Comments Add Comment

तिलाठीः गाउँका ‘ठालू’ले राहत रोके, पीडितहरु झन पीडामा

४ भदौ, सप्तरी । नेपालका आधा दर्जन गाउँ डुवानमा पार्ने गरी भारतीय पक्षले दशगज्जामा बाँध बनाएपछि १४ साउन ०७३ मा सप्तरीको तिलाठीबासी प्रतिवादमा उत्रिए । दशगज्जामा घन्टौं झडप भयो । यो घटनाले सिंगो देशको ध्यान तान्यो ।

तर, तिलाठीको नियति फेरिएको छैन । यो वर्ष पनि तिलाठी डुवानमा परेको छ । साउन अन्तिम साता भिषण वर्षासँगै आएको बाढीले तिलाठीका प्रायः सबै परिवार प्रभावित भएका छन् । करिब १५ सय परिवार रहेको साविकको तिलाठी गाविस (अहिलेको तिलाठी–कोइलाडी–१) का पाँच सय परिवारको घरमा यस पटकको बाढीले क्षति पुर्‍याएको  छ ।

डुवानसँगै तिलाठीबासीलाई हातमुख जोर्न हम्मेहम्मे परेको छ । तर, राहत पाउन सकेको छैनन् । कतिपय बाढीपीडित भोकभोकै दिन काट्न बाध्य भएका छन् भने कतिपय स्थानीयहरुसँग खानेकुरो पैंचो लिएर जीवन निर्वाह गरिरहेका छन् ।

दातृ निकाय र मनकारी मनहरुले तिलाठीलाई वास्ता नगरेको भने होइन । दातृ निकाय र सहयोग गर्न चाहने व्यक्तिहरु धेरै पटक तिलाठी पुगेका छन् । तर, यहाँका केहि अगुवाले ‘तिलाठीबासीलाई राहत चाहिँदैन’ भन्दै फर्काउने परेका छन् ।

ठूलाबडाले राहत लिएकाहरुलाई गाउँको गेटबाटै फर्काएपछि अब त्यहाँ राहत लिएर जान चाहनेहरु जानै छाडेका छन् ।

तर, बाढीपीडितहरुको विजोग छ । पीडितहरु भन्छन्, ‘उनीहरुको घर पनि पक्कीको छ, खानेकुरा छ । मर्ने त हामी हो । उनीहरुलाई के मतलव ?’


‘गत बर्षसम्म त धेरै आउथेँ सहयोगका लागि । यस पटक कोहि आएका छैनन्’ बाढीपीडित सुकदेव कामैत भन्छन्, ‘सुनेको छु ठूलाबडाहरुले रोक लगाएका छन् रे !’

कामैतजस्तै तिलाठीका राजेशकुमार मण्डलको परिवारले पनि कुनै किसिमको राहत पाउन सकेका छैनन । दुबैको टाटीले बारेर बनाएको घर बाढीले क्षतिग्रस्त बनाएको छ । उनीहरुजस्तै नागोदेवी मण्डल, रबिन्द्र कामैत, रुन्दी सुतिहारजस्ता पीडितहरुलाई कसैले कुनै सहयोग गरेका छैनन् ।

निर्जला झा पनि यस पटकको बाढीमा पीडित बनेकी छन् । उनको घर पूर्ण रुपमा डुबान परेको छ । उनी भन्छिन्, ‘विकास बजेट खानेहरुले राहतमा रोक लगाएका छन् ।’

तिलाठी यस्तो गाउँ हो, जहाँ खाँडोको बाँध बाँध्न लाग्दा स्थानीय केहि व्यक्तिहरुले बाँध्नमा रोक लगाएका थिए । उनीहरुले आफ्नो जग्गामा बाँध बाँध्दा मुआब्जा उपलब्ध नगराएसम्म बाँध बाँध्न नदिने बताएपछि काम नै रोकिएको थियो ।

हो, हामीले राहत रोकेका छौंः पूर्वगाविस अध्यक्ष

तिलाठीका बाढीपीडितले ‘ठूलाबडा’ले राहत रोकेको गुनासो सुनाएपछि गाविसका निवर्तमान अध्यक्ष दिनेश्वर मिश्रको प्रतिकृया माग्यौं । राहत रोकेको स्वीकार गर्दै मिश्रले अनलाइनखबरसँग भने, ‘हो हामीले राहत बितरणमा रोक लगाएका हौं ।’

कारण के त ? उनी भन्छन्, “बिभिन्न एनजीओ, आइएनजीओले राहतको नाममा भ्रष्टाचार गरिरहेकाले तिलाठीबासीले त्यस्ता राहत चाहिंदैन भनेर रोक लगाएका छौं ।’

उनको धारणालाई मान्ने हो भने तिलाठीमा राहत बितरण गर्नुपर्ने स्थिति पनि छैन । ‘यहाँ कोहि पीडित नै छैन’ उनी भन्छन्, ’कसलाई राहत बितरण गर्ने ?”

एनजीओ, आइएनजीओहरुले थोरै परिवारलाई राहत दिएर सस्तो लोकप्रियता कमाइरहेका उनको आरोप छ । तिलाठीमा हालसम्म कसैले पनि व्यवस्थित तरिकाले नगरेको र बितरण गर्ने कुनै मापदण्ड नबनाएको बताउँछन् उनी ।

गाउँमा कोहि पनि पीडित नभएको बताउने मिश्रले निजी क्षेत्रको राहत नस्वीकार्ने र सरकारले दिने राहत भने अस्वीकार पनि नगर्ने बताउँछन् ।

बाढी पीडितहरु भने गाउँका ‘ठालू’हरुका कारण आफूहरुले झन दुःख पाएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment