुलाई विभिन्न निकायले राहत वितरण गरिरहेका छन् । आवतजावत विच्छेद भएका गाउँमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनाले रबरको डुंगामार्फत् राहत पुर्‍याइरहेका छन् ।

भजनी नगरपालिकाका सात सुत्केरी, सात गर्भवती, १० वृद्धवृद्धा र अनाथ बालबालिका गरी ३३ जनाको उद्धार गरिएको छ । उनीहरुलाई स्वास्थ्य केन्द्रको हलमा राखिएको छ ।

बाढी प्रभावित परिवारमा भाइरल ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या देखिएको छ । दैनिक सयभन्दा बढी बिरामी आउने गरेको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका सीअहेव वीरेन्द्र सापकोटाले जानकारी दिए । तीमध्ये अधिकांशलाई भुईंमै राखेर उपचार गर्नु परिरहेको उनले बताए । ‘केही दिनमै सिटामोल पनि सकिने अवस्था छ,’ उनले भने, ‘थप औषधि माग गरेका छौं ।’

विभिन्न संघसंस्थाको पहलमा राहत पुर्‍याउने क्रम बढेको छ । टीकापुरस्थित सिद्धार्थ होटलले एक हजार चार सय जनालाई दुई छाक खाना खुवाइरहेको छ । यस्तै, रोटरी क्लब अफ धनगढीले पाँच सय परिवारलाई पाँच दिनका लागि खाद्यान्न तथा राहत सामग्री दिएको छ ।

करोडौंको क्षति

टीकापुर क्षेत्रमा सयौं परिवार विस्थापित हुनुका साथै करोडौंको धनमाल नष्ट भएको छ । क्षतीको यकिन विवरण आइनसकेको रेडक्रसले जनाएको छ ।

डुबानमा परेका कतिपय घर पूर्ण रुपमा भत्किएका छन् । घरभित्र रहेका अन्न र धनमालसमेत नष्ट भएका छन् । टीकापुर बजारमै पनि अधिकांश पसलमा नोक्सानी पुगेको छ । स्थानीय रोशनी टे्रडर्समा राखिएको एक हजार बोरा सिमेन्टसहित करीब ५० लाखको क्षति भएको छ ।

पौडेल राइस मिलको करीव दुई हजार पाँच सय क्विन्टल चामल खान नमिल्ने भएको छ । अन्य किराना र स्टेसनरी पसल समेत डुबानमा परेका छन् । टीकापुरको ए ब्लक, वडा नम्बर १३ र १४ का अधिकांश पसलमा लाखौंको नोक्सानी भएको छ ।

सञ्चो बिसञ्चो नसोध्नुहोस्, बाँचिएको छ

स्थानीय जनप्रतिनिधि कृष्णलाल धमला विस्थापित बाढी पीडितसँग उनको हाल सोध्दै थिए । उनले सटिक उत्तर पाए, ‘सञ्चो बिसञ्चो नसोध्नुहोस, बाँचिएको छ ।’ धमलामा अनुसार अधिकांश विस्थापित परिवारको अवस्था त्यस्तै छ ।

२८ साउनमा डुबानमा परेका भजनी-८ सोनाफाँटा, प्रधानपुर, छछरवा, बहादुरपुर, खल्ला, बड्का जनकपुर, दैलेखी टोल र भतनपुरका बासिन्दाको ज्यान हुलाकी सडकका कारण जोगियो ।

भजनी-८ गौरचौराका ४५ परिवारको आश्रयस्थल स्थानीय कृष्णध्वज मावि बनेको छ । खैराकै सय परिवार हुलाकी सडकमा बसिरहेका छन् ।

‘१० दिनदेखि खुला आकाशमुन्तिर भोकभोकै बिताइसक्यौं । बल्ल पालको ओत पाएका छौं,’ काँडाढीकका प्रेम घर्तीले भने । काँडाढिककै डिलादेवी विकको पीडा पनि उस्तै छ ।

पानीको सतह घटेपनि अधिकांश बस्तीका पीडित घर फिर्न सकेका छैनन् । ‘पूर्व तयारीका कारण मानवीय क्षतिबाट भने यस पटक जोगियौं,’ जनप्रतिनिधि धमलाले भने । ‘विस्थापितको संख्या ठूलो भएकाले सुरुमा राहत र उद्दारमा कठिनाइ भए पनि अहिले पुनःस्थापनाको पहल सुरु गरेका छौं,’ रेडक्रस कैलालीका सभापति उत्तम जोशीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment