Comments Add Comment

तराईको बाढी मौसमको ‘एक्स्ट्रिम इभेन्ट’

यसपटकको बाढीको विनाशलीला मैले पनि प्रत्यक्ष देखें । चितवन, रौतहट, बारा र पर्सामा चुरे हुँदै उर्लिएको बाढी र तराई मधेशमा पारेको प्रभाव देख्न पाइयो ।

पहिलो त, वर्षात नै अत्यधिक भयो । थोरै समयमा धेरै पानी पर्‍यो । यो भनेको मौसमको ‘एक्स्ट्रिम इभेन्ट’हो । त्यस्तो अवस्था हत्तपत्त देखिँदैन ।

१२ वर्षमा खोलो फर्किन्छ भन्ने उखान जनजिब्रोमा झुण्डिएको छ । १२ वर्षमा युग फर्किन्छ भनेको मौसमी घटना त्यति अवधिमा दोहोरियो भन्ने हो । अब त्यो पुख्र्यौली घटनाको चक्र साँघुरिँदै गएको छ । हरेक १२ वर्षमा देखिने मौसमको अतिशय रुप अब तीनदेखि पाँच वर्षमै देखिन थालेको छ । १२ वर्षमा खोलो फर्किने उखान अब असान्दर्भिक बन्दै गएको छ ।

अब १२ वर्षको साटो तीनदेखि पाँच वर्षभित्रमा मौसमी ”एक्स्ट्रिम इभेन्ट’’ दोहोरिन थालेको छ । भविष्यमा यो अझ छिटो-छिटो देखिनेछ । यो जलवायुमा आएको व्यापक परिवर्तनको प्रभाव हो ।

सञ्चारमाध्यममा आएका समाचारमा चुरे विनास र भारतसँगको सीमामा पारिपट्टि बाँधिएका बाँधका कारण बाढी आएको उल्लेख पाइएको छ । तर, तिनले बाढीपछिको विनासका लागि सहजीकरण गरेका मात्र हुन् । सीमा बाँधहरुले एउटा सानो भुगोलमा असर नपुर्‍याएका भने होइनन् ।

एउटा निश्चित क्षेत्रमा बाँधको प्रभाव परेको पनि हुन सक्छ । रौतहट, कपिलवस्तु, बाँके र बर्दियामा बाँधका कारण पानीको बहाव रोकिएर नेपाली भूमि डुबान, कटान र पटानको समस्या देखिएको हुन सक्छ । तर, सबैतिर बाँधका कारण विनास निम्तिएको होइन । विराटनगर, इटहरीजस्ता सहरी क्षेत्रमा न त बाँध छन्, न चुरे नै नजिक पर्छ ।

केसलिया खोलाको व्यवस्थापन गर्न सकिएको भए विराटनगर डुब्दैनथ्यो । टेंग्रा र बुढीखोलाको व्यवस्थापन नभएकै कारण इटहरी डुबेको हो । बेलैमा साइफन खोलिएको भए रौतहटको डुबान हुने थिएन ।

मोटरसाइकलमा हिँड्दा कसैले सडकमा मोबिल पोखिदिएको छ भने स्वाभाविक हो, त्यसका पांग्रा चिप्लिन्छन् । खासमा मोबिल कहाँबाट आयो भन्नेचाहीँ महत्वपूर्ण विषय हो । त्यसैले अप्राकृतिक कुरा कसरी आयो भनेर हामीले केलाउनु पर्छ ।

यस पटक पानी अत्यधिक पर्‍यो र चुरेमा त्यसलाई रोकेर राख्न सक्ने अवस्था भएन । मौसमी घटनालाई त्यसले तीव्र गति -एक्सालरेट) दियो । र, खोला, नालाको स्वाभाविक बहावबाट पानीको निकास हुन नसकेपछि बस्तीतिर पस्यो ।

केही वर्षदेखि जलवायु परिवर्तनका एक्स्ट्रिम इभेन्टहरु भइरहेका छन् । अघिल्लो वर्ष जताततै डढेलो लागेको थियो, यस वर्ष अत्यधिक वर्षा भयो । यसपालिको शरद ऋतु ओसिलो थियो । वर्षात भइरहेका कारण जंगलमा डढेलो फैलिन पाएन । तर, वर्षायाममा अपेक्षा गरिएभन्दा ठूलो वर्षा भयो ।

यस्ता मौसमी घटनाहरुलाई हामीले रोक्न सक्दैनौं । तर, रोकथामका लागि केही काम अवश्य गर्न सक्छौं । त्यसमा पहिलो हो, अनुकुलन गर्ने । उच्च तहको बाढीलाई व्यवस्थापनका लागि संरचनाहरुको निर्माणमा ध्यान दिनु पर्छ ।

अर्को हो, सचेतना जगाउनु । जान्नु पनि धेरै ठूलो कुरा हो । ज्ञान भयो भने कुनै पनि प्राणीलाई बाँच्न मद्दत पुर्‍याउँछ । अबका विकास अवधारणालाई त्यसरी नै अगाडि लैजानु पर्छ ।

भविष्यको पूर्वाधार निर्माण गर्ने भनेर स्मार्ट सिटीको अवधारणा अगाडि सारेको छ, सरकारले । पानी नै नभएको ठाउँमा लगेर सरकारले सहर बसाउँदैछ । जबकि, ती भुगोल एकदमै नाजुक अवस्थितिका छन् । त्यहीं सरकारले डोजर चलाएर सडक निर्माण गरिरहेको छ । यस्तो प्रवृत्ति नरोकिए भविष्यका मौसमी ‘एक्स्ट्रिम’ घटनाबाट हुने विनास अहिलेभन्दा ठूलो हुन सक्छ ।

जस्तो- रसुवाको राम्चेमा सडक बनाउने कुरामा कसैको विरोध देखिएन । तर, अहिले लगातारको पहिरोका कारण उक्त सडक प्रयोग गर्न सकिने अवस्था छैन । त्यहाँ पुग्ने जोसुकैलाई अहिले लाग्छ, किन यहाँ सडक बनाइएको होला ? तर, सरकारले बर्सेनि त्यसैमा पैसा खन्याइरहेको छ ।

हरेक १२ वर्षमा देखिने मौसमको अतिशय रुप अब तीनदेखि पाँच वर्षमै देखिन थालेको छ । १२ वर्षमा खोलो फर्किने      उखान अब असान्दर्भिक बन्दै गएको छ

उच्च पहाडमा मौसमी ताण्डव अझ चर्को छ । त्यहाँसम्म नीति निर्माता र सञ्चारमाध्यमको पनि पहुँच छैन । तीन हजार मिटरमाथिको भुगोलमा पनि यस्तै पानी पर्‍यो होला, यस पटक । त्यसले कति बाढी लिएर आयो र कति भूक्षय गरायो भन्ने कसैले देखेको छैन । सबैको गतिविधि तराईकेन्दि्रत भएकाले त्यहाँको बाढी र त्यसले गरेको क्षति मात्र बढी देखियो ।

उच्च पहाडी क्षेत्रमा पनि जलवायु परिवर्तनको असर अझ बढी परेको छ । त्यहाँको वातावरण नै धेरै नाजुक छ ।

अत्यधिक वर्षा र त्यो पनि स्वतन्त्र गतिविधिजस्तो देखिनुको मुल कारण जलवायु परिवर्तन नै हो । मौसमी विषमताहरु यसरी नै दोहोरिइरहने छन्, आउँदा वर्षमा ।

असार-साउनमै एक थोपो पानी नपरेर पुरै सुख्खा हुने घटना भविष्यमा भए भने अनौठो नमाने हुन्छ । कतै पनि धान रोप्नै नपाउने अवस्था आउन सक्छ । जलवायु परिवर्तनका सन्दर्भमा भएका प्रक्षेपणहरुले त्यही बताउँछन् ।

तर, अत्यधिक वर्षा हुने घटना एउटा निश्चित भुगोलको नभई विश्वव्यापी परिघटना हो । यस पटक तराईमा पाँचदेखि १० फिटसम्म पानी जमेको/बगेको देखियो । त्यो बाँधका कारण फर्केर आएको होइन, बाँधभन्दा धेरै माथि पानीको उक्त घनत्व देखिएको छ । सामान्य अवस्थामा त्यत्रो अधिकतामा वर्षात हुँदैन । यसरी पानी पर्नु अप्राकृतिक कुरा हो ।

यो तहको वर्षा कसैले सय, कसैले ५० त कसैले २५ वर्षमा दोहोरिएको हो भनेका छन् ।

नौ वर्षअघि कोशीको बाढी आयो । तर, त्यो अत्यधिक वर्षातका कारण थिएन, सप्तकोशी तटबन्धको स्पर भत्किएका कारण भएको विनास थियो । ०४१ र ०५१ सालमा पनि बाढी आएको थियो । हरेक १०/१२ वर्षमा त बाढी आउँछ नै । ८० वर्षमा हिमालय क्षेत्रमा ठूलो भूकम्प आउँछ भनेजस्तै हो यो ।

हाम्रा बुढापाकाहरुले परम्परागत विवेकका कारण हरेक १२ वर्षमा ठूलो बाढी आउँछ भनेका हुन् । त्यो एक किसिमको प्राकृतिक कुरा थियो । तर, अब त्यसको अवधि कम हुँदै जानेछ । अर्को तीन वर्षमा हामी यसरी नै बाढीका बारेमा कुरा गरिरहेका हुन सक्छौं । अर्को वर्ष नै वर्षायाममा चर्को खडेरीको कुरा गरिरहेका हुन सक्छौं । यो अवश्यम्भावी छ ।

अहिलेको बाढी स्वतन्त्र घटना हो, चुरे र सीमाका बाँधहरुको यससँग प्रत्यक्ष साइनो छैन । यस्ता ‘एक्स्ट्रिम इभेन्ट’हरु फेरि पनि हुन सक्छन्, नहुन पनि सक्छन् ।

यति ठूलो पानी इतिहासमा पहिले पनि परेको थियो होला । किन बाढीको वितण्डा देखिएन भने त्यसलाई रोक्ने प्राकृतिक चक्र थियो, त्यतिबेला । नदीहरुको सतह बढेका कारण अहिले दुवै किनाराबाट पानी बाहिरियो । त्यसले पानीमा नदीजन्य फोहोर मिसिने प्रक्रिया (सिल्टेसन) गरायो र खेत, बारीको उत्पादकत्व घट्यो । कृषि इन्जिनियरले नदी आसपासको इलाकामा यति पानी पर्दा यस्तो प्रभाव पर्छ भनेर भनिदिनु पर्‍यो ।

पराकाष्ठामा हुने मौसमी घटनाको विनास रोक्न स्थानीय तहबाटै पहल थाल्नु पर्छ । अनि मात्र भविष्यको विनास चक्रबाट बच्न सक्छौं, हामी ।

स्थानीय स्तरबाट गर्न सकिने समाधान स्थानीयस्तरबाटै सुल्झाउनु पर्छ । राजनीतिक दलका नेताहरु राहत बाँड्नमै रमाएका छन् । अहिले जुन तहको कुरा गरिरहेका छौं, समस्या त्यस तहको होइन ।

कम्तिमा आगामी ५० वर्षका लागि सोचेर योजना बनाउने र त्यसलाई व्यवहारमा उतार्न सबै तह र पक्षको तदारुकता हुने हो भने यस्ता घटनाबाट हुने विनास घटाउन सकिन्छ ।

(जलवायु परिवर्तनबारेका विज्ञ तथा विश्व वन्यजन्तु कोष, नेपालका निर्देशक नेपालसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment