Comments Add Comment

सेन्सर बोर्डको औचित्य छैन, खारेज गरिनुपर्छः चलचित्रकर्मी


नेपाल चलचित्र संघले आफ्नै भवनमा आयोजना गरेको ‘चलचित्र र सेन्सर’ बिषयको बहसमा उपस्थित अधिकांश चलचित्रकर्मीले ‘चलचित्र सेन्सर बोर्ड’ खारेजीको माग गरेका छन् । उनीहरुले चलचित्रकर्मीले आफै ‘सेल्फ सेन्सर’ गरेर चलचित्र रिलिज गर्न पाउनुपर्ने माग गरेका हुन् ।

अन्तरक्रियाबाट आएको निष्कर्षलाइ अगाडि बढाइने चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले बताए । उनले, सबै चलचित्रकर्मीबाट सेन्सर बोर्ड खारेजीको माग भएको भन्दै आफूहरुले यसका लागि कदम अगाडि बढाउने बताए ।

चलचित्र संघका निवर्तमान अध्यक्ष नकिम उद्दिनले चलचित्र सेन्सर गर्ने कुनै निर्देशिका नै नभएको बताए । उनले चलचित्र सेन्सर बोर्डमाथि विकास बोर्ड हाबी भएको समेत स्पष्ट पारे । किम्फ अध्यक्ष बसन्त थापाले ‘सेल्फ सेन्सर’को आवश्यकता औल्याएका थिए ।

पत्रकार कनकमणी दिक्षितले भने-‘हाम्रो समाज खुला छ कि बन्द ? सेन्सरले बन्द समाजलाई हुर्काइरहेको छ ।’ हात-हातमा मानिसले सेन्सर नगरेका भिडियो हेर्न पाइरहेको समयमा सेन्सर बोर्ड अर्थ नरहेको उनको भनाइ थियो ।

यस्तै, कार्यक्रममा बोल्दै निर्देशक नविन सुब्बाले चलचित्र महोत्सवमा जस्तै चलचित्रलाइ सेन्सर गर्न नहुने बताए । उनले सेन्सरको अर्थ कुनै चलचित्रकर्मीले बारम्बार आफ्नो सृजनशिलताको जाँच दिनु रहेको बताए ।

निर्माता माधव वाग्ले बहस कार्यक्रममा केही कडि्कए । उनले चलचित्र सेन्सर बोर्डमा चलचित्र नै नवुझेका मान्छेहरु आएको बताए । ‘भत्ता लिन र खाजा खान मात्र केही सदस्यहरु आइपुग्छन्, उनले भने । चलचित्र क्षेत्रबाट नै सेन्सरमा गएका पदाधिकारीहरुले चलचित्रकर्मीमाथि शासन गर्न खोजेको उनको आरोप थियो ।

कार्यक्रममा निर्देशक निश्चल बस्नेत, गणेशदेव पाण्डे, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, निर्माता केशव भट्टराइ, कलाकार संघकी महासचिव सरिता लामिछाने लगायतले सेन्सर बोर्डको आवश्यकता नरहेको बताएका थिए ।

चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले भने भारतमा चर्को मुल्य तिरेर सेन्सर गर्न तयार हुने नेपाली निर्माता नेपालमै थोरै भत्ता तिुर्नपर्दा कराउने गरेको आरोप लगाए । उनले आफूहरुले कस्ता कस्ता नेपाली चलचित्र हेर्नुपर्छ भन्दै प्रश्न समेत गरेका थिए । चलचित्रकर्मीले यो बहसलाइ अगाडि बढाउने र कार्यन्वयनमा ल्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment